निर्वाचनका लागि उपत्यका छोड्नेको चाप बढ्दै

निर्वाचनका लागि उपत्यका छोड्नेको चाप बढ्दै

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आफ्नो स्थानमा भोट हाल्न जान थालेसँगै काठमाडौं उपत्यका छोड्ने चाप दिनानुदिन बढेको छ। आन्तरिक उडान तथा लामोदूरीको सार्वजनिक सवारीको चाप बढ्न थालेको सरोकारवाला बताउँछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौला आन्तरिक हवाईमा साविकको भन्दा चाप बढेको बताउँछन्। 

आन्तरिक वायुसेवा सञ्चालक संघ पनि आन्तरिक उडानमा चाप केही बढेको बताउँछन्। संघका अध्यक्ष प्रतापजंग पाण्डेले भने, ‘हेलिकप्टरमा खासै चाप छैन। खासै पर्यटकको सिजन पनि सुरु भएको छैन। फिक्स विंग्समा भने मुभमेन्टहरू बढेको छ।’ निर्वाचनको दिन नजिकिँदै गर्दा हवाई यात्रुको चाप थप बढ्न सक्ने अनुमान संघको छ। 

यता, आन्तरिक उडानमा सबैभन्दा धेरै उडान भर्ने बुद्ध एयरले निर्वाचनको दिन नजिकिएसँगै यात्रुको चाप बढ्न लागेको जानकारी दिएको छ। करिब ९० प्रतिशत क्षमता (करिब पूर्णक्षमता) मा बुद्धले उडान गरिरहेको प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन्। ‘अहिले बिहेको मौसम पनि हो भने निर्वाचनका लागि काठमाडौं छोड्ने र काठमाडौं भित्रिने केही बढेका छन्। एकदम नै चापाचाप भने छैन। यात्रुको ओहोरदोहोरो बढेको छ अहिले,’ उनले भने। 

दसैंको जस्तो चाप नभए पनि अहिले यात्रुको चाप बढेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्। काठमाडौं उपत्यका छोड्ने र भित्रिने गरी करिब ८० प्रतिशत क्षमतामा यतीका जहाज अहिले उडिरहेका छन्। संख्यात्मक रूपमा भने उपत्यका छोड्नेको संख्या आउनेको भन्दा बढिरहेको बर्तौला सुनाउँछन्। 

आगामी दिनका लागि बुकिङको चाप पनि धेरै नभएको एयरलाइन्स कम्पनी बताउँछन्। नेपालीहरूले धेरै लामो समयदेखि बुकिङ गर्नेभन्दा पनि बढीमा २–३ दिनअघि मात्र बुकिङ गर्ने प्रवृत्ति छ। हवाई यात्रुको संख्या बढेसँगै न्यूनतमभन्दा केही महँगो दरमा टिकट भने बिक्री भइरहेका छन्। न्यूनतम दरका टिकट पहिला काटिने हुँदा अहिले टिकट थोरै महँगो भएको कम्पनीको भनाइ छ। 

दसैंको जस्तो अधिकतम दरमा हवाई टिकटको मूल्य नपुग्ने पनि बताइएको छ। ‘यात्रुहरूले अग्रिम बुकिङ गर्नुहुन्छ। कति जनाले कुनै निश्चित दिनका लागि अग्रिम बुकिङ गर्दाखेरि न्यूनतम फेयरको टिकेट सकिँदै जान्छ। त्यो भएकोले कुनै दिनका लागि सस्तो दरको टिकट सकिन सक्छ,’ संघका वरिष्ठ उपाध्यक्ष पाण्डेले बताए। विमानको टिकट दर नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्धारण गर्छ। साना विमानका लागि प्राधिकरणले स्थिर भाडा तोकेको छ भने १९ सिटभन्दा बढी क्षमताका विमानका लागि न्यूनतम र अधिकतम भाडाको सीमा निर्धारण गरिएको छ। 

भाडा गणनामा सञ्चालन खर्च, इन्धन शुल्क, यात्री सेवा शुल्क तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समावेश हुन्छ। तर, आधारभूत भाडा २०७३ सालयता पुनरावलोकन गरिएको छैन। कानुनी प्रावधानअनुसार हरेक ३ वर्षमा परिमार्जन हुनुपर्ने भए पनि अहिलेसम्म अद्यावधिक भएको छैन। 

जहाजले कुल सिट क्षमतामा उच्च भाडा १० प्रतिशत क्षमताको मात्र लिन पाउने नियम रहेको छ। काठमाडौं विमानस्थलबाट विशेषगरी ट्रंक रुटमा उडान बढी हुने गरेको छ। राजविराज र भरतपुरबाहेक अन्य ट्रंक रुटका विमानस्थलहरूमा रात्रिकालीन उडान अवतरण हुन्छ। ती सेक्टरमा दिउँसो नभ्याउँदा राति पनि उडान हुने व्यवस्था गरिएको छ। 

लामोदूरीका सार्वजनिक यातायातमा सहज यात्रा
लामोदूरीका सार्वजनिक यातायातमा पनि निर्वाचन नजिकिएसँगै चहलपहल बढेको छ। १५ फागुनबाट लामोदूरीमा यात्रुको चाप बढ्ने अनुमान गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतम बताउँछन्। ‘देशका पहाडी, हिमाली र तराईका क्षेत्रहरूमा हाम्रा सेवाहरू सञ्चालन भइरहेका छन्, यात्रुहरूलाई कुनै कठिनाइ छैन। अहिले दिवा सेवामा यात्रु अलि कम छन्, रात्रिकालीन सेवामा भने अहिले ठिकै छ,’ उनले अन्नपूर्णलाई जानकारी दिए। नेपालमा आवश्यकताभन्दा बढी सवारी साधन भएको सवारीको कमी नहुने महासंघले जनाएको छ। २०७७ सालको तथ्यांकअनुसार यात्रुवाहक र मालवाहक गरी ४ लाखभन्दा बढी कुल सार्वजनिक सवारी साधन छन्। जसमा लामोदूरीमा चल्ने (संघीय रुटमा चल्ने) सवारी साधनहरू १ लाखभन्दा बढी नै भएको महासंघको तथ्यांक छ। 

‘यातायात व्यवस्था विभागको ६ महिना अघिको तथ्यांक अनुसार ८० हजार थियो भने यो आर्थिक वर्षमा २० हजार थपिएको अनुमान छ। यसरी ८० देखि ९० हजार लामोदूरीका यात्रुवाहक र ६० देखि ७० हजार मालवाहक सवारी साधन छन्,’ गौतमले जानकारी दिए। यात्रुको चाप बढ्यो भने तत्कालै सेवा थप्ने महासंघको भनाइ छ। ‘पर्याप्त सवारी साधन छन्। हामीले दसैं जस्तो ठूलो चाप त व्यवस्थापन गरेका छौं भने यो त एक/दुई दिन बढ्ने कुरा हो। फागुनको १८ र १९ गते होली भएकाले १६ र १७ गते अलि चाप बढ्ला,’ गौतमले सुनाए। सरकारले १८ गते राति १२ बजेदेखि सबै भन्सार नाकाहरू बन्द हुने जानकारी दिएको छ। नेपाल–भारत मैत्री सेवा पनि १८ गते रातिदेखि नै बन्द हुन्छ। आन्तरिक यातायात भने २० गते राति १२ बजेदेखि २१ गतेको लागि (निर्वाचनको दिन) बन्द हुन्छ। 

निर्वाचन पनि मतपेटिका र निर्वाचन सुरक्षा निकायका पदाधिकारीलाई लैजान सार्वजनिक सवारी साधन प्रयोग गर्नेबारे महासंघ र काठमाडौं जिल्ला प्रशासनबीच छलफल भएको बताइएको छ। यात्राको समयमा यात्रु सुरक्षाका लागि उपायहरू अपनाएको भन्दै महासचिव गौतमले नेपालका विभिन्न भागमा आउन–जान ३ सय ८५ सदस्य संस्थाहरूले व्यवस्थित रूपमा सेवा दिइरहेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.