बन्धकका परिवारका तर्फबाट ट्रम्पलाई धन्यवाद पत्र, ७२ घण्टामा सबै बन्धक मुक्त हुने
तेल अविभ : हमासले बन्धक बनाइएकाका परिवारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ऐतिहासिक सम्झौता गराउन सफल भएकोमा धन्यवाद पत्र पठाएका छन्।
होस्टेज तथा मिसिङ परिवार फोरमको तर्फबाट पठाइएको पत्रमा बन्धकका परिवारले लेखेका छन्, ʻदुई वर्षको अन्धकारपछिको यो क्षण हाम्रा लागि पुनर्जन्म जस्तै हो। तपाईँको प्रयासले हाम्रो प्रियजनहरूलाई घर फर्काउन सहयोग मिलिरहेको छ र युद्धको अन्त्य गरायो। हामीले सदाको लागि गुमाएका ठानेका प्रियजनहरूलाई तपाईँले फर्काउनु लाग्नुभयो।ʼ
पत्रमा बन्धकका परिवारले अब आफूहरू राहतको सास फेर्न सक्षम भएको उल्लेख गरेका छन्। यस्तै हराएका आफन्तलाई अँगाल्न पाउने, मृत्यु भएकाको अन्त्येष्टि गर्न पाउने पत्रमा भनिएको छ। आफ्नो वाचा पूरा गरेको भन्दै ट्रम्पप्रति कृतज्ञ व्यक्त गरिएको छ।
यस्तै फोरमले ट्रम्पलाई आगामी इजरायल भ्रमणका क्रममा भेट गर्न आग्रह पनि गरेको छ। ʻहाम्रा पत्नी, छोराछोरी, अभिभावक र दाजुभाइ दिदीबहिनीहरू तपाईँलाई प्रत्यक्ष धन्यवाद दिन चाहन्छन्,ʼपत्रमा भनिएको छ।
पत्रमा थप भनिएको छ,ʻतपाईँको निर्वाचनको क्षणदेखि नै बन्धकका परिवार, इजरायलका जनतालगायत बन्धकहरूले पनि तपाईँप्रतिको विश्वास प्रकट गरेका थिए। हाम्रो दुःस्वप्न समाप्त गरी क्षेत्रमा शान्ति ल्याउनुहुनेछ। यो इजरायल र उसका मित्र राष्ट्रबीचको इतिहासकै सबभन्दा ठुलो समर्थनका रूपमा दर्ज हुन सक्छ।ʼ
पत्रको बन्धकका परिवारले लेखेका छन्,ʻहामीलाई तपाईँको आँखामा हेर्ने र त्यो कुरा भन्न चाहना छ, जुन शब्दले व्यक्त गर्न सक्दैन तपाईँले हामीलाई हाम्रो परिवार फिर्ता दिनुभयो र त्यससँगै हाम्रो आशा पनि।ʼ
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान इजरायल र हमासबीच गाजासम्बन्धी शान्ति सम्झौता भएको घोषणा गरेका छन्। सम्झौताअनुसार गाजामा रहेका बाँकी बन्धक सम्झौता हस्ताक्षर भएको ७२ घण्टाभित्र मुक्त गरिने भएको छ।
ट्रम्पका अनुसार सम्झौताको पहिलो चरणमा दुवै पक्षले सहमति जनाइसकेका छन्।
लेबनानी सञ्चारमाध्यम अल मायादिनका अनुसार उक्त सम्झौतामा बिहीबार दिउँसो इजिप्टमा हस्ताक्षर गरिने तयारी छ। हमासका स्रोतले उक्त माध्यमलाई जानकारी दिएका हुन्। यो सम्झौता गाजामा रहेका बाँकी बन्धकहरूको मुक्तिसँगै इजरायल–हमास युद्ध अन्त्य गर्ने दिशामा ऐतिहासिक कदम मानिएको छ।
यता कतारले पनि गाजाको युद्धविराम सम्झौता सम्पन्न भएको घोषणा गरेको छ। कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले बिहीबार गाजाको युद्धविरामका पहिलो चरणका सबै प्रावधानमा सहमति भएको पुष्टि गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !