एमाले महाधिवेशन : ५ बजेसम्म ८०२ मत खस्यो, भोट हाल्न प्रतिनिधिहरूले दुई घन्टासम्म लगाउँदै
काठमाडौं : नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि मतदान जारी छ। केन्द्रीय निर्वाचन आयोगले साँझ ५:२ बजेसम्म ८०२ जनाले मतदान गरेको जानकारी दिएको छ।
भृकुटीमण्डपस्थित मतदानस्थलमा एक प्रतिनिधिले मत खसाल्न २ घन्टासम्म लगाउने गरेको आयोगले जनाएको छ। आयोगका अनुसार मतदान गर्न छिटोमा ९ मिनेट र ढिलोमा २ घन्टा ५ मिनेटसम्म समय लाग्ने गरेको छ। औसतमा भने ३० देखि ३५ मिनेट लाग्ने गरेको आयोगको भनाइ छ।
विहान ९ बजेदेखि सुरू भएको मतदान अबेर रातसम्म चल्नसक्ने आयोगले जनाएको छ। नसकुन्जेल मतदान जारी रहने भएकाले प्रतिनिधिहरूले राति ८ बजेभित्र मतदानस्थलमा रहेको हलभित्र प्रवेश गरिसक्नुपर्ने छ। ८ बजेभित्र मतदान गर्नका लागि टोकन लिनेलाई मात्रै भोटिङ गर्नका लागि मान्यता दिने आयोगले जनाएको छ। ८ बजेपछि आउने प्रतिनिधिहरूलाई टोकन नबाँडिने आयोगले जनाएको छ।
एमाले प्रचार प्रसार विभागका प्रमुख राजेन्द्र गौतमले ८ घन्टाभित्र मतदान सक्ने आकलन गरिए पनि समय धेरै लागिरहेको बताए। उनले प्राविधिक साक्षरताको कमीले मतदान गर्न घन्टौं लागिरहेको बताए।
उनका अनुसार १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६२२ जनाले उम्मेदवारी दिएका छन्। जारी महाधिवेशनमा २२६३ जना प्रतिनिधिहरू रहेका छन्। नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षका आकांक्षी छन् भने उनीहरू प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन्।
प्रतिक्रिया दिनुहोस !