दोस्रो खेलमा नेपाल ‘ए’ टिमको जित
काठमाडौं : भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मिलित टी-२० सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले आसाम क्रिकेट एसोसियनलाई ९६ रनले हराएको छ। टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।
नेपालले दिएको १७४ रनको विजयी लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा ७७ रन बनाउँदै अलआउट भयो। आसामका लागि रुहिनन्दन पेगुले सर्वाधिक १७ रन बनाए। उनले २४ बलमा १ चौका प्रहार गरे। शिवशंकर रोयले १६, आकाश सेनगुप्ताले १० रन बनाए। मिर्नमोय दत्तले ८ बलमा २ छक्कासहित १५ रन बनाए।
ओपनरद्वय सुमित कश्यप र सुमित घादिगान्कर १/१ रनमा पेभेलियन फर्किदा आसामको ब्याटिङ धरापमा परेको हो। नेपालको बलिङमा युवाराज खत्रीले सर्वाधिक ४ विकेट लिए। वसिर अहमदले ३ विकेट लिँदा विवेक यादव, आकाश चन्द र कमल सिंह ऐरीले समान १–१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए। उनले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरेका हुन्। ओनपर देव खनालले ३१, पवन सर्राफले ३१, आदिल आलमले १४ र वसिर अहमदले २७ रन बनाए। विवेक कुमार यादव २६ र कमल सिंह ऐरी १ रनमा अविजित रहे।
आसामका लागि बलिङमा आकाश सेनगुप्ताले सर्वाधिक ३ विकेट लिए। अभिनव चौधरीले २, र आयुष्मान मालाकर र अभिलाश गोगोइले १–१ विकेट लिए।
नेपालले पहिलो खेलमा आसामसँग डील प्रणालीको आधारमा १५ रनको हार बेहोरेको थियो। नेपाल 'ए'ले सिरिजको तेस्रो खेल शनिबार साँझ ५ बजे खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !