विदेशमा रहेकालाई भर्चुअल माध्यमबाट भोट माग्दै
गोरखा : चुनाव नजिकिँदै गर्दा विभिन्न पार्टीका उम्मेदवार, नेता, कार्यकर्ताहरू भोट माग्न गाउँबस्ती चहारिरहेका छन्। मतदाताको घर दैलो पुगिरहेका छन्। तर गाउँघरमा पहिलेजस्तो खचाखच मतदाता भेटिएका छैनन्। न त मतदाता पनि उम्मेदवार भेट्न लालयित छन्।
ग्रामीण भेगका अधिकांश युवाहरू वैदेशिक रोजगारीमा गएका छन्। उनीहरूका आफन्त स्थायी तथा अस्थायी बसाइँसराइ गरी सहर झरेका छन्। अधिकांश गाउँहरूमा वृद्धवृद्धामात्र बाँकी छन्। गाउँ प्रायशः सुनसान छन्।
गाउँबस्तीको बदलिँदो परिवेशमा उम्मेदवार, नेता कार्यकर्ताहरूले भोट माग्न पनि नयाँ तौरतरिका अपनाउन थालेका छन्। सबै पार्टीका उम्मेदवारले काठमाडौंमा सचिवालय स्थापना गरी सचिवालयबाटै विदेशमा र देशका ठूला सहरहरूमा रहेका मतदातासँग भर्चुअल माध्यमबाट भोट मागिरहेका छन्।
‘गाउँका मान्छे गाउँमा भन्दा विदेशमा र सहरमा धेरै छन्। बदलिँदो परिवेशमा पुरानै तरिकाले मात्र भोट मागेर सम्भव छैन’, नेपाली कम्युुनिस्ट पार्टीका गोरखा १ का चुनाव प्रसारप्रसार संयोजक परशुराम रम्तेल भन्छन्, ‘त्यसैले हाम्रो पार्टीका दुवै क्षेत्रका उम्मेदवारहरू र चितवनमा बसोबास गर्ने गोरखाका मतदाताहरूसँग आजै भेटघाट कार्यक्रम सम्पन्न भयो।’ चितवनको बसेनीस्थित एक पार्टी प्यालेसमा मतदातासँग भेटघाट कार्यक्रम गरेको उनको भनाइ छ। विभिन्न सम्पर्क मञ्च, सम्पर्क समितिहरूको समन्वयमा यसअघि काठमाडौंमा बस्ने गोरखा १ का मतदातासँग पनि भेटघाट कार्यक्रम गरिसकेको उनको भनाइ छ।
नेपाली कांग्रेसका गोरखा १ र २ का उम्मेदवारहरूले पनि काठमाडौंमा बसोबास गर्ने आ–आफ्ना क्षेत्रका मतदातासँग भेटघाट कार्यक्रम गरिसकेका छन्। ‘काठमाडौंमा धेरै मतदाता रहेकाले दुवै क्षेत्रका उम्मेदवारको काठमाडौंमा सचिवालय नै खोलेर प्रचारप्रसार गरेका छन्’, थापाले भने, ‘काठमाडौं बस्ने मतदाताहरूसँग पहिलो चरणको भेटघाट कार्यक्रम सक्किसकेको छ। फेरि फागुन २ गते काठमाडौंका मतदातासँग भेटघाट कार्यक्रम छ। पोखरामा रहनुभएका मतदातासँग यही माघको २३ गते भेटघाट र प्रचारप्रसार कार्यक्रम छ।’
पार्टीका विद्यार्थी संगठन, समन्वय समिति, सम्पर्क समितिहरूको सहयोगमा काठमाडौं, चितवन, पोखरामा भेटघाट गरी भोट माग्ने कार्यक्रम भइरहेको थापाले जानकारी दिए।
नेकपा एमालेले पनि काठमाडौं, पोखरा र चितवनका मतदातासँग भोट माग्ने कार्यक्रम गरिरहेको क्षेत्र नं. २ का इन्चार्ज बाबुराम थापाको भनाइ छ। ‘काठमाडौंमा सम्पर्क मञ्च, सम्पर्क कमिटी, सम्पर्क विभागहरू छन्। उनीहरूलाई उतै भोट माग्न भ्याइनभ्याइ छ’, थापा भन्छन्, ‘चुनावका बेला त्यहाँका मतदाता कसरी ल्याउने लाने भन्ने व्यवस्था पनि मिलाइरहेका छन्।’
पछिल्लो समय उदीयमान राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गाउँबस्ती र सहरकेन्द्रित प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ। ‘हाम्रो पार्टीको विशेषगरी काठमाडौं, चितवन र पोखरामा सम्पर्क विभाग छन्, सम्पर्क समिति छ’, जिल्ला सचिव मिलन राना भन्छन्, ‘विभाग र सम्पर्क समितिले काठमाडौंमा गत १९ गते पहिलो चरणको भेटघाट र भोट माग्ने काम सम्पन्न गरिसकेको छ। चितवनमा बसोबास गर्ने मतदातासँग पनि दुवै उम्मेदवारले यही माघ २४ गते भेटघाट गर्ने कार्यक्रम छ।’
गाउँका मतदाता गोरखा बजारमा पनि रहेकाले गोरखा बजारमा पनि भेटघाट कार्यक्रम राखिएको उनले बताए। सचिवालयले सामाजिक सञ्चाल तथा वैकल्पिक मिडियाको प्रयोग गरी देश, विदेशमा रहेका मतदातासँग भोट माग्ने, प्रचारप्रसार गर्ने कामलाई तीव्रता दिएको पार्टीहरूले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !