नेमकिपाले भन्यो : मन्त्री बन्न चुनाव लड्ने होइन
जन्मका आधारमा विदेशीलाई दिइएको नेपाली नागरिकता खारेज गर्नुपर्ने र कृषिप्रधान देशमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने माग पनि नेमकिपाले दोहोर्याएको छ।
भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधिसभा निर्वाचन घोषणापत्र २०८२ सार्वजनिक गरेको छ। पार्टीले आइतबार पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो। पार्टी अध्यक्ष नारायणमान बिजुक्छे रोहितलगायतले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।
‘देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान सफल बनाऔं, मादल चिह्नमा छाप लगाऔं’, निर्वाचनको मुख्य नारा रहेको कार्यक्रममा जनाइएको छ। सम्मेलनमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचनको मुख्य काम र केन्द्र प्रधानमन्त्री बन्नु नरहेको बताए।
ठूला दलहरूले अहिले निर्वाचनलाई प्रधानमन्त्री बन्ने मुख्य नारा बनाएको भन्दै दुःख व्यक्त गरे। नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले निर्वाचनपछिको प्रधानमन्त्री घोषणा गरेको भन्दै यसले पदको लागि राजनीति गरेको प्रस्ट भएको बताए।
पार्टीले देश र जनताको निःस्वार्थ सेवाका लागि समाजवादी प्रचार अभियानलाई थप सशक्त बनाउँदै निर्वाचनलाई राजनीतिक शिक्षाको महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्ने बताएको छ।
२०३१ साल माघ १० गते स्थापना भएको नेमकिपाले स्थापनाकालदेखि नै किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा तथा साम्राज्यवाद विरोधी आन्दोलनको नेतृत्व गर्दै आएको दाबी गरेको छ। पछिल्ला ३५ वर्षमा पालैपालो सरकारमा गएका दलहरूले जनताका समस्या समाधान गर्न नसकेको र मुलुक सम्भावित दुर्घटनाबाट जोगिन नसकेको टिप्पणी गर्दै पार्टीले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाएको छ।
पार्टीका अनुसार निर्वाचन आमूल परिवर्तनको संकेत दिने ‘ब्यारोमिटर’ भए पनि केवल निर्वाचनमार्फत समाजवाद स्थापना सम्भव छैन। नेमकिपाले ‘क्रान्तिकारी संसद्वाद’लाई व्यवहारमा लागू गर्दै आएको बताउँदै संसद्लाई देशको नीति–निर्माण, बजेट, ऐन तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामाथि छलफल र निर्णय गर्ने बौद्धिक थलोका रूपमा व्याख्या गरेको छ।
नेमकिपाले २०४८ सालदेखि संसद्मा देश र जनताको हितमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आएको दाबी गरेको छ। यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १२० जना उम्मेदवार उठाएको छ, जसमध्ये ५४ जना (४५ प्रतिशत) महिला छन्। समानुपातिकतर्फ १०९ जना उम्मेदवारमध्ये ५८ जना (५३ प्रतिशत) महिला रहेको पार्टीले जनाएको छ। पार्टीले संविधानलाई साध्य नभई साधनका रूपमा व्याख्या गर्दै विखण्डनकारी शक्तिको अनुकूल बन्न नदिनुपर्ने धारणा राखेको छ। जन्मका आधारमा विदेशीलाई दिइएको नेपाली नागरिकता खारेज गर्नुपर्ने र कृषिप्रधान देशमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने माग पनि नेमकिपाले दोहोर्याएको छ।
यो निर्वाचन पनि पुँजीवादी स्वरूपकै रहेको उल्लेख गर्दै पार्टीले पद, पैसा र सत्ताको दुरुपयोग हुन सक्ने चेतावनी दिएको छ। निर्वाचनबाटै सुशासन र लोकतन्त्रको पूर्ण सुनिश्चितता हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै नेमकिपाले आफ्नो पक्षमा धेरै मत आउनु आमूल परिवर्तनतर्फ परिस्थिति परिपक्व हुँदै गएको संकेत हुने दाबी गरेको छ।
मजदुर, किसान, युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, कर्मचारी, सुरक्षाकर्मी, उद्योगी–व्यापारी, लेखक–कलाकारलगायत सम्पूर्ण देशभक्त नागरिकलाई मतपत्रको प्रत्यक्ष र समानुपातिक दुवैमा ‘मादल’ चिह्नमा छाप लगाई आफ्ना उम्मेदवारलाई विजयी गराउन पार्टीले हार्दिक अनुरोध गरेको छ।
पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं १ का उम्मेदबार प्रेम सुवाल, पार्टी निकटका नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय अध्यक्ष अनुराधा थापामगर एवं पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंलगायतले निर्वाचन घोषणापत्रबारे चर्चा गरे।
प्रतिक्रिया दिनुहोस !