नगरपालिकामा मेयर र प्रमुख प्रशासकीयबीच खटपट
रौतहट : रौतहटको गरुडा नगरपालिकामा नगरप्रमुख कन्थमणि प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृत नीलम न्यौपानेबीच खटपट सुरु भएको छ। आर्थिक मसान्तमा आएर उनीहरूबीच खटपट सुरु भएपछि पालिकाको विकास निर्माण कार्यदेखि अन्य भुक्तानी प्रभावित भएको छ।
जसको कारण काम सम्पन्न गरेर भुक्तानी लिनुपर्ने उपभोक्ता समितिहरूलाई समस्या सिर्जना भएको छ। नगर नेतृत्व र प्रशासनिक नेतृत्व बीचको बढ्दो विवादले विकास निर्माणका काम तथा अन्य सेवा प्रवाह प्रभावित भएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
नगर क्षेत्रका सार्वजनिक स्थल तथा चिया पसलहरूमा समेत नगरपालिकाभित्रको शक्ति संघर्ष चर्चाको विषय बन्न थालेको छ। स्थानीय सञ्जय चौधरीका अनुसार नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच लामो समयदेखि बढ्दै आएको असमझदारी पछिल्लो समय थप सतहमा आएको हो।
नगरप्रमुख जयसवाल पक्षले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आवश्यक समन्वय नगरेको तथा प्रशासनिक काममा अवरोध सिर्जना गरेको आरोप लगाउने गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने आफूले कानुन र नियमविपरीतका निर्णयमा सहमति नजनाएपछि आफ्नो विरुद्ध वातावरण बनाउने प्रयास भइरहेको दाबी गरेका छन्।
स्थानीय तहभित्रको यो विवादका कारण केही कार्यपालिका सदस्यहरू समेत दुई धारमा विभाजित भएको चर्चा छ। यसले निर्णय प्रक्रिया, योजना कार्यान्वयन तथा प्रशासनिक कामकारबाहीमा असर पर्न सक्ने देखिएको छ।
स्थानीय राजनीतिक वृत्तमा नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको सरुवा वा परिवर्तनका लागि दबाब सिर्जना गर्न खोजेको चर्चा चलिरहेका बेला अर्को पक्षबाट नगरपालिकाका विगतका आर्थिक गतिविधिबारे समेत प्रश्न उठाउन थालिएको बताइन्छ। यद्यपि, दुवै पक्षले एकअर्कामाथि लगाइएका आरोपहरू औपचारिक रूपमा पुष्टि भएका छैनन्।
प्रतिक्रिया दिनुहोस !