विपद् न्यूनीकरणका लागि कृत्रिम अभ्यास
नुवाकोट : विपद् न्यूनीकरणका लागि नुवाकोटको विदुरमा विपदजन्य कृत्रिम घटना अभ्यास गरिएको छ। सरोकारवालाहरू ले विपदको न्यूनीकरण, प्रभावकारिता र सचेतनाका सम्बन्धमा प्रयोगात्मक रूपमा कृत्रिम अभ्यास गरेका थिए।
जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा विपद् भूकम्प र आगलागी लगायतका विपद्का घटना हुँदा अपनाउनुपर्ने सुरक्षा सतर्कता र उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ। कार्यालयमा आएका सेवाग्राही, सरोकारवाला तथा सर्वसाधारणलाई विपद् जुनसुकै बेला आउन सक्ने भएका कारण यसको सचेतना, सुरक्षा तथा नियन्त्रणका सम्बन्धमा कृत्रिम घटना अभ्यास गराइएको थियो।
विपद् प्रतिकार्य पूर्वतयारी र जनचेतना अभिवृद्धिका लागि प्रहरी, सेना, सशस्त्र प्रहरी, रेडक्रस लगायतको समन्वयमा आयोजित कार्यक्रममा जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, सरकारी कार्यालय तथा सरोकारवाला संघ संस्थाहरू तथा सेवाग्राहीहरूको सहभागितामा उक्त कृत्रिम घटना अभ्यास गरिएको आयोजक जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।
उक्त कृत्रिम घटना अभ्यास कार्यक्रममा जो-कोहीको भान्सामा हुने सम्भावित आगलागी घटनाको नियन्त्रण र विपदपछिको प्राथमिक उपचारको कृत्रिम दृश्य तयार पारि कृत्रिम घटना अभ्यास गरिएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंले जानकारी दिए। उनका अनुसार उक्त कृत्रिम घटना अभ्यासमा सहभागी टोलीहरूले तत्काल उद्धार तथा राहत कार्यमा जुट्ने प्रक्रिया प्रदर्शन गरेका थिए।
कृत्रिम घटना अभ्यासमा विपदको समयमा घाइते व्यक्तिहरूको तत्काल खोज तथा उद्धार गर्ने, प्राथमिक उपचार गर्ने, सुरक्षित स्थानमा स्थानान्तरण गर्ने लगायतका महत्वपूर्ण सीप र प्रविधिहरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले विपदको घटना घटेको अवस्थामा गरिने समन्वय र कम क्षतिमा विपद् व्यवस्थापन, उद्धार, राहतको साथै त्रुटिरहित ढंगले व्यवस्थापनमा तालिम प्राप्त दक्ष जनशक्तिहरू लाई अद्यावधिक राख्न कृत्रिम घटना अभ्यास गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !