सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
काठमाडौं : सरकारले देशैभरिका महिला तथा बालिकाहरूको सार्वजनिक आवागमनलाई सुरक्षित, सहज र सम्मानजनक बनाउने उद्देश्यले सातवटै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको १०० दिने विशेष कार्यसूचीअन्तर्गत यो महत्त्वाकांक्षी परियोजनालाई उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा काम गरिरहेको जनाएको छ ।
परियोजनाको पहिलो चरणअन्तर्गत आगामी १०० दिनभित्र मुलुकभर कम्तीमा २५ वटा सुविधासम्पन्न ‘ब्लु बस’ सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यस योजनाअनुरूप काठमाडौं उपत्यकामा साझा यातायातसँगको प्राविधिक तथा व्यवस्थापकीय सहकार्यमा कम्तीमा सातवटा बसलाई ‘ब्लु बस’का रूपमा गुडाइनेछ ।
उपत्यकाबाहिरका सातै प्रदेशमा भने स्थानीय यातायात व्यवसायी संघहरूसँग समन्वय गरी थप १८ वटा बसहरू सञ्चालनका लागि आवश्यक प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुर्याइएको मन्त्रालयका प्रवक्ता रामहरि पोखरेल बताउँछन् । उनी भन्छन्, ‘सार्वजनिक सवारी साधनहरूमा महिला, बालिका तथा विद्यार्थीहरूले भोग्नुपरिरहेको असुरक्षा र दुव्र्यवहारको अन्त्य गर्न यो सेवा कोसेढुंगा साबित हुनेछ । हामीले पहिलो चरणमा २५ वटा बसबाट सुरु गरे पनि आगामी आर्थिक वर्षको बजेटमार्फत यसलाई सातै प्रदेशका मुख्य सहरहरूमा व्यापक रूपमा विस्तार गर्ने रणनीति तय गरेका छौं ।’
मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, विस्तृत समय सारिणी, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारीसहितको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ । उक्त प्रस्तावको आधारमा मन्त्रालयले प्राविधिक र कानुनी पक्षको अध्ययन गरिरहेको छ भने सेवा सञ्चालनका विभिन्न विकल्पहरू समेटिएको अन्तिम प्रस्ताव स्वीकृतिका लागि मन्त्रीस्तरीय निर्णयमा पेस भइसकेको छ ।
‘ब्लु बस’ सँगै अन्य सार्वजनिक सवारी साधनलाई समेत प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउन नयाँ मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रियामा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस !