डायबिटिज छ ? आँखा पनि जँचाऔं, दृष्टि जोगाऔं

डायबिटिज छ ? आँखा पनि जँचाऔं, दृष्टि जोगाऔं

तपाईंलाई मधुमेह (डायबिटिज) भएको छ ? छ भने मधुमेह रोग विशेषज्ञमात्र होइन आँखा रोग विशेषज्ञ (अप्थाल्मोलोजिस्ट) सँग पनि आँखा जँचाउनु होस्। डायबिटिज भएका बिरामीले समयमै आँखा जँचाई उपचार नगर्दा दृष्टिविहीन हुने जोखिम बढ्छ।

अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक ९ जनामध्ये एकजनामा मधुमेह देखिने गरेको छ। र, सोका कारण डायबेटिक रेटिनोप्याथी अर्थात् मधुमेहका कारण आँखाको पर्दामा हुने समस्या/रोग हुने सम्भावना बढ्छ। जसको उपचार समयमा नभए व्यक्तिमा अन्धोपन निम्त्याउन सक्छ। तिलगंगा आँखा प्रतिष्ठानकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रबा थापाका अनुसार, डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लगाएर दृष्टिविहीन हुनबाट बँचाउन सकिन्छ। ‘सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ’ डा. थापा भन्छिन्, ‘मधुमेह (डायबिटिज) भएका व्यक्तिहरूले नियमित आँखा परीक्षण गराउनु एकदमै अत्यावश्यक छ।’

के हो डायबेटिक रेटिनाप्याथी ? 

डायबेटिक रेटिनोप्याथी विशेषज्ञ डा. थापाका अनुसार, डायबिटिजका कारण आँखाको पर्दामा देखा पर्ने असर नै डायबेटिक रेटिनोप्याथी हो। भित्री भाग नसाहरूले बनेको संवेदनशील भाग रेटिना (दृष्टि पर्दा) हुन्छ। ‘ रेटिनामा रक्तनसा र आँखाको दृष्टिनसा हुन्छन्। यहीँ रेटिनोमा डायबिटिजको असर पर्ने उच्च जोखिम हुन्छ,’ डा. थापा भन्छिन,‘ डायबिटिजको असरका कारण रक्तनसाबाट विस्तारै रक्तस्राव हुने, दृष्टिपर्दा सुन्निने र समयमै उपचार नगर्दा पर्दा उप्किने पनि हुने जोखिम हुन्छ।’ डायबेटिक रेटिनोप्याथीको जोखिम महिला पुरुष दुवैलाई उत्तिकै हुन्छ।

कसलाई हुन्छ, बढी जोखिम ? 

टाइप-१ र टाइप-२ डायबिटिज भएका दुवैलाई डायबेटिक रेटिनोप्याथीको जोखिम हुने विशेषज्ञहरू बताउँछन्। डा. थापाका अनुसार, शिशुदेखि ज्येष्ठ नागरिक जुनसुकै उमेरका व्यक्तिलाई पनि डायबिटिजका साथै डायबेटिक रेटिनोप्याथी हुन सक्छ। टाइप-१ डायबिटिज बालबालिकाहरूमा देखापर्छ भने टाइप-२ भएका डायबिटिज युवा र प्रौढ व्यक्तिमा बढी देखिन्छ। कुल डायबिटिज संख्याको ५ देखि १० प्रतिशत बालबालिकामा डायबिटिज-१ पाइएको छ। त्यस्तै झन्डै ९० प्रतिशत बिरामी टाइप-२ डायबिटिजबाट प्रभावित भएका छन्। डा. थापा भन्छिन्, ‘बुवाआमालाई डायबिटिज छ भने सन्तानमा पनि डायबिटिज देखिन सक्छ। त्यसैले बेलैमा सुगरका साथै आँखाको जाँच गराउनु पर्छ। यदि सुगर नियन्त्रणमा छैन भने डायबेटिक रेटिनाप्याथीको जोखिम झन् उच्च हुन्छ।’ सुगरको मात्रा उच्च भइसकेपछि आँखा जँचाउन गएकाहरूमध्ये झन्डै ५ प्रतिशतमा आँखा असर देखिसकेको पाइएको विज्ञहरू बताउँछन्।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका व्यक्तिहरू डायबेटिक रेटिनोप्याथीको जोखिममा पर्छन्। त्यस्तै उच्च कोलेस्टेरोल (हाइपरलिपिडेमिया) भएकाहरू, धूमपानका अम्मलीहरू, डायबिटिजका कारण मिर्गौला फेल भएका व्यक्तिहरू र रक्तअल्पता (ऐनिमिया) भएका व्यक्तिहरू पनि डायबेटिक रेटिनोप्याथीको उच्च जोखिम वर्गमा पर्छन्। गर्भवती अवस्थामा हुने मधुमेह र यसबाट हुन सक्ने डायबेटिक रेटिनोप्याथीको जोखिमबाट जोगिन नियमित आँखा परीक्षण गराउनुपर्ने विशेषज्ञहरूको सुझाव छ।

आँखा परीक्षण कहिले गर्ने ? 
डायबेटिक रेटिनोप्याथी हुनबाट जोगिनु भनेकै आँखाको समयमै परीक्षण हो। यदि डायबिटिज पहिचान भइसकेछ भने तुरुन्तै आँखा जाँच गराउनुपर्ने सुझाव डा. थापाको छ। त्यस्तै डायबिटिजका बिरामीहरू नियमित रूपमा हरेक वर्ष आँखाको जाँच गराउँदा पनि डायबेटिक रेटिनोप्याथी हुने जोखिम घटाउन सकिन्छ। ‘समयमै आँखा जाँच गराउँदा आँखामा डायबेटिक रेटिनोप्याथी छ कि छैन पत्ता लगाउन सकिन्छ। यदि डायबेटिक रेटिनोप्याथी छ भने कुन चरण (स्टेज)मा छ भन्ने थाहा पाउन सकिन्छ,’ डा. थापा भन्छिन्, ‘समयमै आँखा परीक्षण भयो भने मात्र डायबेटिक रेटिनोप्याथीबाट हुने दृष्टिविहीनताबाट बच्न सकिन्छ।’ यदि आँखामा डायबेटिक रेटिनोप्याथी देखिएको छैन भने पनि डायबिटिजका बिरामीले हरेक वर्ष आँखा जाँच गराउनुपर्ने सुझाव डा. थापाको छ। 

जोखिममा को ? 
 उच्च रक्तचापको औषधि सेवनकर्ताहरू
 उच्च कोलेस्टेरोल (हाइपरलिपिडेमिया) भएकाहरू
 धूमपानका अम्मलीहरू
 डायबिटिजका कारण मिर्गौला फेल भएकाहरू
 रक्तअल्पता (ऐनिमिया) भएका व्यक्तिहरू
 गर्भवतीहरू

डा. रबा थापा
बरिष्ठ नेत्र रोग विशेषज्ञ, 
तिलगंगा आँखा प्रतिष्ठान


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.