प्रतिनिधिसभा सदस्य निर्वाचन
गोरखामा पुराना नेतालाई नयाँको चुनौति, बाबुराम भट्टराईले जोगाउलान् त आफ्नै विरासत ?
गोरखा : जिताएर पठाएका जनप्रतिनिधि प्रधानमन्त्री तथा उपप्रधानमन्त्री भइरहने गोरखा जिल्लाका दुवै क्षेत्रको निर्वाचनलाई यसपटक भने देशभरबाटै चासोका साथ हेरिएको छ । यसअघिका निर्वाचनमा यहाँबाट जितेर गएका डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल 'प्रचण्ड',नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री तथा उपप्रधानमन्त्री भइसकेकाले यहाँको निर्वाचनलाई यसपटक पनि चासोका साथ हेरिएको हो ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. भट्टराई, जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुधन गुरुङ र विवादै विवादका कारण चर्चित चक्रे मिलन,रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले चुनाव लड्ने भएकाले गोरखाले सबैको ध्यान तानेको हो।
२०६४ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री भट्टराईले तत्कालीन माओवादीबाट देशकै सर्वाधिक मत ४६ हजार २७२ मत र सर्वाधिक मतान्तरले विजय भएका थिए । उनका निकटत्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रप्रसाद न्यौपानेले जम्मा ६ हजार १७१ मत मात्र प्राप्त गरेका थिए । २०७० सालको चुनावमा उनी गोरखा क्षेत्र नं. १ बाट २२ हजार ८२४ मत प्राप्त गरी निर्वाचित भएका थिए भने २०७४ सालमा नेपाली कांग्रेससँग तालमेल गरी क्षेत्र नं. २ बाट ३१ हजार ८०७ मत प्राप्त गरी विजयी भएका थिए ।
विगतका तीनवटा चुनावलाई हेर्दा ‘अजेय’ बिरासत बोकेका डाक्टर भट्टराईलाई यो चुनाव भने सहज छैन । एकातिर अहिले उनी माओवादी पार्टीमा छैनन् । २०७२ सालमै सो पार्टी छाडेर विभिन्न पार्टी गठन गर्दै अहिले प्रगतिशिल लोकतान्त्रिक पार्टीमा आवद्ध छन् । अर्कातिर यो चुनावमा उनको कसैसँग पनि तालमेल पनि छैन । त्यसैले अहिले उनी त्यो विरासत जोगाउन सक्ने, नसक्ने सर्वत्र चर्चा छ ।
उनीसँग प्रतिस्पर्धामा छन् नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी। जसले २०७४ को प्रदेश सभा चुनावमा माओवादी र एमाले तालमेल गर्दा पनि गठबन्धनका उम्मेदवारलाई पछि पार्दै विजयी बनेका थिए । अर्का प्रतिस्पर्धी आफ्नै पुरानो पार्टी माओवादी(हाल नेकपा)का लेखनाथ न्यौपाने । वौद्धिक जगतमा राम्रै ख्याति कमाएका न्यौपानेको मताधार पनि गोरखा २ मा दह्रो छ ।
अर्का प्रतिस्पर्धी छन्, उदीयमान पार्टी रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी। जसले गत २०७९ को निर्वाचनमा प्रचण्डसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला कांग्रेससँग गठबन्धन गरेका प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका थिए भने बिना गठबन्धन बुर्लाकोटी एक्लैले १२ हजार ६३९ मत प्राप्त गरेका थिए ।
डाक्टर भट्टराईका अर्का प्रतिस्पर्धी हुन्,विभिन्न कारणले चर्चा कमाएका मिलन गुरुङ(चक्रे मिलन)। गोरखा २ मा गुरुङ समुदायको बाहुल्यता छ । विवादित छवि भए पनि गुरुङ समुदायका उम्मेदवार भएका कारण मिलनले यसपटक गुरुङ समुदायको मत प्राप्त गर्ने हुँदा कडा टक्कर दिने सम्भावना देखिन्छ ।
त्यस्तै जेनजी विद्रोहका कारण चर्चित रहेका सुधन गुरुङ यसपटक गोरखा १ बाट रास्वपाका उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनको नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी र एमालेका उम्मेदवारहरूसँग कडा चुनावी टक्कर हुँदैछ ।
यस क्षेत्रमा कुनैबेला कांग्रेस,कुनै बेला माओवादीले बाजी मार्दै आएका थिए । गत निर्वाचनमा दुई ठूला पार्टी कांग्रेस र माओवादी गठबन्धन गर्दा कांग्रेसका राजेन्द्र बजगाईँले ३३ हजार ४२८ प्राप्त गरी विजयी भएका थिए । एक्लै चुनाव लडेको एमालेका उम्मेदवार रामशरण बस्नेत एक्लैले १६ हजार ७८५ मत प्राप्त गरेका थिए ।
पहिलो पटक चुनावी मैदानमा आएका रास्वपाका उम्मेदवार सुवर्ण रोकायाले भने जम्मा ४ हजार ८९२ मत प्राप्त गरेका थिए । तर अहिले देशभर जेनजीको सहानुभूति र समर्थन पाएका कारण रास्वपाले मत बढाउने निश्चित प्राय छ। अर्कातिर जेनजी आन्दोलनपछि विभिन्न घटनाक्रमका कारण सुधनले चर्चा कमाएका छन् ।
उनले कांग्रेसका प्रेम खत्री,माओवादी(हाल नेकपा)का हरिराज अधिकारी र एमालेका आरसी लामिछानेसँग प्रतिस्पर्धा गर्दैछन् । यो उनको पहिलो चुनावी अनुभव हो तापनि उनको अरु पुराना पार्टीसँग कडा चुनावी प्रतिस्पर्धा हुने देखिन्छ। त्यसैले गोरखाको दुवै क्षेत्रको निर्वाचनलाई देशभरबाट चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस !