डिजेको बहानामा राजनीति, अशान्त बन्दै रौतहट
रौतहट : विवाहमा गएका हिन्दू समुदायको जन्ती र मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम समुदायबीच विवादबाट सुरु भएको घटनालाई राजनीतिक रूप दिन खोजिएको देखिन्छ।
गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा बेलुकी ४ बजे दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी भुसालले ६ बुँदे सहमति गरेको बताए पनि शनिबार बिहानदेखि विवाद सुरु भई झडप र आगजनी सुरु भएको थियो। झडप हुँदा ६ जना घाइते भएका छन्। प्रहरीतर्फ पनि दुई जना घाइते भएका छन् । प्रदर्शनकारीले भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडीमा आगजनी गरेका छन् भने दर्जनांै मोटरसाइकल तोडफोड भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले बताए।
दुई पक्षबीच ६ बुँदे सहमति
गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच ६ बुँदे सहमति भएको छ । रौतहटको गौर नगरपालिका ६ सवगढाका गाउँवासीका बीचमा परम्परादेखि हाम्रा पूर्खाले कायम गरेको सामाजिक–धार्मिक सद्भावको मूल्य मान्यता र ६ गते भएको सर्वपक्षीय सहमतिको अक्षरश पालना गर्दै सार्वजनिक शान्ति कायम राख्न सहमति भएको प्रहरीको भनाई छ।
धार्मिक सामाजिक–सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्नुपूर्व आपसी संवाद तथा छलफल गरी सौहार्दता कायम गर्दै गाउँको धार्मिक सामाजिक क्रियाकलाप सञ्चालन गर्ने सहमति भएको थियोे।
गाउँमा विवाहको वा अन्य चाडपर्व तथा रमजानको समय रहेको हुँदा एक समुदायले अर्को समुदायको चाडपर्व वा संस्कृतिको सम्मान गर्ने र सहयोग गर्ने, यस विषयमा कसैले अवरोध गरेमा वा धार्मिक सामाजिक सद्भाव बिथोल्ने कार्य गरेमा वा गर्ने प्रयास गरेमा प्रहरी प्रशासनलाई सूचना दिई त्यस्तो कार्य गर्नेलाइ कानुनी दायरामा ल्याउन गाउँबासीले सहयोग गर्ने सहमति भएको भए पनि शनिबार बिहानैदेखि सो क्षेत्रमा तनाव बढेको थियो। सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्ने र कानुनको उल्लंघन गर्ने वा त्यस्तो गर्न उक्साउने जो कोहीलाई पनि कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रशासनको चेतावनी बाबजुद शनिबार गौरको अवस्था असामान्य हुदै कफ्र्युसम्म पुग्यो।
उत्पन्न तनावमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न तनावमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका रौतहट जिल्ला संयोजक शेख जमशेद र वडाध्यक्ष अवध विहारीप्रसाद साह तेली रहेका छन् । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको र सोधपुछ गरिरहेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए । पक्राउ परेका शेख जमशेद पूर्ववडाध्यक्ष हुन भने अवध बिहारी वडाध्यक्ष हुन्।
बिहीबार साँझ विवाद उत्पन्न भएको थियो । उक्त विवादले हिंसात्मक रूप लिएको थियो । शुक्रबार दिनभर झडप चलेपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराएको थियो । तर शनिबार बिहानबाटै पुनः सवगढामै दुई पक्षबीच झडप भयो । दुई पक्षबीच भएको झडपका क्रममा १० जना सामान्य घाइते भएको, २० जना व्यक्ति पक्राउ परेको र ७ मोटरसाइकल र १ थान जिप आगजनीबाट नष्ट भएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले ५० सेलभन्दा बढी अश्रुग्यास प्रहार गर्नु परेको भने दर्जनौं राउन्ड हवाई फायर गरेको थियो । जिल्ला सुरक्षा समिति निर्णयअनुसार प्रशासनले पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय चार किल्ला ताकेर प्रमुख जिल्ला अधिकारी दिनेश सागरले फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेका छन् ।
रौतहट सदरमुकाम गौर–६ को सवगढा गाउँमा भएको आगजनी र झडपको घटना रोक्न स्थानीय प्रशासनले तीन वटै सुरक्षा निकाय परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !