प्रसिद्ध दुप्चेश्वर पुगे लाखौं भक्तजन
नुवाकोट : पशुपतिनाथको पर्यायका रूपमा प्रसिद्ध नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा लाखौं सर्वसाधारणले दूधको धारा चढाएका छन्। निःसन्तानलाई सन्तान दिने जनविश्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य धार्मिक पर्यटकिय स्थल दुप्चेश्वरमा यस वर्ष लागेको मेलामा लाखौं भक्तजनहरुले सहभागिता जनाएका हुन्।
दुप्चेश्वरमा यस वर्ष साताव्यापी लागेको मेलाका अवसरमा एक लाख २५ हजार जनाभन्दा बढीले मेला भरेका छन्। मेलामा उत्साहपुर्वक रूपमा सर्वसाधारणले दुप्चेश्वर पुगेर पूजापाठसमेत गरेका हुन्।
साताव्यापी रुपमा लागेको मेलामा हजारौ निःसन्तान दम्पतीले सन्तान प्राप्तिको माग गरेका छन्। मेलामा देश तथा विदेशबाट समेत तीर्थालुहरुको सहभागिता रहेको थियो।
दुप्चेश्वर गाउँपालिका-६ मा रहेको दुप्चेश्वरमा बिहीबार गाईको दूधको धारा चढाउँदै सम्पन्न भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ। यस वर्ष मेलामा भक्तजनहरुको संख्या गत वर्षको भन्दा १५ प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ।
मेला भर्न नुवाकोटका साथै सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर लगायतका जिल्लाबाट भक्तजनहरु आएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !