आश्वासनका पाँच वर्ष, चामबासका विस्थापितका पीडा उस्तै
धादिङ: निर्वाचनको माहोल तातेको छ। गाउँ–गाउँमा सभा, भाषण र विकासका प्रतिबद्धताले राजनीतिक वातावरण व्यस्त देखिन्छ। तर, गजुरी गाउँपालिका–२, चामबासका २१ विस्थापित परिवारका लागि चुनाव उत्सव होइन। बरु दोहोरिँदै आएको आश्वासनको कथा बनेको छ। नेताहरू आउँछन्, सुन्छन्, वाचा गर्छन् र फर्किन्छन्। तर, टेन्टमुनिको चिसो रात भने वर्षौंदेखि उस्तै छ।
२०७६ साउन ५ गतेको रात चामबासका बासिन्दाले कहिल्यै बिर्सन सक्दैनन्। अविरल वर्षासँगै आएको हुरीले जमिन चिरा–चिरा पार्यो। घरका भित्ताहरू चर्किए, गोठहरू भत्किए र कान्लाहरू धसिए। सुरक्षित ठानेको गाउँ एकाएक जोखिमपूर्ण बन्यो। २१ परिवार रातारात विस्थापित भए।
धनमाया तामाङ त्यो क्षण सम्झँदा अझै भावुक हुन्छिन्। ‘घर वरिपरि माटो बग्न थाल्यो, जमिन फुट्यो। बस्ने ठाउँ नै भासिन थालेपछि ज्यान जोगाउन भाग्नुपर्यो,’ उनी भन्छिन्। त्यसपछि उनीहरू गाउँ फर्कन सकेका छैनन्। पाँच वर्ष बित्दा पनि स्थायी घरको प्रतीक्षा अन्त्य भएको छैन।
विस्थापित परिवारहरू अहिले बारबिसेमा अस्थायी रूपमा बस्दै आएका छन्। टेन्ट र पुराना जस्तापाताले बनाइएका टहराहरू नै उनीहरूको घर बनेका छन्। वर्षातमा चुहिने र जाडोमा चिसो छिर्ने यी टेन्टहरू पाँच वर्षदेखि उनीहरूको दैनिकी बनेका छन्।
सानुमाया तामाङ काखमा दुधे बच्चा च्यापेर घाम ताप्दै भेटिन्छिन्। ‘जाडोमा बच्चा र वृद्ध बचाउनै गाह्रो हुन्छ। धेरै पटक आश्वासन पाइयो, तर टेन्ट छोड्ने दिन कहिल्यै आएन,’ उनी भन्छिन्।
२१ घरपरिवारका ९२ जना प्रभावित छन्। अधिकांश परिवारमा साना बालबालिका छन्। अस्थायी बस्तीमा सुरक्षित खेल्ने ठाउँ छैन, पढाइ नियमित छैन। राति सर्प र गँड्यौला टेन्टभित्र पस्ने डर अलग्गै छ। शीतले भिजेको ओछ्यानमा वृद्धवृद्धाहरू आगो ताप्दै रात कटाउँछन्।
चामबासको पीडा स्थानीय तहदेखि प्रदेश सरकारसम्म पुगेको छ। गाउँपालिका अध्यक्ष, प्रशासनिक अधिकारी र मन्त्रीहरूले बस्ती निरीक्षण गरेका छन्। तर निरीक्षणपछि समाधान भने अघि बढ्न सकेको छैन।
गजुरीकै स्थायी बासिन्दा तथा पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो कार्यकालमा घर निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए। यसअघि सांसद चुनावताका पनि यस्तै आश्वासन दिएका थिए। तर विस्थापितहरू भन्छन्, ‘मत माग्न आउँछन्, जितेपछि फर्केर हेर्दैनन्।’
प्रदेश सरकारका नेतृत्व तहमा पटक–पटक पुगेका शालिकराम जमकट्टेलप्रति पनि उनीहरूको गुनासो उस्तै छ। ‘धेरैले कुरा गरे, तर काम भएन,’ स्थानीयहरूको भनाइ छ। जग्गा प्राप्तिका लागि पहल भइरहेको बताइए पनि प्रक्रिया लामो बन्दै गएको छ। पाँच वर्षको प्रतीक्षाले पीडितहरूको विश्वास कमजोर बनाएको छ। उता कृष्ण रिजाल र आशिका तामाङका कार्यकर्ता चुनावी अभियानमा बस्ती पुगे पनि दीर्घकालीन समाधानको स्पष्ट पहल नदेखिएको गुनासो सुनिन्छ।
भूगर्भविद्हरूले पुरानो चामबास बस्ती पुनः बसोबासयोग्य नरहेको निष्कर्ष दिएका छन्। जमिनका चिराहरू अझै उस्तै छन्, धाँजा बढ्दो छ। त्यसैले सुरक्षित स्थानमा बस्ती स्थानान्तरण नै एकमात्र विकल्प मानिएको छ। तर निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको छ।
फेरि निर्वाचन आयो। फेरि भाषण र आश्वासनका पोका खुले। तर टेन्टमुनिको जीवन अझै उस्तै छ। पाँच वर्षदेखि ‘अस्थायी’ शब्द उनीहरूको स्थायी नियति बनेको छ। धनमाया तामाङको आवाज सरल तर गहिरो छ, ‘हामीलाई भाषण होइन, घर चाहिएको हो।’ अहिले पनि त्रिपालमुनि जीवन धानिरहेकी ७० वर्षीया सेतीमाया तामाङको कथा अझै मार्मिक छ। पाँच वर्षदेखि अस्थायी टेन्ट नै उनको घर बनेको छ। उनी भन्छिन्, ‘मेरो कोही छैन, म कहाँ जाऊँ?’
पहिरोले घर मात्र बगाएन, उनको जीवनको आधार नै भत्कायो। पाँच वर्षअघि श्रीमान् बिते। सन्तान छैनन्। भएको घरजग्गा पनि पहिरोले लग्यो। सहारा दिने आफन्त कोही छैनन्। दैनिक गुजारा चलाउनसमेत कठिन छ। छिमेकी र चिनेजानेकाबाट उधारोमा तेल–चामल ल्याएर पेट पाल्दै आएकी उनले त्यो उधारो तिर्न नसक्दा झन् मानसिक पीडा थपिएको छ।
प्रतिक्रिया दिनुहोस !