रुपन्देहीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
भैरहवा : रुपन्देहीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देही सूचना जारी गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू बिहान ७ देखि बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको हो।
चाडपर्वमा मनाउने नाममा कसैको इच्छाविरुद्ध क्रियाकलापहरू तथा समाजमा अशान्ति एवं अशोभनीय क्रियाकलाप नगरी स्वतन्त्र र खुसीयालीपूर्वक चाडपर्व मनाउन प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जारी गरेको सूचनामा पर्वमा जुवातास नखेल्न, पटक तथा आतसबाजी जस्ता विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, विक्रीवितरण र प्रयोग नगर्न उल्लेख छ।
कार्यालयले अखाद्य वस्तु, म्याद गुज्रिएको भाईमसला, प्लाष्टिकका फूलमाला आयात र प्रयोग नगर्नका साथै बिक्री वितरण नगर्न सचेत गराएको छ।
कसैले कानुन विपरीत कार्य गरेको पाइएमा कारबाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !