मुटु र फोक्सो बलियो बनाउन पनि फिजियोथेरापी चाहिन्छ
पछिल्लो समय मुटु र फोक्सोको समस्या भएका बिरामीहरू पनि फिजियोथेरापी उपचार सेवा लिन आउँछन्। यस खालको फिजियोथेरापीलाई कार्डियो पल्मोनरी फिजियो थेरापी भनिन्छ। फिजियोथेरापी गर्न आउने सामान्य अवस्थाहरू भनेको हार्ट फेलियर, हार्ट अट्याकपछि पुनःस्थापनाको लागि हो।
फिजियोथेरापी कस्तो उपचार पद्धति हो ?
फिजियोथेरापी एउटा उपचार पद्धति हो। यसमा औषधिको प्रयोग हुँदैन। चिरफार पनि गरिँदैन। समस्याको प्रकृति बुझेर उपचार गरिन्छ। शारीरिक व्यायाम, म्यानुअलथेरापी, तातोचिसोले सेकेर पनि उपचार गरिन्छ। विद्युतीय उपकरण जस्तै, टेन्स, अल्ट्रासाउन्ड, आदिको प्रयोग गरेर शरीरको दुखाइ कम गर्ने, शरीरको चालढाल सुधार गर्ने, मांसपेशी बलियो बनाउने, दैनिक कार्यक्षमता बढाउने गरिन्छ। दैनिक जीवनयापनमा समस्या भएकालाई विस्तारै सामान्य जीवनयापनमा फर्काउनको लागि फिजियोथेरापीको उपयोग गरिन्छ।
औषधिबिना नै गरिने फिजियोथेरापी कत्तिको प्रभावकारी छ ?
स्वास्थ्य समस्याको प्रकृतिले पनि फिजियोथेरापी उपचारको माग गर्न सक्छ। जस्तै ढाड तथा कम्मर दुखाइ, व्यायाम र बडी मेकानिकको प्रयोग गरी औषधि बिना पनि सुधार गर्न सकिन्छ। मांसपेशी असन्तुलन (मसल्स इम्ब्यालेन्स) को कारण छ भने मांसपेशी तन्काउने र बलियो बनाउन सकिन्छ। फोक्सोका कतिपय रोगहरू जीवनशैली र बाहिरी वातावरणसँग पनि सम्बन्धित हुन्छन्।
यस्तो अवस्थामा बिरामीले स्वयंले सम्भावित जोखिम नियन्त्रण गर्न वा परिवर्तन गर्न सक्छ। त्यसका लागि फिजियोथेरापी प्रभावकारी हुन सक्छ। त्यस्तै मोटोपना, रगतमा खराब चिल्लो पदार्थ (डिसलेपिडेमिया)को समस्या छ भने बिनाऔषधि पनि सुधार गर्न सकिन्छ। यसका लागि पनि फिजियोथेरापी प्रभावकारी मानिएको छ। तर, सजग हुनुपर्ने के हो भने शारीरिक क्षमतालाई ध्यान दिँदै कसरत गर्नु, गराउनु पर्छ। तर, कतिपय समस्यामा औषधि र फिजियोथेरापीलाई एकसाथ (सँगसँगै) पनि लैजानु पर्ने हुन्छ।
के कस्ता समस्या भएका बिरामीहरू उपचार गर्न आउँछन् ?
ढाड, कम्मर, गर्धनको दुखाइ, जोर्नी (कुम, कुहिना र घुँडा)को दुखाइको समस्या लिएर बिरामीहरू उपचार गर्न आउँछन्। त्यस्तै खेलकुदका क्रममा लागेको चोट (स्पोर्टस इन्ज्युअरी)का साथै पक्षघात, नसासम्बन्धी समस्याका बिरामी पनि उपचार सेवा लिन्छन्। तर, करिब ८० प्रतिशत बिरामी मांसपेशी, हाडजोर्नी सम्बन्धी समस्याका हुन्छन्। त्यसपछि न्युरोलोजिकल (नसासम्बन्धी) समस्या भएका बिरामीहरूको ठूलो हिस्सा छ। आजभोलि त मुटु, फोक्सोसम्बन्धी समस्या भएकाहरू पनि फिजियोथेरापी गर्न आउँछन्।
मुटु, फोक्सोका बिरामीलाई फिजियोथेरापी लाभदायक छ ?
पछिल्लो समय मुटु र फोक्सोको समस्या भएका बिरामीहरू पनि फिजियोथेरापी उपचार सेवा लिन आउँछन्। यस खालको फिजियोथेरापीलाई कार्डियो पल्मोनरी फिजियो थेरापी भनिन्छ।
फिजियोथेरापी गर्न आउने सामान्य अवस्थाहरू भनेको हार्ट फेलियर, हार्ट अट्याकपछि पुनस्र्थापनाको लागि हो। मुटुको अप्रेसन गरिसकेका र दम (सीओपीडी)का बिरामीले फिजियोथेरापी उपचार पद्धति अपनाउँछन्। त्यस्तै निमोनिया भएका व्यक्तिहरू पनि फिजिओथेरापी उपचार
अपनाउने गर्छन्।
मुटु रोग लागेका व्यक्तिलाई फिजियोथेरापी किन आवश्यक छ ?
मुटु, फोक्सोका बिरामीहरूलाई विभिन्न समस्याहरू देखा पर्छन्। जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो हुने, छिट्टै थाक्ने हुन्छ। जसले गर्दा सामान्य जीवनयापन गर्न पनि कठिनाइ भइरहेको हुन्छ। फिजियोथेरापीको माध्यमबाट मुटुको समस्या भएका व्यक्तिलाई मुटु पुनस्र्थापना (कार्डियाक रिहाविलिटेसन) र फोक्सोको समस्या भएका व्यक्तिलाई फोक्सोको पुनस्र्थापना (पल्मोनरी रिहाविलिटेसन) गराउने गरिन्छ।
अहिलेको जीवनशैली डिजिटलमय छ। मोबाइल र कम्प्युटरको प्रयोग अधिक छ। यसले पनि समस्या बढाएको छ ?
मोबाइल, कम्प्युटरको अत्यधिक प्रयोग गर्ने व्यक्तिलाई गर्दन, ढाड र कम्मर दुख्ने समस्या पाइएको छ। कुहिना र आंैलाका साथै आँखा र टाउको दुखाइको समस्या बढेको छ। शारीरिक परि श्रम नहुँदा कतिपयमा त वजन बढ्ने, मोटोपनाको समस्यासमेत थपिएको छ।
लामो समय मोबाइल चलाइरहँदा होस् वा टेबुल वर्क गर्दा होस। बसाइ र काम गराईको तौरतरिका नमिल्दा शारीरिक समस्याहरू देखिने गरेका छन् नि ?
लामो समयसम्म एउटै पोजमा रहेर मोबाइल हेरिरहने होऊन् वा एकै ठाउँमा लामो समयसम्म एउटै पोस्चरमा काम गर्नेहरूलाई समस्या
देखिने गरेको छ।
लामो समयसम्म कुर्सीमा बस्ने, टेबल वर्क गर्नेहरूमा समस्या देखिएको छ। टेबल वर्क गर्नेहरूले आफ्नो उचाइ एवं कुर्सी, टेबलको उचाइमा ध्यान दिनु पर्छ। यदि, व्यक्तिको उचाइअनुसारको कुर्सी, टेबल भएन भने त्यसले पोस्चरमा समस्या हुन्छ।
एकै ठाउँमा धेरै लामो समयसम्म बसेर काम गर्दा पनि समस्या हुन्छ। लामो समयसम्म एकै स्थानमा बसेर काम गर्नुपर्ने खालको पेसा छ भने छोटो अवधिको कसरत गर्नु उपयुक्त हुन्छ। गर्धन, कम्मर र घाँटीमा देखा पर्न सक्ने समस्यामा सर्ट ब्रेक एक्सरसाइज गर्दा लाभ पुग्छ।
आजभोलि विद्युतीय मेसिन खरिद गरेर घरमै राख्ने र अभ्यास गर्ने चलन पनि छ नि ?
हो, यो प्रचलन बढेको छ। तर, बुझ्नुपर्ने कुरा के हो भने मेसिनको प्रयोग मात्र फिजियोथेरापी होइन। मेसिनको प्रयोगले लक्षणलाई कम गर्न सक्छ। तर, कारणलाई कम गर्न सकिँदैन। उचित फिजियोथेरापी परीक्षण गरेर समस्याको कारण के हो ? त्यो पत्ता लगाउनु पर्छ। त्यसपछि मात्र मेसिन आवश्यक छ /छैन भन्ने कुराको निष्कर्ष निकाल्न सकिन्छ। जथाभावी मेसिनको प्रयोगले शरीरलाई नकारात्मक असर पुर्याउन सक्छ।
फिजियोथेरापिस्टले कुन प्रक्रियाबाट बिरामीको समस्याको पहिचान गर्छन् ?
फिजियोथेरापिस्टले समस्याको जाँच गरी मूल्यांकन गर्छन्। त्यसपछि विश्लेषण गरी समस्याको पहिचान गर्छन्। यो पनि समस्याको प्रकारअनुसार हुन्छ। जस्तै मांसपेशीको समस्या छ भने त्यहीअनुसारको जाँच गर्ने, मूल्यांकन गर्ने र समस्याको विश्लेषण गरी पहिचान गरिन्छ।
बालबालिका तथा महिलाको स्वास्थ्य समस्या र हाड तथा स्नायुको समस्या, रक्तनली, फोक्सोको समस्यामा विभिन्न किसिमले जाँच, मूल्यांकन र विश्लेषण गरिन्छ। समस्या कति जटिल र कुन अवस्थाको हो भन्ने पत्ता लगाइन्छ। त्यहीअनुसारको उपचार पद्धतिका रूपमा फिजियोथेरापी छनोट गर्न सकिन्छ। उपचार पद्धतिमा पनि केही समस्याका लागि विद्युतीय उपकरणको प्रयोग गर्नुपर्ने हुन्छ। कतिपय समस्याको लागि त तातोचिसोको प्रयोग पनि गरिन्छ। कुनै समस्यामा म्यानुपुलेसन आवश्यक हुन सक्छ। कसैलाई सामान्य कसरत त कसैलाई श्वासप्रश्वासको कसरत गराउनुपर्ने हुन्छ। आवश्यकताको आधारमा गर्नु पर्छ।
फिजियोथेरापीमा सेसनको निर्धारण कसरी गरिन्छ ?
समस्याको किसिम, जटिलतालगायतका कुराले पनि सेसन निर्धारण गर्छ। एक सेसन कतिसम्म चल्छ यकिनका साथ अहिले भन्न सकिँदैन। जस्तै सामान्य मांसपेशीको दुखाइ छ भने पाँच/सात सेसनमै पनि ठीक हुन सक्छ। तर, कसरतको निरन्तरता पनि आवश्यक पर्छ। पक्षघात (स्ट्रोक) को लागि धेरै सेसनको आवश्यकता पर्न सक्छ। कार्डियो पल्मोनरीको लागि पनि जटिलताअनुसार तीनदेखि पाँच महिना लाग्न सक्छ।
तपाईं नेपाल फिजियोथेरापी संघको अध्यक्ष पनि हुनुहुन्छ। नेपालमा कति फिजियोथेरापिस्ट हुनुहुन्छ। र, बिदेसिने क्रम कस्तो छ ?
नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी)मा करिब २५ सय फिजियोथेरापिस्ट (प्रवीणता प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्म) दर्ता भए ता पनि करिब दुई तिहाइ फिजियोथेरापिस्ट बिदेसिइसकेका छन्। एक तिहाइविज्ञ जनशक्ति मात्र स्वदेशमा छन्। त्यसमा पनि धेरैजसो सहरकेन्द्रित छन्।
सेवा शुल्कमा एकरूपता छ ?
फिजियोथेरापी सेवा उपलब्ध गराइने ठाउँ र बिरामीको स्वास्थ्य अवस्थाअनुसार उपलब्ध गराइने सेवा फरकफरक हुन्छन्। त्यसैले सेवाअनुसार शुल्क पनि फरकफरक हुन सक्छ। उदाहरणको लागि मांसपेशी तथा हाडजोर्नीमा समस्या भएको बिरामीलाई फिजियोथेरापी सेवा न्यून शुल्क लाग्न सक्छ।
पुनस्र्थापनाको लागि गराइने फिजियोथेरापीको शुल्क अलि बढी हुन सक्छ। सेवा उपलब्ध गराउँदा कति जना फिजियोथेरापिस्टको सहभागिता छ र र कस्ता विद्युतीय उपकरणको प्रयोग गरिएको छ भन्ने कुराले पनि फिजियोथेरापीको शुल्क निर्धारण गर्छ। समग्रमा भन्नुपर्दा फिजियोथेरापीको सेवा शुल्कमा एकरूपता नै देखिन्छ।
फिजियोथेरापीको बारेमा अझै पनि भ्रमहरू पनि छन् नि ?
हो, हाम्रो नेपाली समाजमा फिजियोथेरापीको सम्बन्धमा गलत धारणा (मिथ)हरू छन्। फिजियोथेरापी भनेको मालिस (मसाज) हो भन्ने भ्रम रहेको छ। त्यस्तै फिजियोथेरापी र अरू बजारमा चलिआएका योगाहरू एकै हुन् भन्ने भ्रम छ।
फिजियोथेरापी र योगा एकै हुन् भन्ने मिथ छ। घरमा गरिने दैनिक क्रियाकलाप र कसरत एकै हुन र फिजियोथेरापी केवल हड्डी भाँचिएपछि र पक्षघात भएपछि मात्र आवश्यक पर्छ भन्ने बुझाइ छ। जुन भ्रमपूर्ण छ। दुखाइ कम भए पछि कसरत बन्द गर्न सकिन्छ र विद्युतीय उपकरण बिना फिजियोथेरापी असम्भव छ भन्ने भ्रम छ। मुटु र फोक्सोको बिरामीले व्यायाम गर्दा हानि पुर्याउँछ भन्ने भ्रम छ। त्यस्तै फिजियोथेरापी आवश्यक होइन वैकल्पिक हो भन्ने मिथ समाजमा अझैं पनि छ।
वास्तवमा फिजियोथेरापी उपचार पद्धतिको लागि उचित समय, निरन्तरता र धैर्यको आवश्यकता पर्दछ। मांसपेशी होस वा कम्मर दुखाइ होस्। सबैको दुखाइ वा समस्या फरकफरक हुन सक्छ। सबै व्यक्तिमा देखिने समस्या वा दुखाइको कारण भिन्नाभिन्नै हुने भएकोले एउटामा लागू गरिएको कसरत अर्कोलाई उपयुक्त नहुन सक्छ। त्यसैले फिजियोथेरापिस्टको परामर्श लिनु जरुरी हुन्छ।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !