भाइरल ज्वरोले मुगुको नर्खजी गाउँ थला, ४ सय बढी बिरामी

भाइरल ज्वरोले मुगुको नर्खजी गाउँ थला, ४ सय बढी बिरामी
एक साता देखि फैलिएको भाईरल ज्वरोका बिरामीहरु र चेकजाँच गर्दै स्वास्थ्यकर्मीहरु
सुन्नुहोस्

मुगु : जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा एक सातादेखि फैलिएको भाइरल ज्वरोले पुरै गाउँ थला परेको छ। ज्वरोका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी परेका छन् भने संक्रमितको संख्या ४ सय नाघेको स्थानीयले बताएका छन्।

स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चार बस्तीमा तीव्र रूपमा फैलिएको हो। अहिले करिब ४ सय जना बिरामी छन्। स्वास्थ्य संस्थामा र जनशक्ति  र औषधी दुवै अभावमा छ। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टरसहितको टोली गाउँ पुगे पनि रोग पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। टोली १२ गते फर्किसकेको छ भने अहिले एक जना स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचार गरिरहेका छन्।

नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। “गाउँपालिकालाई जानकारी गराइसकेका छौं। औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ। स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्र बाँकी रहेको र आफूसहित एक जना मात्रै स्वास्थ्यकर्मी हुँदा बिरामी दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपरेकाले समयमै सेवा दिन कठिनाइ भएको उनले बताए।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले गाउँ पुगेर करिब ३ सय बिरामीको परीक्षण गरेको जानकारी दिए। ज्वरोका कारण बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित छन्। औषधि अभाव छ। ५० जनालाई खोप लगाइएको छ,उनले भने। आफू पनि ज्वरोबाट प्रभावित भएपछि दुई दिनअघि टोली फर्किनुपरेको बताउँदै उनले समयमै औषधि र जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने बताए। विशेषगरी दीर्घरोगी बिरामीका लागि जोखिम बढ्न सक्ने उनको भनाइ छ।  उपचारका लागी गएका स्वास्थ्यकर्मीका अनुसार ज्वरो नर्खजी गाउँमै सीमित नरही छिमेकी बस्तीमा समेत फैलिने जोखिम रहेको छ।

उता,गाउँमा ज्वरोको प्रकोप बढिरहँदा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू भोट माग्न शिक्षा र स्वास्थ्यका नारा लिएर गाउँमा पुगिरहेका छन्। तर औषधि र जनशक्ति अभाव समाधानका लागि ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेव बिर्ख रावलका अनुसार पहिलो चरणमा उपलब्ध औषधि पठाइसकिएको छ। बिरामी संख्या बढेकाले औषधि अभाव भएको हो। दोस्रो चरणका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट गाउँपालिकाको एम्बुलेन्समार्फत ल्याउने तयारी भइरहेको छ,।

जिल्ला अस्पताललाई पनि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका  मौखिक रुपमा आग्रह गरिएको भएपनी सकारात्मक जवाफ नआएको सिअहेव रावलले बताए। यसबारे जिल्ला अस्पताल मुगुका प्रमुख डा.निर्मल नगरकोटीले गाउँपालिकाबाट औपचारिक माग आएपछि उपलब्ध औषधि पठाउन सकिने बताएका छन्। साथै भाइरल ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले त्यहाँबाटै टोली परिचालन गरिएको उनले जानकारी दिए।

समयमै प्रभावकारी उपचार,पर्याप्त औषधि र स्वास्थ्यकर्मीको व्यवस्थापन नभए नर्खजी गाउँमा फैलिएको भाइरल ज्वरोले थप जटिल रूप लिन सक्ने र फागुन २१ गते हुने निर्बाचनमा समेत यसले प्रभाव पार्न सक्ने स्थानीयको चिन्ता छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.