१५ औं महाधिवेशनबाट म कांग्रेस सभापति बन्छु : गगन थापा
काठमाडौं :नेपाली कांग्रेस महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री थापाले आफू १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहने र सभापति बन्ने दावी गरेका हुन्।
महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिँदै उनले पार्टीलाई नयाँ बनाउने समय आएको पनि दावी गरे। महाधिवेशनका लागि जुनसुकै मूल्य चुकाउन आफू तयार रहेको र नेतृत्व परिवर्तन मात्र नभइ पार्टीमा नयाँपन ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे। महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने मात्रै नभइ पार्टीलाई नयाँ बनाउने उनले जिकिर गरे।
'पार्टी सभापतिलाई समयमै महाधिवेशन गर्नुपर्छ भनेर भनिरहेका छौं। यसमा आफू स्पष्ट रहेको छु। महाधिवेशन निर्वाचनअघि नै हुनुपर्छ, 'उनले भने,' १५ औं महाधिवेशनबाट म कांग्रेस सभापति बन्छु र बन्न चाहन्छु।'
उनले तोकिएकै समयमा महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताए। तोकिएको समयमा नियमित महाधिवेशन नभए देशभरिका प्रतिनिधिहरूले हस्ताक्षर गरेर माग अनुसारको विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने दावी गरे।
उनले भने,'देशभरिका साथीहरूले विशेष महाधिवेशन हुनुपर्छ भनेर आह्वान गर्नु भएको छ। अवरुद्ध गर्ने काम हुन्छ भने केही दिनभित्रमा देशभरिका साथीहरू आएर विशेष महाधिवेशन गराउन तर्फ लाग्ने अवस्था बन्छ। विशेष महाधिवेशनले भएपनि एउटा परिणाम निकाल्छ। किन भने यसको विकल्प छैन। हामी आफू अलमलिन सक्छौं तर, जनतालाई अलमल्याउन सक्दैनौं।'
त्यस्तै महामन्त्री थापाले संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुनुपर्ने र संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिए।
निर्वाचनपछि भ्रष्टाचार र कुशासन अन्त्यका साथै कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने उनको भनाइ छ । उनले निर्वाचनमा जाँदा यसअघि भएका कमजोरीप्रति जनतासमक्ष क्षमा माग्दै त्यसलाई नदोहराउने प्रतिवद्धता जनाउनुपर्ने बताए। अब पनि तोकिएको समयमा निर्वाचन हुन नसके देश अनिश्चिततातर्फ फर्कने उनले बताए।
प्रतिक्रिया दिनुहोस !