बाल मृत्युदर घट्यो

बाल मृत्युदर घट्यो
सांकेतिक तस्बिर
सुन्नुहोस्

काठमाडौं : पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर (बाल मृत्युदर) घटेको छ। गर्भावस्थादेखिको नियमित स्वास्थ्य जाँच, खोप एवं पोषण सेवा र बाल स्वास्थ्य उपचारको सहज पहुँचलगायतका कारणले बाल मृत्युदर घटेको हो। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ को नतिजाअनुसार, पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर (बाल मृत्युदर) प्रति १ हजार जीवित जन्मेका बालबालिकामा ३१ जना रहेको छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा पनि बाल मृत्युदर घटेको थियो। 
सन् १९६६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा १ सय १८ को मृत्यु हुने गरेकामा बाल मृत्युदर घटेर ३३ जनाको मात्र मृत्यु हुने गरेको उल्लेख थियो। बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार प्रति १ हजार जन्ममा सबैभन्दा बढी पाँच वर्षमुनिका बालबालिकाको बाल मृत्युदर ४८ जना सुदूरपश्चिम प्रदेशमा रहेको छ। सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको देखिन्छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गर्भावस्थामा स्वास्थ्य जाँचका साथै खोप, पोषण र बाल स्वास्थ्य जाँच एवं उपचारको सहज व्यवस्थाका कारण बाल मृत्युदर घट्दो क्रममा रहेको छ। ‘सामाजिक परिवेश पनि परिवर्तन भएको छ। 

परिवारका सदस्यले पनि गर्भवती र शिशुको स्याहारसुसारमा ध्यान दिन थालेका छन्। महिला साक्षरता पनि बढेको छ,’ प्रवक्ता डा. बुढाथोकी भन्छन्, ‘गर्भावस्थादेखि नै स्वास्थ्य जाँच र शिशुलाई खोप लगाउने गरिन्छ। त्यस्तै बिरामी भइहाले पनि नजिकैको स्थानीय स्वास्थ्य संस्थामा उपचारको व्यवस्था भएकाले बाल मृत्युदर घटेको हो।’ 

सरकारले स्थानीय तहका सबै वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र सबै स्थानीय तहमा आधारभूत सेवा उपलब्ध गराउने अस्पताल स्थापना भएकोले पनि उपचार सहज भएको छ। प्रति १ हजार जीवित जन्मेका नवजात शिशुमध्ये एक महिना उमेर नपुग्दै १७ जना नवजात शिशुको मृत्यु हुने गरेको बहुसूचक सर्वेक्षण २०८१÷८२ मा उल्लेख छ। नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छ । सुदूरपश्चिम प्रदेशमा १ हजार जन्ममा २६ जनाको मृत्यु भएको पाइएको छ। शिशु मृत्युदर सबैभन्दा कम बागमती प्रदेशमा छ। 

बागमती प्रदेशमा १ हजार नवजात शिशुमध्ये १० जना रहेको छ। प्रति १ हजार जन्ममा सबैभन्दा बढी शिशु मृत्युदर ३८ जना सुदूरपश्चिम क्षेत्रमा छ। सबैभन्दा कम बागमती प्रदेशमा १७ जना रहेको देखिन्छ। यसअघिको स्वास्थ्य सर्वेक्षणमा सुदूरपश्चिम प्रदेशमा १ हजारमा ४९ बालबालिकाको मृत्यु हुने गरेको सर्वेक्षणमा उल्लेख छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बुढाथोकी बालमृत्युदर घट्दो क्रममा रहे पनि अझै धेरै कार्य गर्नुपर्ने खाँचो रहेको बताउँछन्। ‘बालबालिकालाई मृत्यु गराउन सक्ने रोगविरुद्ध दिइने खोपले पनि बाल मृत्युदर घटाएको छ,’ डा. बुढाथोकी भन्छन्, ‘बाल मृत्युदर घटेको छ। यसमा सन्तुष्ट छैनौं। बाल मृत्युदरलाई शून्यमा झार्नुपर्ने जरुरी छ।’

सरकारले बालमृत्यु घटाउन र सम्भावित रोगको जोखिमबाट बचाउन निःशुल्क खोपको व्यवस्था गरेको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत हाल नेपालमा १५ महिनासम्मका शिशुहरू र गर्भवती महिलाका लागि १३ प्रकारको खोप निःशुल्क प्रदान गरिँदै आएको छ। वार्षिक करिब ६ लाख बालबालिकालाई विभिन्न संक्रामक रोगहरूविरुद्ध खोप व्यवस्था गरिएको छ। 

खासगरी जन्मनेबित्तिकै क्षयरोगविरुद्धको बीसीजीका साथै भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोकोकस र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप लगाइन्छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत शिशु जन्मिएदेखि १५ महिनामुनिका बालबालिकाले यी सम्पूर्ण खोप लगाउनुपर्छ। शिशुलाई धनुष्टंकार र भ्यागुतेरोबाट बचाउन गर्भवती महिलालाई टिटानस र डिप्थेरिया (टीडी) खोप समेत दिइन्छ। 

त्यस्तै, सरकारले गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिनलगायतका कार्यक्रम सञ्चालन गरेको छ। यी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०८२/८३का लागि १३ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.