नेपाली साइनो जोड्ने बलियो आधार खेल

नेपाली साइनो जोड्ने बलियो आधार खेल

सिड्नी (अस्ट्रेलिया) : सिड्नी जस्तो ठूलो सहर, अनि यहाँको अति व्यस्त र महँगो जीवनशैली। यति हुँदाहुँदै पनि इन्जिनियर कृष्ण कार्की बिदाको दिन प्रायः आफ्ना धेरै साथीहरूसँग मोरब्यांक क्रिकेट क्लबको मैदानमा भेटिन्छन्। उनको मन जस्तै मोरब्यांक क्रिकेट क्लबको मैदान पनि निकै फराकिलो छ। जुन प्यासिफिक महासागर किनारको विश्व प्रसिद्ध सहर सिड्नीदेखि करिब ४२ किलोमिटर दक्षिण पश्चिम अस्ट्रल उपनगरमा पर्छ। 

१२ वर्षअघि रुपन्देहीबाट यहाँ आएका इन्जिनियर कार्की बिदाको दिन (हरेक आइतबार) आफ्ना नेपाली साथीहरूसँग त्यही मैदानमा क्रिकेट खेल्छन्। त्यसबाहेक अन्य दिन पनि समय निकालेर साथीसँग मैदानमै बिताउन रुचाउँछन्।

‘त्यहाँ शारीरिक फिट्नेस पनि हुन्छ। दिनरात काममा व्यस्त भइरहँदाको मानसिक तनावबाट मुक्त भइन्छ’, खुट्टामा प्याड बाँधिसकेका कार्कीले छिटोछिटो टाउकोमा हेल्मेट लगाउँदै क्रिकेट मैदान प्रवेश गर्नुअघि भने, ‘४ घण्टा भए पनि दिमाग हल्का हुन्छ। अनि धेरै साथीहरूसँग भेटघाट र चिनजान पनि हुन्छ।’

कुनै पनि संकेत, सन्देश, शब्द, लेख, तस्बिर र आवाजलाई एक अर्कासम्म पु¥याउने र जोड्ने विद्युतीय माध्यम वा पद्धति सिकेका इन्जिनियर कार्कीले नेपाली युवाहरूलाई खेलको मैदानमा निम्ता दिएर आपसमा मन जोड्ने प्रयास गर्दै आएका छन्।

बिदाका दिन मैत्रीपूर्ण खेल
अस्ट्रलमा ३५ वर्ष उमेर समूहका नेपाली युवाहरूको टिम छ। उनीहरू बिदाको दिन कुनै पनि समय निकालेर आफू–आफू मैत्रीपूर्ण प्रतिस्पर्धा गर्छन्। 

नयाँ सहर बिस्तार सँगै धेरै अवसरका ढोका खुल्दै गएकाले अस्ट्रल क्षेत्रमा नेपालीको बासोबास गर्ने क्रम पनि बढ्न थालेको छ। न्यू साउथ बेल्स राज्यको महँगो सिड्नी सहरको तुलनामा सस्तो भाउमा घर जग्गा र युनिट पाइने भएकाले यहाँ आकर्षण बढेको हो। आफ्नै जग्गा होस् वा भाडामा अपार्टमेन्ट लिएर नै किन नहोस् ३ सयभन्दा बढी नेपाली यहाँ बसेको अनुमान छ। 
हुन त सिड्नीको रकडेल र त्यस वरपर पनि नेपालीको निकै बाक्लो बासोबास छ। उनीहरूले बिभिन्न व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन्। सिड्नी सहरमा कर्णाली प्रदेशको जुम्लामा उत्पादन हुने सेतो मकैसमेत पाइन्छ। 

तर, व्यस्त सहरमा आवश्यक वस्तु खरिद गर्दाबाहेक अन्य समय नेपाली–नेपालीबीच भेटघाट, बोलचाल र चिनजान बिरलै हुन्छ। भइहाल्यो भने पनि प्रगाढ आत्मीय सम्बन्ध गाँसिने सम्भावना निकै कम रहन्छ। जसले गर्दा धेरैले परदेशमा एक्लोपन महसुस गर्दै आएका छन्। तर, अस्ट्रल वारियर क्रिकेट टिमका कप्तान कार्की नेपाली मन र भावना जोड्ने पुल निर्माण गर्दै छन्। त्यसका लागि उनले क्रिकेटलाई माध्यमका रूपमा रोजे। 

उनले अस्ट्रलमा सन् २०२४ मा क्लब वरियर टिम दर्ता गरे लगत्तै साथीहरूसँग हातेमालो गर्दै नेपालीलाई समुद्री देशका मैदानमा उतार्न गरेको प्रयासले कैयौं नेपालीबीच घनिष्ठ सम्बन्ध जोडिएको छ। सम्बन्धका जराहरू फैलिँदै गएको त छ नै अस्टे«लियाली राष्ट्रिय टिममा पुगेर अन्य ठूला देशका खेलाडी र टिमसँग प्रतिस्पर्धा गर्न सक्ने मार्गको द्वार खुलेको छ। यहाँ नेपाली क्रिकेट क्लब अफ अस्ट्रेलिया (एनसीसीए) पनि छ। जसले अस्ट्रेलियाभरि बस्दै आएका नेपाली, जो क्रिकेटमा रुचि राख्छन्, उनीहरूका लागि प्रतियोगिता आयोजना गर्छ। यस्ता प्रतियोगिताले नेपाली सम्बन्धको गाँठो कसिलो पार्दै गएको धेरैले महसुस गर्न थालिसकेका छन्। 

‘एनसीसीएले मेजर टुर्नामेन्ट गराउँछ। त्यसका लागि खेलाडी र क्लबको स्तर पहिचान गर्छ। ग्रेड ए, ग्रेड बी, गरेर खेलाउँछ’, कप्तान कार्कीले नेपाली जोडिने सम्भावनाका धेरै मार्गहरू देखिएको उल्लेख गर्दै भने, ‘राम्रो कला कौशलता अनि क्षमता हाँसिल गर्न सकियो र एनसीसीएबाट आर्थिक सहयोग भयो भने यहीँ बसेर पनि नेपाली टिमले अरू मुलुकसँग खेल्न सक्छन्।’ nullअस्ट्रेलियामा आयोजित सक्सेस एनयूएफसी कप २०२५ मा सहभागी नेपाली खेलाडीहरू। तस्बिर सौजन्यः नेपाल युनाइटेड एफसीको फेसबुक पेज

स्टेडियम र मैदानमा मनोरन्जन
अस्ट्रेलियाका ठूला सहरहरूका मानिस अति व्यस्त जीवनशैलीका कारण निकै उकुसमुकुस अवस्थाबाट बाहिर निस्कन चाहन्छन्। उनीहरूले क्रिकेट स्टेडियम र मैदानहरूमा पुगेर भए पनि मनोरन्जन लिँदै आएका छन्। त्यति मात्रै होइन, व्यक्तित्व विकास, सामाजिक सम्बन्ध र शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि धेरै फाइदा पु¥याउने भएकाले यहाँ क्रिकेटप्रतिको बढ्दो रुचिले नेपाली युवालाई मैदानमा डोर्या‍इरहेको छ। 

व्यस्त जीवनशैलीले भित्रभित्रै आक्रोशलाई जन्म दिन्छ। तर, क्रिकेटको मैदानले भने मानिसलाई सहनशीलता सँगै बल हान्दा, समात्दा र रन बनाउँदा हात–आँखा समन्वय हुने भएकाले दिमाग अन्य बोझबाट मुक्त तुल्याउन सक्ने ठानेर आफू खेल मैदानमा पुग्न थालेको युवा बताउँछन्। 

एक्लोपन हटाउन क्रिकेट
‘ब्याटिङ गर्दा शरीरका स्नायु पनि बलियो हुन्छ। तत्काल फिल्डिङ योजना बनाउन र छिटो सोच्ने क्षमतामा पनि उत्तिकै सघाउ पु¥याउँछ’, अस्ट्रलको मैदानमा भेटिएका अर्का क्रिकेटर राजेश सुवेदीले आकर्षण, आवश्यकता अनि खेलबाट प्राप्त उपलब्धि र अनगिन्ती फाइदाहरूका विस्तृत विवरण सुनाउँदै भने, ‘यहाँ आउँदाका सुरुवाती दिनहरूमा एक्लो जस्तो लाग्थ्यो। अब आफैंसँग एउटै कलेजमा पढेका, खेलेका र एउटै समाजमा हुर्केका साथीहरू भेट्दा र सँगै खेल्न पाउँदा विदेशमा छु जस्तो लाग्दैन।’ 

साइनो जोड्ने आधार
नेपाली साथी र प्रतियोगीसँग मिलेर खेल्दा मित्रता मात्र हैन सामाजिक सम्पर्कसमेत विस्तार भइरहेको छ। त्यति मात्र हैन अनुशासनमा बस्ने र नियम मान्ने संस्कारको पनि पालना भइरहेको छ। खेलले खेलाडी र हेर्ने दुवै पक्षलाई उत्साहित तुल्याउने भएकाले पनि क्रिकेट नेपालीले साइनो जोड्ने बलियो आधार बनेको हो। रोजगारीका लागि आएका युवा खेलाडीले नेपालीको पहिचान मात्र हैन धेरै समुद्री टापुमा अवस्थित ठूला साना हरेक सहरमा शिर र सान उँचो तुल्याउने थप प्रयास गरिरहेका छन्। 

