कैदीको उपचारका क्रममा मृत्यु
विराटनगर : विराटनगर महानगरपालिका–८ हाटखोलास्थित मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदीको मृत्यु भएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ७० वर्षीय रामप्रसाद दाहालको गएराति मृत्यु भएको हो।
जिल्ला कारागार मोरङका प्रशासक राजन घिमिरेका अनुसार दाहाललाई शनिबार बिहान एक्कासि चक्कर लाग्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो। स्वास्थ्य अवस्था बिग्रिएपछि बिहान करिब ११:३० बजे उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगेर भर्ना गरिएको थियो।
अस्पतालमा उपचार भइरहेकै अवस्थामा आइतबार बिहानका राति करिब २ बजेतिर उनको मृत्यु भएको जानकारी घिमिरेले दिए। दाहाल बिरामी परेपछि कारागार प्रशासनले परिवार र आफन्तलाई तत्काल खबर गरेको थियो। आफन्तको उपस्थितिमै उपचार जारी रहे पनि उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ। ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका दाहाल २०७५ साल पुस ६ गतेदेखि कारागारमा रहेका थिए। सुरुमा पुर्पक्षका लागि कारागार चलान गरिएका उनलाई पछि जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै १६ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। अदालतको फैसलाअनुसार उनले २०९१ साल पुस ६ गतेसम्म कैद सजाय भुक्तान गर्नुपर्ने थियो। तर, सजाय अवधि समाप्त हुन अझै करिब साढे आठ वर्ष बाँकी रहेकै अवस्थामा उनको मृत्यु भएको हो।
दाहालले हालसम्म करिब साढे सात वर्ष कारागारमा बिताइसकेका थिए। हाल दाहालको शव कोशी अस्पतालमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ।
जिल्ला कारागार मोरङमा अहिले १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन्। तीमध्ये १ हजार ९७ पुरुष, १ सय १० महिला तथा एक जना आश्रित बालिका रहेको जानकारी कारागारले दिएको छ।
प्रतिक्रिया दिनुहोस !