शान्ति–सद्भावको कामना गर्दै भैरहवामा निकालियो र्याली
भैरहवा : रुपन्देही जिल्लाको भैरहवामा शान्ति–सद्भाव र्याली निकालिएको छ। भ्रष्टाचार र बेथिति विरुद्ध गरिएको प्रदर्शनमा मंगलबार सार्वजनिक र निजी सम्पतिहरूमा तोडफोड, लुटपाट, आगजनी गरिएपछि भैरहवासहित मुलुकमा शान्ति-सद्भाव कायम राख्न कामना गर्दै र्याली निकालिएको हो।
लुम्बिनी प्रेस क्लबको अगुवाइमा निकालिएको र्यालीमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, सिद्वार्थ उद्योग वाणिाज्य संघ, च्यम्बर अफ कमर्स रुपन्देही, सिद्धार्थ सञ्जाल, सिद्धार्थ यातायात प्रालि, भैरहवा मर्निङ वाक ग्रुप, सिद्धार्थ होटल संघ लगायत विभिन्न पेशागत र व्यवसायी संघ संस्थाको सहभागिता थियो। नेपाल–भारत सीमा नाका बेलहियाबाट निकालिएको र्याली विभिन्न स्थान हुँदै बुद्धचोकमा समापन गरिएको थियो।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले शान्तिको कामना गर्दै शान्ति–सद्भाव र्याली निकालिएको भन्दै भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलनका क्रममा केही व्यक्तिहरूले घुसपैठ गरेर सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरेको बताए ।
‘भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलनका क्रममा केही व्यक्तिहरूले घुसपैठ गरेर सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरे’, उनले भने, ‘फेरि त्यस्ता तत्वहरूले समाजलाई विध्वंशतर्फ लैजान सक्छन् । यसैले सबै एकठाउँ हुनुपर्छ भन्ने सन्देश दिन र्याली आयोजना गरिएको हो।’
स्थानीय युवा सागर ज्ञवालीले भ्रष्टाचारविरुद्ध जेनजी समूहले गरेको आन्दोलनमा केही अराजक तत्वको घुसपैठका कारण क्षति पुगेको बताए । उनले अब देश नयाँ बाटोमा गएको भन्दै नयाँ नेपाल बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले युवाहरूका जायज माग सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले आ–आफ्ना पेशा र व्यवसायलाई मर्यादित तथा सुरक्षित ढंगबाट अगाडि बढाउन आग्रह गर्दै शान्ति–सुव्यवस्था कायम गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्पन नरहेको बताए। ‘पछिल्लो समय घटेका घटनाबाट मर्माहत भएका छौं, लुटपाट, आगजनी, तोडफोड लगायतका घटनामा संलग्न व्यक्तिहरूको फुटेज, भिडियो लिएका छौं ।अब क्रमशः उनीहरूलाई पक्राउ गरेर कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं,' उनले भने।
रुपन्देहीमा सरकारी कार्यालय, होटल, निजी सम्पति, व्यावसायिक प्रतिष्ठानमा तोडफोड, आगजनी तथा लुटपाट हुँदा ठूलो क्षति पुगेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !