पूर्वप्रधानमन्त्री डाक्टर भट्टराई गोरखा २ बाट उम्मेदवारी दिने
गोरखा : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने नबन्ने बारे अन्यौलमा रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा २ बाट उम्मेदवार बन्ने निष्कर्षमा पुगेका छन्। भट्टराईले आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
गोरखा २ अन्तर्गत छेपेटारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्ताको दबाबपछि उम्मेदवार घोषणा गरेका सो पार्टीका जिल्ला संयोजक यानप्रसाद भट्टराईले जानकारी दिए। ‘आज छेपेटारमा अगुवा कार्यकर्ता भेला थियो। त्यहाँ सहभागी कार्यकर्ताले चुनावमा उठ्नुपर्छ भनेर चर्को दबाब दिएपछि उहाँ(भट्टराई)ले उठ्ने मानसिकता बनाउनुभयो’, भट्टले भने, ‘त्यसपछि उहाँले उठ्ने नै घोषणा गर्नुभयो। अब सोमबार बिहान जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुहुनेछ।’
डाक्टर भट्टराई तत्कालीन माओवादी केन्द्रबाट २०६४ को संविधानसभा निर्वाचनमा गोरखा–२ बाट र २०७० मा गोरखा–१ बाट निर्वाचित भई संविधासभा सदस्य बनेका थिए भने २०७४ सालमा कांग्रेससँग गठबन्धन गरी तत्कालीन नयाँ शक्तिबाट गोरखा–२ बाटै विजयी बनेका थिए। २०७९ को निर्वाचनमा भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि सो क्षेत्र खालि गरेका थिए।
प्रतिक्रिया दिनुहोस !