जनप्रतिनिधि र कर्मचारी इमानदार भए समयमै विकास निर्माणका काम सम्पन्न हुन्छन् : राजेन्द्र लिङ्देन
झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनप्रतिनिधि र कर्मचारी इमानदार भए समयमै विकास निर्माणका काम सम्पन्न हुने बताएका छन्। झापाको हल्दिबारी गाउँपालिकाकाले निर्माण गरेको २ किलोमिटर ३३० मिटर कालोपत्रे सडकको बुधबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष लिङ्देनले भ्रष्टाचारमुक्त समाज निर्माणमा जनताको भोटबाट निर्वाचित सबै जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने बताए। उनले भने,ʻसबै काममा खानै पर्छ, चोर्नै पर्छ भन्ने कारणले हाम्रो देश बन्न नसकेको हो। भ्रष्टाचारमुक्त देश बनाउन हामी सबै लागि परे अबको १० वर्षमै देश पनि बन्छ र सबैले रोजगारी पनि पाउँछ।ʼ
हल्दीबारी गाउँपालिका र संघीय सरकारको संयुक्त लगानीमा २ करोड ६५ लाख ४३ हजार ३८९ रुपैयाँको लागतमा २ किलोमिटर ३३० मिटर कालोपत्रे र ३१० मिटर इन्टरलक सडक निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !