आश्रममा पुगेर वृद्धवृद्धाको आँखा परीक्षण
नुवाकोट : नुवाकोटको देवीघाटमा रहेको वृद्धाश्रममा आश्रितहरूको आँखा परीक्षण तथा उपचार गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी नुवाकोट, सामुदायिक आँखा केन्द्र नुवाकोट र तिलगंगा आँखा केन्द्र काठमाडौंको आयोजनामा विश्व दृष्टि दिवस–२०२५ का अवसरमा बिहीबार विदुर नगरपालिका-५ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर आश्रित वृद्धवृद्धाहरूको निःशुल्क आँखा परीक्षण गरिएको हो।
जिल्ला सामुदायिक आँखा केन्द्र प्रमुख ताराबहादुर वाइबा सहितको आँखा प्राविधिक टोलीले वृद्धाश्रम देवीघाटमा आश्रित रहेका ३९ जना वृद्धवृद्धाहरूको निःशुल्क आँखा परीक्षण, मोतियाबिन्दुको पहिचान, तथा आवश्यक औषधि निःशुल्क वितरण गरेको रेडक्रस नुवाकोटले जनाएको छ।
प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरूको आँखा परीक्षण गरिएको रेडक्रस नुवाकोटका सभापति तथा सामुदायिक आँखा केन्द्रका अध्यक्ष हरी श्रेष्ठले जानकारी दिए। श्रेष्ठले सुन्दर संसार देख्ने दृष्टि रहे मात्र मानव जीवन सफल हुने भएकाले आँखाको स्याहार तथा सुरक्षाका लागि सबै सचेत रहनुपर्नेमा जोड दिए।
आँखा परीक्षण गरिएकामध्ये चार जना बिरामीहरूको आँखामा मोतियाबिन्दुको समस्या रहेकोले शल्यक्रिया गर्नुपर्ने देखिएको रेडक्रस नुवाकोटका सचिव (मन्त्री) उद्धव शर्मा रिजालले जानकारी दिए। उनका अनुसार उनीहरूको निःशुल्क शल्यक्रिया गरिने भएकाले उपचारका लागि सामुदायिक आँखा केन्द्र विदुरमा रिफर गरिएको छ।
प्रतिक्रिया दिनुहोस !