दशैं सकिएसँगै किसानलाई धान काट्ने चटारो
डडेलधुरा : बडादशैंको रौनक सकिन थालेसँगै गाउँघरमा कामको चटारो बढेको छ। कृषकहरूलाई धान भित्र्याउन हतारो छ भने अन्य किसानलाई हिउँदका लागि खेतबारी तथा घाँस काट्न चटारो परेको हो।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा वर्षा नहुँदा स्थानीयहरू अन्नबाली र खर काट्ने तथा भित्र्याउन व्यस्त देखिएका छन्। असार सकिएपछि फुर्सदिला हुने पहाडका स्थानीयको दैनिकी भदौदेखि अति नै व्यस्त हुने गर्छ। सुदूरपश्चिमका ग्रामीण भेगसम्म सडकको पहुँच पुगे पनि नियमित गाडी नचल्दा भारी बोकेर उकालो, ओरालो हिँड्नुपर्ने बाध्यता रहेको ग्रामीण समुदायका मानिसको दुखेसो छ।
सुदूरका मौलिक चाडबाडले यहाँको जनजीवन झनै कष्टकर हुने गरेको गन्यापधुरा–२ कि महेश्वरी मल्लले बताइन्। दशैंको समयले नेटो काटेसँगै कामको चटारो पनि परेको स्थानीयको भनाइ छ। अहिले विशेषगरी महिलाहरू काममा व्यस्त हुन्छन्। पुरुषहरूले घरायसी काममा चासो नदिँदा महिलाका लागि अहिलेको समय झनै व्यस्त हुने गरेको अजयमेरु-२ कि लक्ष्मी भण्डारीले सुनाइन्। ‘गाउँका महिलाहरूले काम नगर्दा खान लगाउन समस्या हुन्छ, उनीहरूका खाने, बोल्ने फुर्सद पनि हुँदैन,’ उनले भनिन्।
अहिलेको समयमा धान, कोदो लगायतका मुख्य बालीसँगै दलहनमा भटमास, मास, राजमा, सिमी, तिल बाली भित्र्याउने चटारो महिलालाई बढी हुन्छ। गाईभैंसीलाई हिउँदमा खुवाउन हरियो घाँस काटेर सुकाइ थुपारेर राख्न पनि यहाँका महिलाहरूलाई भ्याइनभ्याइ भएको अमरगढी-७ का स्थानीय लक्ष्मी भट्टराईले बताइन्।
उनका अनुसार घरायसी कामदेखि अन्नबाली र गाईभैंसीलाई घाँसदेखि खर काट्नु पर्ने बाध्यता भएकाले महिलालाई यतिबेला भ्याइनभ्याइ छ। अन्नबाली भित्र्याउनेसँगै खाली भएका खेतबारी जोत्ने, गोठेमल हाल्ने, आलु तरकारी लगाउने समय पनि भएकाले झनै व्यस्तता बढाइ दिएको कृषकहरू बताउँछन्। कामको बोझले व्यस्त हुने यो समयमा अर्मपर्म गरी गाउँका महिलाहरूले अन्नबालीसँगै खर काट्ने थुपार्ने काममा व्यस्त छन् भने पुरुष पनि खनजोत गर्ने काममा व्यस्त रहेका छन्।
प्रतिक्रिया दिनुहोस !