रेडियो अन्नपूर्ण नेपालले मनायो विश्व रेडियो दिवस
काठमाडौं : आज विश्व रेडियो दिवस। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी मनाइएको छ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो। सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फेब्रुअरी १३ मा दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा अन्नपूर्ण मिडिया नेटवर्कले पनि रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जको ब्यानरमा शुभकामना आदानप्रदान गरेको छ।
अन्नपूर्ण मिडिया नेटवर्कको मुख्यालय तिनकुनेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो अन्नपूर्णको विगतको यात्रा र आगामी दिनका चुनौतीबारे समीक्षा गरिएको छ। रेडियो अन्नपूर्ण नेपालका समाचार प्रमुख भूपाल लुइटेलले दिवसको शुभकामना दिँदै रेडियोले उपलब्ध स्रोतसाधनको प्रयोग गरेर लाभ लिन नसकेकोमा चिन्ता व्यक्त गरे।
अन्नपूर्ण मिडिया ग्रुपका ग्रुप सिइओ पंकज बाँस्कोटाले समय अनुकुल कार्यक्रम उत्पादन र प्रसारण हुनुपर्ने र त्यसका लागि चाँडै प्रविधिसँगै जनशक्ति वृद्धि गरिने विश्वास दिलाए। अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेतले सबैको हातहातमा रेडियो पुगेको भन्दै अबको समयमा रेडियो अन्नपूर्ण नेपाल पनि सशक्त बनेर जाने विश्वास व्यक्त गरे।
त्यस्तै महाप्रबन्धक मनोज बस्नेत रेडियोलाई डिजिटल प्लेटफर्ममा जोड्न गरेको पहल केही समय रोकिएको भए पनि त्यसलाई पुनः सुरु गर्नुपर्ने बताए। शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो अन्नपूर्णका डेक्स सम्पादक पुष्कर खतिवडाले रेडियोमा भएका समस्यालाई उजागर गर्दै त्यसको समाधान गर्न रेडियोकर्मी र व्यवस्थापनबीच गम्भीर छलफल हुनुपर्ने बताए।
अन्नपूर्ण दैनिकका राजनीतिक व्युरो प्रमुख सुरेन्द्र काफ्लेले रेडियोको चलन डेढ दशक अघिसम्म रहेको चर्चा गर्दै विगत र अहिले रेडियोमा आएको फरकपनमा अनुभव सुनाए। विपत्तिका बेला तथा ग्रामीण क्षेत्रका सर्वसाधारणको हकमा रेडियो हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस !