निर्वाचन गराउन ५ दिन पैदलयात्रा
गोरखा : उत्तरी गोरखाको भोटखोलाका मतदान केन्द्रमा निर्वाचन गराउन जाने कर्मचारी तथा सुरक्षाकर्मीहरु कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन्। हिमालपारिको चुमनुब्री गाउँपालिकाका १७ मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी त्यसतर्फ प्रस्थान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
‘१७ जना मतदान अधिकृत, अरु कर्मचारी र सुरक्षाकर्मीहरु निर्वाचन सामग्री बुझेर आज हिँड्नुभयो’, कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘सदरमुकामबाट एकदिनको बाटो गाडीमा र अरु चार–पाँच दिनसम्म पैदल हिँड्नु पर्ने हुनाले उहाँहरुलाई आजै पठाइएको हो।’ दुर्गममा निर्वाचन गराउन खटिएका कर्मचारीहरु बिहीबार धार्चे गाउँपालिकाको माछाखोलामा पुगेर बास बसेका छन्।
‘हामी आज माछाखोलामा बास बस्न आइपुग्यौं’, चुमनुब्री ७ छुलेनिले मतदान केन्द्रमा खटिएका बाबुराम मगरले भने, ‘दुईवटा मतदान केन्द्रका सरहरु अल्लि अगाडि नै गइसक्नु भएको छ। अरू पाँचवटा मतदान केन्द्रका साथीहरु पछि–पछि आउँदै हुनुहुन्छ।’
जिल्ला निर्वाचन कार्यालयका अनुसार सामागाउँ मतदान केन्द्रका मतदान अधिकृत चित्रबहादुर अधिकारी, साम्दो मतदान केन्द्रका विजयकुमार श्रेष्ठ, स्यो मतदान केन्द्रका सूर्य गौतम, ल्हो मतदान केन्द्रका तुलसीराम आचार्य, न्याक मतदान केन्द्रका इतराज पोखरेल, सरस्युँङ मतदान केन्द्रका प्रकाश काफ्ले बिहीबार आफ्ना सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी तथा सुरक्षाकर्मीको साथमा प्रस्थान गरेका छन्।
त्यस्तै छाक मतदान केन्द्रका रमेश ढकाल, नाम्रुङ मतदान केन्द्रका राजेन्द्र खनाल, क्वाक मतदान केन्द्रका विपिन रेग्मी, बिहि मतदान केन्द्रका हेमन्त गुरुङ, क्य्राक मतदान केन्द्रका बलराम श्रेष्ठ, सिप्चेत मतदान केन्द्रका प्रदीप गुरुङ, चुम्चेत मतदान केन्द्रका सन्दीप मरहट्टाको टोली पनि बिहिबार प्रस्थान गरेको छ।
त्यस्तै खार मतदान केन्द्रका नविन अधिकारी, छेकम मतदान केन्द्रका सुदीप मिश्र, छुलेनिले मतदान केन्द्रका बाबुराम मगर, लार मतदान केन्द्रका महेन्द्रकुमार मण्डलको टोली पनि बिहीबार प्रस्थान गरेको निर्वाचन कार्यालयले जनाएको छ।
हिमालपारि भोटखोलामा ३३ मतदान केन्द्र छन्। अरू बाँकी मतदान अधिकृत तथा कर्मचारी, सुरक्षाकर्मीको टोली शुक्रबार सामग्री बुझेर त्यसतर्फ प्रस्थान गर्ने सूचना अधिकारी सुवेदीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !