डाक्टर हुनु त सन्दुक जस्तो !
काठमाडौं :
के हो अहो ! अमृत त्यो सुरदेव पान ?
सच्चा कमाइ गरिखानु भनेर जान।
आफू मिटाइ अरूलाई दिनु जहाँ छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी शब्द वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग ठ्याक्कै मिल्छन्। उनै डाक्टर रुइत बिरामीको सच्चा सेवामै सुख देख्छन्। सामाजिक सञ्जालमा उनलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउनुपर्ने व्यापक चर्चा चलेको छ। तर, उनलाई मन्त्री बन्ने पटक्कै रुचि छैन। ‘मैले जे जानेको छुँ, त्यहीँ काम गर्ने हो। आफूले जान्ने काम मात्र गर्छु। त्यसैमा समय बिताउँछु,’ ७१ वर्षीय डा. रुइत भन्छन्, ‘बिरामीकै सेवा गर्ने हो। आनन्द त्यसैमा छ !’
आज देश–दुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छन्,उनी। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रुइत मंगलबार सामाजिक सञ्जालमा छाए। तर, उनको अर्जुनदृष्टि मन्त्री पद नभई आँखा उपचारमै केन्द्रित छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की मोतीविन्दुको शल्यक्रिया गरेको आँखाको ‘फलो अप’ उपचारका लागि मंगलबार उनै डा. रुइत कार्यरत तिलगंगा आँखा प्रतिष्ठान पुगिन्। त्यहीँ क्रममा एक सञ्चारकर्मीले सोधेको जिज्ञासामा डा. रुइतको अभिव्यक्ति क्षणभरमै भाइरल भयो।
‘केही वर्षअघि दुवै आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको थियो। ६/६ महिनाको फलोअपमा उहाँ (प्रधानमन्त्री कार्की) आज आउनुभएको हो। हामीले आँखाको जाँच गरेका हौं,’ डा.रुइतले मंगलबार साँझ अन्नपूर्णसँग भने, ‘त्यहीँ बेला एक जना सञ्चारकर्मीले क्याबिनेट (मन्त्रीमण्डल)मा आउने हो ? भनेर जिज्ञासा राख्नुभएको थियो। मैले यहाँ यत्रो काम छोडेर कहाँ जाने ? बिरामीकै सेवा गर्छु। छोडेर जाँदैन। भन्ने जवाफ दिएको हुँ।’
डा. रुइत तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक हुन्। प्रधानमन्त्री कार्कीको आँखाको डा. रुइत र प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र चिकित्सक डा. रिता गुरुङले परीक्षण गरेका हुन्।
प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीका अनुसार, कार्कीको देब्रे आँखा धमिलो भई पीसीओ (पोस्चेरियर क्याप्सुल अपासिफिकेसन) भएकाले सोका लागि लेजर गरेको जानकारी गराए। मंगलबार प्रायःजसो अनलाइन मिडियामा उनलाई स्वास्थ्यमन्त्रीमा प्रस्ताव भएको चर्चा भइरह्यो। तर, उनले भने आफूलाई त्यस्तो कुनै प्रस्ताव नआएको र आफ्नो रुचिसमेत नभएको बताए। ‘उहाँ (सुशीला कार्की) लाई म धेरै पहिलादेखि चिन्छु। उहाँको कामको सम्मान गर्छु। उहाँ मेरो दिदी जस्तै हो,’ प्रधानमन्त्री कार्कीभन्दा दुई वर्षले कान्छा डा. रुइतले भने, ‘त्यस्तो (स्वास्थ्यमन्त्री हुने प्रस्ताव) केही आएन।’
दार्जिलिङको सेन्ट रोबट्र्स स्कुल हुँदै काठमाडौंको सिद्धार्थ वनस्थली र भारतको किङ जर्ज मेडिकल कलेज (लखनउ), अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (दिल्ली) आदिबाट उनले अध्ययन गरेका हुन्। मोतीविन्दुको अप्रेसन गर्ने सूक्ष्म पद्धति उपयोग गर्दै नेपालसहित एसियाली र अफ्रिकी मुलुकमा गरेर एक लाखभन्दा बढी मानिसलाई दृष्टि दिने काम गरेका कारण डा. रूइतको कल्याणकारी प्रतिष्ठाले उचाइ लिएको छ।
उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार, अर्डर अफ अस्ट्रेलिया, भारतको पद्म श्रीबाट विभूषित भएका छन्। त्यस्तै नेसनल अर्डर अफ मेरिट अफ भुटान लगायतका सम्मान पाएका छन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की अहिले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा छिन्। मन्त्रिपरिषदलाई समावेशी हुने गृहकार्यमा उनी जुटेकी छिन्। प्रधानमन्त्री सहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने संवैधानिक व्यवस्था छ। तर, कार्कीले आर्थिक मितव्ययितामा जोड दिएकी छिन्। भरसक ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको स्रोतको दावी छ। त्यसैकारण एक जना मन्त्रीले दुई/तीनवटा मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना बलियो छ।
आइतबार प्रधानमन्त्रीको कार्यभार सम्हालेकी कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। उनले सोमबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक र सहरी विकास मन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याललाई चयन गरिन्। जनजाति, महिलासमेत समेटिने सानो आकारको मन्त्रिपरिषद्मा डा. रुइतलाई देख्न पाइने छैन। डा. रुइत जान अनिच्छा देखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी कुन चिकित्सकले पाउला ? कौतुहल झन् बढेको छ।
जेन–जी आन्दोलनको जगमा मुलुकको सत्ता परिवर्तन भए पनि डा.रुईत आफ्नो सेवा एकाग्र छन्। तन, मन, धन विरामीको सेवामै छ। उनको चाहना छ, ‘जति उमेरसम्म बाँचिन्छ, त्यो बेलासम्म नेपालीको सेवा गर्ने र नेपालको इज्जत बढाउनै समर्पित हुने। उनले अवलम्बन गरेको आँखा उपचार पद्धति (रुइतेक्टोमी /इन्ट्रोकुलर लेन्स) ले विश्वमै चर्चा पाइरहेको छ। अहिले पनि प्रतिष्ठानले उत्पादन गरेको लेन्स विश्वका दर्जनौं मुलुकहरूमा पुग्छ।
तिलगंगाको टिम–वर्कमा उनी ‘ग्रासरुट’मै पुगेर गरिब बिरामीको सेवामा मग्न हुन चाहन्छन्। उनको ‘नेपाल टेक्निक’ ले धेरैलाई उज्यालो दिएको छ। हजारौंको मोतीविन्दुको जालो हटाएको छ। के छ चाहना ? अन्नपूर्णको जिज्ञासा उनी भन्छन्, ‘कुनाकन्दरामा पुगेर नेपालीहरूको उपचार गर्ने र नेपाल बाहिर (विदेशमा) कहाँ–कहाँ नेपालको इज्जत राख्न सकिन्छ, त्यहाँ त्यहाँ सम्म इज्जत बढाउने/फैलाउने हो।
प्रतिक्रिया दिनुहोस !