सुरक्षाकर्मी तैनाथ ठाउँ छेउकै लालबकैया नदीमा रोकिएन दोहन
रौतहट : रौतहटको फतुवा बिजयपुर, गुजरा नगरपालिका अन्तर्गत पर्ने लाल बकैयामा नदीजन्य पदार्थको दोहन रोकिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कमाण्ड नदी नजिकै भए पनि निर्वाध रुपमा नदिजन्य पदार्थको दोहन बढ्दै गएको स्थानीय बताउँछन् ।
जिल्लाको पश्चिमी क्षेत्रमा बग्ने लालबकैया नदी टेन्डर लागेर प्रक्रियामा गएको भए पनि असार महिनामा बन्द हुनु पर्नेमा उल्टै अवैध दोहनको चपेटामा परेको छ । कानुनी रूपमा टेण्डर प्रक्रिया नै पूरा नभएको अवस्थामा पनि सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारेर नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्याक्टर नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा ढुवानी भईरहेको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार यो काम सामान्य चोरीझैं लुकेर नभई प्रहरी, केही जनप्रतिनिधि र तस्करबीचको कथित ‘सेटिङ’ मै खुलेआम भइरहेको छ । गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्रका जंगलसहिया, सिमरी, राँगी र बोटावा घाटमा एकाबिहानैदेखि राति अबेरसम्म नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको विजयपुरका स्थानीय समाजसेवी शिवपुजन यादव बताउँछन् । टेण्डर बिनाको उत्खननलाई नेपालको कानुनले पूर्णरूपमा निषेध गरे पनि व्यवहारमा भने नदी दोहन नियन्त्रण बाहिर गएको छ ।
इलाका प्रहरी कार्यालय बिजयपुरमा प्रतिट्याक्टर मासिक ४ हजार, सशस्त्र बेस क्याम्प बिजयपुरमा मासिक ४ हजार रुपैयाँ तस्करले नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी बापत दिने गरेको आरोप यादवले लगाए । प्रहरी चौकी हरिनगर जंगलसैया र अस्थायी बेस क्याम्प पोखरभिन्डामा मासिक २ हजार प्रति ट्याक्टर दिएर निर्वाध रुपमा नदीजन्य पदार्थको ढुवानी भईरहेको उनले दाबी गरेका छन् ।
रोचक के छ भने अबैध काम गर्न अबैध बाटोकै प्रयोग हुनुले रौतहट प्रशासनलाई झनै दबाबमा धकेलिदिएको छ । नदी दोहनबाट आर्थिक लाभ लिन पल्केका नदी तस्करहरुले टिपरमा ढुवानी गर्दा प्रतिटिपर ५०० रुपैयाँ प्रहरीले लिने गरेको समाजसेवी शिवपुजन यादवले बताए । दैनिक सयौ ट्याक्टर गिटी, बालुवा ढुवानी भईरहेको छ ।
आर्थिक वर्षको अन्तिम महिना परेकाले स्थानीय तह तथा प्रदेशको बजेटमा विकास निर्माणको काम गर्ने भएकाले पनि अहिले गिटी बालुवाको ढुवानी तीब्र पारिएको छ । नदीबाट दैनिक फतुवा बिजयपुर, मौलापुर, गुजरा, कटहरिया नगरपालिकालगायतका क्षेत्रमा नदीजन्य पदार्थ ढुवानी भईरहेको सहजै देख्न पाइन्छ । नदी दोहन नियन्त्रण गर्न फतुवा बिजयपुर नगरपालिकामा पटक–पटक ज्ञापन पत्र बुझाएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी दिएको र अन्तिममा प्रधानमन्त्रीको कार्यालयमा समेत मेलमार्फत उजुरी दिएको तर हालसम्म कुनै निकायबाट पहल नभएको समाजसेवी यादवले दुःख ब्यक्त गरेका छन् ।
फतुवा विजयपुर नगरपालिकामा नदी ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भएपछि टेण्डर प्रक्रिया अलपत्र परेको छ । कार्यवाहक मेयर अम्बेया खातुनले हालसम्म नयाँ प्रक्रिया अघि बढाउन सकेकी छैनन् । यता, गुजरामा पनि पछिल्लो दुई वर्षदेखि टेण्डर नखुल्दा नदी ‘खुला कमाइको स्रोत’ बनेको स्थानीयको आरोप छ ।
स्थानीयवासीका अनुसार केही जनप्रतिनिधि स्वयंले आफ्नै ट्याक्टर प्रयोग गरेर उत्खनन्मा संलग्न रहेको तथा केहीले तस्करसँग आर्थिक लाभ लिएर मौन समर्थन गरिरहेको अवस्था छ । नदी संरक्षण र राजस्व व्यवस्थापन गर्ने निकाय नै विवादमा मुछिँदा अवैध कारोबारी निर्वाद रुपमा दिन रात दोहनमा सक्रिय छन् । प्रहरीलाई रकम बुझाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै नदीजन्य पदार्थ बोकेका ट्याक्टर निर्वाध रूपमा ओहोरदोहोर गर्ने गरेको कटहरिया १ भसेढवाका स्थानीय मैनुदिन अन्सारीले बताए ।
नदी अनुगमन तथा नियन्त्रणको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिमाथि समेत निष्क्रिय बनेको आरोप लागेको छ । समन्वय समितिका सभापति राम अयोध्या यादव नेपाली कांग्रेस पार्टी समर्थित रहेको र जिल्लामा अधिकांश अबैध क्रसर उद्योग काँग्रेस पार्टीकै नेताहरुको रहेकाले बेवास्ता गर्दै आएको स्थानीयको भनाई रहेको छ ।
सभापति यादवले आरोप गलत भएको बताउँदै बेला बेलामा अनुगमन तथा नियन्त्रण को प्रयास गरिएको दाबी गरेका छन् । नेपालमा लागू रहेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधित) अनुसार सामान्यतया प्रत्येक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदी तथा खोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा आदि) उत्खनन गर्न पाइँदैन । यो प्रतिबन्ध मनसुनको समयमा नदीमा पानीको बहाव बढ्ने, कटान हुने, नदीको धार परिवर्तन हुने तथा वातावरणीय क्षति रोक्नका लागि गरिएको हो ।
तर आज असार ७ गते हुँदा पनि लालबकैया नदीको उत्खनन तथा नदीजन्य पदार्थको ढुवानी भने जारी नै रहेको छ । इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले आरोपको खण्डन गर्दै दुई पटक दुई–दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना गराईसकेको बताएका छन् । दिनभरी नदीकै रखवाली गर्नु सम्भव नभएको बताउँदै उनले नेपाल प्रहरीको अरु धेरै काम भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै सशस्त्र प्रहरी बेस क्याम्प बिजयपुरका प्रमुख इन्स्पेक्टर काजीराम श्रेष्ठसँग सम्पर्क हुन सकेन ।
प्रतिक्रिया दिनुहोस !