बसको ठक्करबाट ९५ वर्षीय वृद्धाको मृत्यु
गोरखा : गोरखाको दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु भएको छ। गोरखा नगरपालिका- १२ स्थित दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्कर दिँदा सोही ठाउँका ९५ वर्षीय सुकमाया लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले वृद्धालाई ठक्कर दिँदा दाहिने खुट्टामा गम्भीर चोट लागेको लामाको उपचारको क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले बताए। प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !