पश्चिम बंगालमा निपाह भाइरस, पूर्वी नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता

पश्चिम बंगालमा निपाह भाइरस, पूर्वी नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता
सुन्नुहोस्

झापा : छिमेकी राष्ट्र भारतको पश्चिम बंगालमा प्राणघातक रोग निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै पूर्वी नेपालको सीमा उच्च सतर्कता अपनाइएको छ। कोशी सरकारको स्वास्थ्य मन्त्रालयले पूर्वी नेपालको मोरङको रानी, झापाको काँकडभिट्टा, भद्रपुर र इलामको पशुपतिनगर सीमा नाकामा पूर्वतयारीसहित उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सोही बमोजिम स्वास्थ्य कार्यालय झापाले निपाह भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि जिल्ला प्रशासन कार्यालय झापामा आइतबार छलफल गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षमा बसेको बैठकले जिल्लाका सीमा नाका काँकडभिट्टा र भद्रपुरमा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको छ। 

सोही हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले भारतबाट नेपाल प्रवेश गर्ने शङ्कास्पद व्यक्तिहरूको स्क्रिनिङ गरी ज्वरो नाप्ने वा अन्य लक्षण देखिएमा त्यस्ता बिरामीहरूलाई सुरक्षित साथ आफ्नो घरमा पठाउने तथा जटिल समस्या देखिएमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा पठाउने निर्णय भएको प्रजिअ गेलालले बताए। साथै निपाह भाइरस संक्रमण बारे सचेतना मूलक कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य कार्यालय र स्थानीय पालिकाहरूलाई जानकारी गराइसकेको उनले बताए। 

पश्चिम बंगालको नर्थ चौबिस परगना र बेलाघाटमा एक साताभित्र पाँच जना स्वास्थ्यकर्मीमा निपाह भाइरसको संक्रमण देखा परेको छ। नर्थ चौबिस परगनामा एक पुरुष र एक महिला नर्समा यो संक्रमण देखा परेको हो। उनीहरू दुवै जना त्यहीको बारासात हस्पिटलको आइसियुमा भर्ना छन्। बेलाघाटमा एक डाक्टर, एक नर्स र एक स्वास्थ्यकर्मीमा संक्रमण देखा परेकोले करिब १०० भन्दा बढी व्यक्तिलाई होम क्वारेनटाइन गरिएको छ। संक्रमण फैलिन नदिन पश्चिम बंगाल सरकारले राज्यभर उच्च सतर्कता अपनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। 

पश्चिम बंगालमा निपाह भाइरस देखा परेसँगै काँकडभिट्टा–पानीटंकी सीमा नाकामा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ। मेचीनगर नगरपालिका र स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा सीमा क्षेत्रमा चेतनामूलक फ्ल्याक्स बोर्ड राखेका छन्। निपाह भाइरस कसरी फैलिन्छ ? मानिसबाट मानिसमा कसरी सर्ने ? आफूलाई कसरी सुरक्षित राख्ने ? वा समयमै पहिचान र रोकथामले जीवन बचाउनेलगायतका चेतनामूलक सन्देश बोर्डमा राखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए। 

भद्रपुर सीमा नाकामा हेल्थ डेस्क स्थापना गर्नुका साथै चेतनामूलक फ्ल्याक्स बोर्ड राखिने भद्रपुरका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए। सीमा नाकामा निपाह भाइरसको लक्षण देखा परेका बिरामीहरूका लागि अस्पतालमा छुट्टै बेड तत्काल नरहेको र त्यस्ता बिरामीहरूको लागि पुरानो भवनमा आइसोलेसन बनाउनु पर्ने अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले बताए। यसको लागि आवश्यक जनशक्ति पनि चाहिने उनको भनाई छ। निपाह भाइरस मानिस र जनावर दुवैमा सर्ने अत्यन्तै खतरनाक रोग हो। यसले विशेषगरी मस्तिष्कको सुजन र गम्भीर श्वासप्रश्वास समस्या गराउन सक्छ।

यो संक्रमण फलफूल खाने चमेरा, संक्रमित सुँगुर वा अन्य जनावरबाट,  संक्रमित व्यक्तिसँग नजिक सम्पर्क गरेमा र चमेराले खाएको/दूषित फल वा काँचो खजुरको रसबाट सर्छ। यो रोग लाग्ने लक्षणहरू ज्वरो आउनु, टाउको दुख्नु, बान्ता, चक्कर, सास फेर्न गाह्रो र अत्यधिक अवस्थामा होस गुम्ने, दौरा, कोमा जाने हुन सक्छ। यो रोगको हालसम्म खोप वा अन्य कुनै प्रकारको औषधि उपचार नभएको स्वास्थ्य कार्यालयका युवनाथ बरालले जानकारी दिए। यसको स्वाब जाँचको नमुना पनि काठमाडौँ पठाउनु पर्ने हुन्छ। नेपालमा अहिलेसम्म निपाह भाइरसका पुष्टि भएका संक्रमित व्यक्ति नभेटिएको उनको भनाई छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.