त्यसैले पनि अस्ट्रलका नेपाली युवाहरू मैदान छोड्न चाहँदैनन्। भन्छन्, ‘आफ्नै फिल्ड छैन। भाडामा लिएर भए पनि खेल्छौं।’ यसका कारण र उद्देश्य हो नेपालबाट समुद्री महादेशमा शिक्षा र रोजगारीका लागि आइपुगेका र आउने क्रममा रहेकाहरूलाई एकअर्कासँग परिचित गराउँदै भावनात्मक सम्बन्ध जोड्नु। यस्तो लक्ष्यतर्फ अग्रसर युवाको संख्या पनि बढ्दै छ। 

मैदानको शुल्क १ सय ५० देखि १ सय ३० डलर
यहाँको काउन्सिलले क्रिकेट मैदानको स्तरअनुसार शुल्क निर्धारण गर्छ। राम्रो मैदानमा ४ घण्टाको १ सय ५० देखि १ सय ३० डलर र माटोको पिच भएको मैदानलाई ७० देखि ८० डलर पर्छ। जतिसुकै भए पनि नेपाली युवा भाडा तिर्न र खेल्न तयार देखिन्छन्। कहिलेकाहीँ मैदान खाली हुँदा उनीहरू सित्तैमा पनि खेल्दै आएका छन्। 

नेपाली खेलाडीलाई आर्थिक सहयोग गर्ने स्पन्सर पनि छन्। पाइएन भने पनि आत्तिदैनन्। आफैंले पनि स्रोत जुटाउँदै आएका छन्। कस्तो कार्यक्रम आयोजना भइरहेका छन् ? त्यसका आधारमा सिड्नी काउन्सिलले पनि सहयोग गर्ने गरेको छ। धेरै जसो आफू–आफूबीच मै खेल्छन्। कहिलेकहीँ अरूसँग पनि खेल्छन्।

२२२ वर्ष अघिदेखि क्रिकेट सुरु
अस्ट्रेलियाको खेल इतिहास हेर्दा यहाँ २ सय २२ वर्षअघि सन् १८०३ देखि क्रिकेटको सुरुवात भएको पाइन्छ। यो खेलमा अस्टे«लिया विश्वका अन्य मुलुकमध्ये धेरै बालियो देशमा पर्छ। तर, पनि फुटबल नै सबैभन्दा बढीले खेल्छन्। १० लाखभन्दा धेरैले फुटबल र ७ लाख बढीले क्रिकेट खेल्ने गरिएको अनुमान गरिएको छ। यो संख्यामा पनि बेला–बेला उतार चढाव आउने गरेको छ। 

क्रिकेटमा रुचि राख्नेहरूलाई क्रिकेटको मैदानमा ल्याएर एकताको सूत्रमा बाँध्ने प्रयास सार्थक हँुदै गएको छ। अस्ट्रेलियामा कम्तीमा १ हजारदेखि ५३ हजार दर्शक क्षमताको करिब १ सय स्टेडियम छन्। यीबाहेक हरेक सहर र बस्तीहरूमा अनगिन्ती मैदानहरू छन्।

खेलप्रति लगाब बढ्दो
अस्ट्रेलियामा खेल प्रतिको लगाव बढ्दै छ। ‘जहाँ गए पनि हामी आफ्नो पन खोज्छौं। खेलका यस्ता प्रयासले स्वस्थ्य सम्बन्ध जोड्छ। किनभने फुटबल हाम्रो प्रिय खेल पनि हो। पिङ खेलेर जोडिन नपाए पनि फुटबल र क्रिकेट खेलबाट जोडिने चोखो नाता र सम्बन्ध हुन्छ’, एनआरएनए न्यू साउथ वेल्स राज्यकी कोर्डिनेटर उषाकिरण बरिया भन्छिन्, ‘नेपाली विद्यार्थीलाई यहाँ आइसकेपछि परस्पर सम्बन्ध जोड्न र यहाँको दलदलबाट जोगाउने प्रयास पनि भइरहेका छन्। त्यसका लागि पनि सहयोग गर्दै आएका छौं।’ 

बारिया गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको पहिलो महिला संयोजक भएपछि यहाँ आइपुगेका नेपाली महिलालाई अझै शसक्तिकरण गर्न मार्ग खुलेको बताउँछिन्। 

