झरीले ३१ सय हेक्टरको धान नष्ट, साढे १८ करोडको धान नोक्सान
नुवाकोट : नुवाकोटमा अविरल झरीका कारण तीन हजार एकसय हेक्टरभन्दा बढी क्षेत्रफल खेतमा लगाएको धानबाली नष्ट भएको छ। जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अनुसार झरीले किसानहरूको साढे १८ करोडको धान नोक्सान भएको हो।
गत हप्ता पाँच दिनसम्म परेको अविरल झरीले काटेको तथा काट्न तयार भएको धान नष्ट गरेको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख केशव खनालका अनुसार ८६ दशमलव ७३ मेट्रिक टन धान नष्ट गरेको छ।
झरीले धान नष्ट हुँदा किसानहरूलाई कुल १८ करोड ४५ लाख ६४ हजार एकसय २४ रुपैयाँ बराबरको नोक्सान भएको प्रमुख कृषि विकास अधिकृत खनालले बताए। नुवाकोटमा १२ हजार सातसय ५३ हेक्टर जमिनमा यस वर्ष विभिन्न जातको धान रोपिएको थियो।
झरीले विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका, पञ्चकन्या, ककनी, लिखु र लिखु गाउँपालिकामा धेरै धानवाली क्षति पुर्याएको छ। यस्तै तादी, तारकेश्वर, सुर्यगढी, किस्पाङ, शिवपुरी र दुप्चेश्वर गाउँपालिकामा पनि क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस !