किन गइरहन्छ मुग्लिन–नारायणघाटखण्डमा पहिरो ?
काठमाडौं : तुइन खोलामा ठूलो मात्रामा सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ। पहिरो पन्छाउन २ दिन जति लाग्ने अवस्था रहेको सरकारी अधिकारीहरू बताउँछन्। त्यसैकारण, जिल्ला प्रशासन कार्यालय चितवनले वैकल्पिक मार्गबाट गन्तव्य तय गर्न अनुरोध गरेको छ।
यसअघि असोज ३ गते तुइन खोलानजिकै पहिरोका कारण ४६ घन्टा यो सडकखण्ड अवरुद्ध भएको थियो। सञ्चालन भएको केही दिनमै फेरि अवरुद्ध भएको छ। मंगलबार दिउँसो ११ बजेबाट ढुंगासहितको माटो खस्न थालेको थियो। आंशिक बन्द हुँदै सञ्चालन भएको उक्त खण्डमा दिउँसो १ बजेबाट निरन्तर पहिरो खसेको थियो। बाटोमा ढुंगा र माटोको मास थुप्रिएको भरतपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए।
संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख ‘लाइफलाइन’ पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएपछि १० हजार सवारीसाधन बाटोमा अलपत्र परेका छन्। दसैं मनाउन राजधानीबाट हिँडेका हजारौं यात्रु पनि अलपत्र छन्। मालवाहक सवारी मात्र पहिरो गएको ठाउँ वारिपारि रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताए। ‘१० टनभन्दा साना सवारीसाधन मकवानपुरको बाटो हुँदै पठाइएका छन्,’ शर्माले भने, ‘१० टनभन्दा माथिका सवारी साधन मात्रै लाइनमा छन्, बाटो खुलेपछि फर्किने छन्।’ बाटो अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय र प्रहरी प्रशासनका कर्मचारी पनि यात्रु सुरक्षाका लागि बाटोमा नै खटिएको उनले जानकारी दिए।
‘बाटो पूरै ठप्पै छ। राति साढे ८ बजेसम्म पनि पहिरो झर्ने क्रम रोकिएको छैन। अस्ति ड्रोन इमेज हेर्दा माथिको भाग अनस्टेबल नै देखिएको थियो। त्यो सबै झरेर सकियो भने निरन्तर काम गरेर बाटो खोल्न सकिन्छ। माथिबाट झर्ने क्रम नरोकिएसम्म केही गर्न सकिँदैन,’ घिमिरेले भने। असोज ३ गते साँझ सुक्खा पहिरोका कारण यो खण्ड ४६ घन्टासम्म पूर्णरूपमा अवरुद्ध भएको थियो। सडकमा जम्मा भएको थुप्रो पन्छाएर आइतबार ४ बजेबाट एकतर्फी खुलाएको थियो। खसेको ढुंगाको थुप्रो बाँकी नै रहेकाले आइतबार राति ९ बजेबाट सोमबार बिहान ५ बजेसम्म गाडी आवात–जावातमा रोक लगाइएको थियो।
बिहान ५ बजेबाट एकतर्फी खुलाइएको बाटो बाँकी रहेको थुप्रो सफा गर्न सोमबार दिउँसो २ बजेबाट साँझ ५: ४० बजेसम्म गाडी बन्द गरियो। सोमबार साँझबाट भने दुइतर्फी नै गाडी आवात–जावातका लागि खोलिएको थियो।
बेला–बेलामा ढुंगा खस्दा गाडी रोक्दै पन्छाउँदै गरिएको इन्जिनियर घिमिरे बताउँछन्। ‘सोमबार रातभर र मंगलबार बिहान ११ बजेसम्म गाडी चलाएका थिए,’ उनले भने, ‘११ बजेबाट अलिअलि ढुंगा खस्न थाले। दिउँसो १ बजेबाट निरन्तर पहिरो झर्न थालेपछि गाडी ठप्प भए। हेर्दाहेर्दै अलि–अलि गर्दै धेरै नै झर्न थाल्यो। पहिरो खसेको ठाउँबाट माथि हेर्दा यसको टुप्पो लगभग ८० मिटर माथि छ। टुप्पोको करिब १० मिटर जतिको भाग सबै खसेको छ।’
अहिले तुइन खोलानजिक गत शुक्रबारको पहिरोको भन्दा धेरै ठूलो मात्रामा ढुंगाको मास थुप्रिएको छ। गत शुक्रबार ढुंगा वा चट्टान बढी खसेको तर मंगलबार भने माटोसहितको सुक्खा पहिरो झरेको घिमिरेले जानकारी दिए। गत जेठबाट नै तुइन खोलानजिकै फाट्टफुट्ट केही समयका लागि ढुंगा झर्ने गर्थे र केही घन्टामा नै बाटो खुलाउने गरिएको थियो। पानी पर्न थालेपछि भदौ २६ गतेबाट भने निरन्तर ढुंगा झर्ने गर्थे।
एकसाता पानी परेर रोकिएपछि असोज ३ गतेबाट बाटो नै अवरुद्ध हुने गरी सुक्खा पहिरो झर्न थालेको इन्जिनियर घिमिरेले जानकारी दिए। गत वर्ष पनि सोही स्थानमा पहिरो झरेर दुईतर्फी सवारी आवतरूजावत अवरुद्ध भएका थिए।
समाधानको उपाय खोजिँदै थियो ...
तुइन खोलानजिकै हरेक वर्ष सुक्खा पहिरो झर्न थालेपछि सडक विभागले अध्ययन गरेको थियो। अध्ययनपछि दीर्घकालीन समाधान खोज्ने योजना विभागको थियो। इन्जिनियर घिमिरेका अनुसार साइटको अवस्था फेरिएकाले यसको डिजाइन परिवर्तन गरेर काम गर्ने भन्ने थियो। यो हिउँदबाट यसको रोकथामको काम सुरु गर्ने योजना सडक विभागको थियो।
वर्षा सकिसकेको अवस्थामा अहिले फेरि १० मिटरको पहाड नै झरेको छ। यसको रोकथामका लागि रकनेट (ढुंगाको जाली) त्यसलाई दरो बनाउन बोल्ट थप्ने र अन्त्यमा जालिको बाहिरबाट सटक्रिट (सिमेन्टको घोला छर्ने) गर्ने भन्ने थियो। पहिलाको अध्ययन हुँदा पहिरोस्थलको स्लोप ७० मिटरसम्मको थियो। सबै ठाउँमा रोकथाम गर्ने भन्ने थियो। अहिले ८० मिटरसम्म नै पहिरोको असर देखिएकाले फेरि डिजाइन परिवर्तन गर्नुपर्ने घिमिरेको भनाइ छ। विज्ञहरूसँग छलफल पनि भइरहेको भन्दै घिमिरेले यसको तत्कालको समाधानको उपाय केही नभएको बताउँछन्।
किन गइरहन्छ मुग्लिन–नारायणघाटखण्डमा पहिरो ?
नारायणगढ–मुग्लिन सडकखण्डमा धेरै चट्टान र ढुंगाका टुक्रा छन्। यस्ता स्थान दरो हुन्छन भन्ने धारणा छ। तर, यस खण्डमा भएका चट्टान धेरैजसो चर्किएका छन्।
पानी पर्दा ती छिद्रबाट पानी छिर्ने र घाम लाग्दा सुकेपछि चट्टान चर्किने या चिरा पर्ने हुन्छ। ती चट्टानमा थुप्रिएका माटो पनि चट्टान चर्किएपछि त्यसले थेग्न सक्दैन। तलतल ढुंगा फुटेर झर्न थालेपछि त्यहाँ अडिएको माटो पनि झर्न थाल्छ। अहिले तुइन खोलामा गएको पहिरोको कारण पानी पर्नु नै रहेको प्रारम्भिक अनुमान गरिएको इन्जिनियर घिमिरे बताउँछन्।
प्रतिक्रिया दिनुहोस !