फुटबलमा पनि उत्तिकै रुचि

यसबाट छुटेका हुन् वा फुटबलप्रति रुचि राख्नेहरू नै किन नहुन् उनीहरूलाई पनि फुटबल मैदानसम्म पु¥याउने दौडमा पनि धेरै युवाहरू छन्। त्यसै पनि नेपाली फुटबल भन्ने बित्तिकै हुरुक्कै हुन्छन्। ती चाहे बालबालिका हुन् वा ज्येष्ठ नागरिकनै किन नहुन्। 
सबै उमेर समूहका मानिस फुटबल हेर्दा र खेल्दा निकै रमाउने गर्छन्। जसका कारण यहाँका मैदान नेपाली–नेपाली जोड्ने प्रभावकारी माध्यम बन्न थालेका हुन्। आफ्नो व्यस्त समय कटौती गरेर भए पनि हरि 
खड्का यस्तो अभियानमा जोडिएका छन्। युवाहरूलाई मात्र हैन साना बालबालिकालाई समेत फुटबल सिकाउँदै आएका छन्। सिक्न र खेल्न आउनेहरूमा धेरैजसो यहीँ जन्मेर हुर्किएकाहरू छन्। 

‘अहिले १६ बालबालिका सिक्दै छन्। विस्तारै संख्या अझै बढ्दै छ। बालबालिकालाई खेलको मैदानमा ल्याउँदा पनि समुदायलाई एकीकरण गर्न सघाउ पुग्ने ठानेका छौं’, स्कट मेमोरियल पार्कको मैदानमा फुटबल सिकाउँदै आएका खड्का भन्छन्, ‘त्यो सँगै बालमनस्थिति र व्यक्तित्व विकासमा निकै सघाउ छ।’

उनका अनुसार अहिले क्लवको माध्ययमबाट जोडिने प्रयास भइरहेको छ। ग्राउन्ड तहमा जो जहाँ नजिक छन् त्यहाँ समन्वय गर्न युवाहरूले प्रयास गर्दै आएका छन्। 

नेपाली युवाको यस्तो प्रयासलाई न्यू साउथ बेल्स राज्यको प्रदेशसभा सदस्य नेथन हेगर्टीले पनि सघाउँदै आएका छन्। नेथन आफैं नेपाली खेल्ने मैदानहरूमा पुग्ने गरेका छन्। क्राइक मैदानमा भेटिएका सांसद नेथन भन्छन्, ‘नेपाली समुदाय यहाँ आउँछन्। अति कडा मेहनत र योगदान गर्छन्। यसले समुदायलाई एक साथ भेला भएर आफ्ना परम्पराहरू साझा गर्न मात्र होइन, नयाँ पुस्तालाई सिकाउन पनि अवसर दिन्छ।’ उनले पनि यहाँ जन्मिएका नेपालीले पनि आफ्नो नेपाली संस्कृति र परम्पराहरू बुझ्न र आत्मसाथ गर्न जरुरी रहेकाले त्यसका लागि खेलकुदका कार्यक्रम नै सबैभन्दा उत्कृष्ट माध्यम ठानेको बताए। 

नेपाली युवाहरू बीचमा हुँदै आएका खेलकुदका अभ्यासको प्रशंसा गर्ने नेथन मैदानमा आउन निम्तो दिएर अपनत्व र आत्मियात देखाउँदा नेपाल जान मन लाग्न थालेको बताउँछन्। भन्छन्, ‘मैले नेपाली समुदायबाट धेरै कुरा सिकेको छु। अनि आशा छ, अर्को वर्ष म नेपाल भ्रमण गर्न जाने छु। मैले प्रिमियरलाई (मुख्यमन्त्री ) पनि साथमा लगेर जान चाहेको छु। ताकि हामीले वास्तविक नेपाली संस्कृति प्रत्यक्ष अनुभव गर्न सकौं।’ 

धेरैलाई थाहा नहुन सक्छ अस्ट्रेलियमा कतिपयले फुटबललाई सकर पनि भन्छन्। देशभर ४ हजार २ सय ७० फुटबल मैदान छन्। न्यू साउथ बेल्स राज्यमा ४ लाख बढी फुटबल खेलाडी छन्। देशभरि १९ लाख ११ हजार खेलाडी भएको अनुमान गरिन्छ। 

बालबालिका र महिलाले समेत खेल्ने हुँदा धेरैको रुचि र सहभागी हुने खेल भएकाले सरकारी सहयोग प्राप्त गर्ने गरेका छन्। तर, नेपाली खेलाडी कति पुगे ? एकिन तथ्यांक भने छैन। तर, फुटबलका माध्यमबाट नेपाली समुदायलाई जोड्न भइरहेका प्रयासले केही वर्षभित्र अस्ट्रेलियमा नेपाली फुटबल खेलाडी राष्ट्रिय गणनामा पर्न सक्ने संकेत देखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.