काठमाडौं : लामो समयसम्म मानिसको आयु कति लामो हुन्छ भन्ने कुरा उनीहरूको जीवनशैली र वातावरणले निर्धारण गर्छ भन्ने विश्वास रहँदै आएको थियो । तर नयाँ अध्ययनले मानिस कति वर्ष बाँच्ने भन्नेमा जीनहरूको भूमिका अझ ठूलो हुने देखाएको छ ।
मानिसको आयुमा देखिने फरकपनमध्ये ५० प्रतिशत बढी हिस्सा आनुवंशिक कारणले निर्धारण हुन्छ भन्ने कुरा वैज्ञानिकहरूको अनुसन्धानले देखाएको छ । जुन अघिल्ला अनुमानभन्दा झण्डै दोब्बर हो । यद्यपि, यो निष्कर्ष धेरै मानिसहरूले आफ्नो परिवारको इतिहास वा नियमित स्वास्थ्य परीक्षणका क्रममा सुन्ने कुरासँग मेल खान सक्छ ।
‘यो कुनै आश्चर्यजनक कुरा होइन’, स्ट्यानफोर्ड लोन्जेभिटी सेन्टरकी सह–निर्देशक डा. डेबोरा काडोले भनिन् । जो यस अध्ययनमा संलग्न थिइनन् । उनका अनुसार अधिकांश गुणहरू प्रकृति (जीन) र वातावरण (जीवन शैली) दुवैको प्रभावबाट बन्ने गर्छन्, तर आयु भने प्रायः वातावरणले निर्धारण गर्छ भन्ने सोंच थियो ।
साइन्स जर्नलमा प्रकाशित यस अध्ययनले आयु पनि कोलेस्ट्रोल स्तर वा हड्डी कमजोर हुने जोखिम जस्ता जटिल गुणहरू जस्तै हो भन्ने देखाउँछ–जसमा धेरै जीनहरू संलग्न हुन्छन् र जीवन शैलीले पनि ठूलो प्रभाव पार्छ ।
अघिल्ला अध्ययनहरू १९औं शताब्दीभन्दा अगाडि जन्मिएका मानिसहरूको तथ्यांकमा आधारित थिए । ती समयमा धेरै मानिसहरू खोप, औषधि, सरसफाइ र सुरक्षा नियमहरूको अभावमा संक्रामक रोग वा दुर्घटनाबाट कम उमेरमै मृत्यु हुन्थे । यी कारणहरूले गर्दा जीनको प्रभाव ओझेलमा परेको थियो । अध्ययनका प्रमुख लेखक उरी एलोनका अनुसार, जब यस्ता बाह्य कारणहरू हटाइयो, तब ‘जीनहरूको वास्तविक प्रभाव स्पष्ट रूपमा देखिन थाल्यो ।’
‘मानिसहरू सोंच्थे कि जीनहरू खासै महत्वपूर्ण छैनन्’, इजरायलको वाइसम्यान इन्स्टिच्युट अफ साइन्समा जीवनकाल अध्ययन गर्ने एलोनले भने । ‘तर वास्तवमा हाम्रो आयु केही हदसम्म जीनमै निर्धारण भएको हुन्छ ।’ तर जीनले सबै कुरा निर्धारण गर्दैनन् ।
यदि जीवनको ५५ प्रतिशत जीनले निर्धारण गर्छ भने बाँकी ४५ प्रतिशत भाग हाम्रो हातमा हुन्छ । एलोनका अनुसार, त्यसमा केही भाग भाग्य हो र केही हाम्रो निर्णय । व्यायाम, स्वस्थ आहार र सामाजिक सम्बन्ध जस्ता जीवन शैलीका छनोटहरूले जीनले निर्धारण गरेको आयुमा करिब ५ वर्षसम्मको फरक पार्न सक्छन् । ‘जीन अन्तिम फैसला होइन’, उनले भने ।
उदाहरणका लागि, जीनका आधारमा ८० वर्ष बाँच्ने व्यक्ति स्वस्थ जीवनशैली अपनाएमा ८५ वर्षसम्म बाँच्न सक्छ, तर अस्वस्थ बानीले त्यही आयु ७५ वर्षमा झार्न सक्छ । ‘तर यदि तपाईंको जीनले ८० वर्ष मात्र निर्धारण गरेको छ भने स्वस्थ बानीले तपाईंलाई १०० वर्ष पुर्याउन सक्दैन’, एलोनले स्पष्ट पारेका छन् । डा. काडोका अनुसार, दीर्घायु बनाउने दाबी गर्ने उत्पादनहरू समाधान होइनन् । व्यायाम, स्वस्थ खाना र सामाजिक सम्बन्ध नै दीर्घ जीवनका मुख्य आधार हुन् ।
के–के हुन् आयु निर्धारण गर्ने जीनहरू ?
केही जीनहरू बुढ्यौलीका लागि लाभदायक वा हानिकारक पहिचान भए पनि, आयु जस्ता गुणहरू धेरै जटिल हुन्छन् । तर भविष्यमा जीनबारे थप जानकारी प्राप्त भएमा, आयु घटाउने जैविक प्रक्रियालाई लक्षित गरेर औषधि विकास गर्न सकिने एलोनको विश्वास छ । ‘यदि तपाईंलाई जीन थाहा छ भने प्रक्रिया थाहा हुन्छ, प्रक्रिया थाहा भयो भने हस्तक्षेप गर्न सकिन्छ’, उनले भने । यद्यपि, यस्तो भविष्य अझै दशकौं टाढा छ । हालसम्म कुनै पनि परीक्षणले मानिसको आनुवंशिक आयु ठ्याक्कै बताउन सक्दैन ।
स्वास्थ्य महत्वपूर्ण कि आयु ?
जोन्स हप्किन्स विश्वविद्यालयका बुढ्यौलीविज्ञ ड्यान आर्किङका अनुसार, यो अध्ययनले अर्को महत्वपूर्ण प्रश्न उठाउँछ–लामो जीवन कि स्वस्थ जीवन ? ‘यदि तपाईं लामो समयसम्म स्वस्थ रहन सक्नु हुन्छ भने, त्यसको ठूलो मूल्य हुन्छ’, उनले भने । अस्वस्थ अवस्थामा धेरै वर्ष बाँच्नु उपयोगी नहुन सक्छ।
अस्टियोपोरोसिस जस्ता उमेरसँग सम्बन्धित रोगको जोखिम घटाउन सकियो भने स्वस्थ जीवनका वर्षहरू बढ्न सक्छन् । तर कुल आयु बढाउनु निकै कठिन छ । अहिलेसम्म मानिसको अधिकतम आयु १२२ वर्षभन्दा बढी पुगेको छैन ।
एलोन पनि आयुभन्दा जीवनको गुणस्तर महत्वपूर्ण मान्छन् । पछिल्लो १५० वर्षमा औसत आयु दोब्बर भए पनि अधिकतम आयु लगभग उस्तै रहेको उनी बताउँछन् । सय वर्ष नाघेका मानिसहरूको मृत्यु दर पछिल्लो ३० वर्षमा सुधारिएको छैन । ‘यो ५० प्रतिशत प्रकृति र ५० प्रतिशत पालनपोषण हो’, उनले भने । ‘हामी यो अवधारणासँग परिचित छौं र अब हामीलाई थाहा भएको छ कि दीर्घायु पनि यही नियममा पर्छ ।’
प्रतिक्रिया दिनुहोस !