हवाई प्रतिबन्धले दैनिक ५ हजार यात्रु रोकिए
काठमाडौं : अमेरिका र इरानबीच द्वन्द्व चर्किएसँगै नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। यसका कारण ८० प्रतिशत बाह्य उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान जस्तै छ। यात्रुहरू उडानका लागि भन्दा पनि यात्रु सहायता कक्षमा टाँसिएका सूचना र उडानको विवरण हेर्न व्यस्त देखिन्छन्।
द्वन्द्वका कारण कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन गरी ९ देशले आफ्नो एयरस्पेस बन्द (हवाई क्षेत्रको प्रतिबन्ध) गरेका छन्। ९ देश गरिएको हवाई क्षेत्रको प्रतिबन्ध कारण नेपालबाट ती देशहरूमा हुने उडान प्रायः रद्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर (अन्तर्राष्ट्रिय उडान भारतको बनारस) र बाँकी २७ अन्तर्राष्ट्रिय वायु कम्पनीले नेपालबाट बाह्य मुलुकमा उडान भर्दै आएका छन्।
नेपालबाट दैनिक १८ अन्तर्राष्ट्रिय उडान हुने गरेका छन्। अन्तर्राष्ट्रिय उडान रद्द हुँदा दैनिक करिब ५ हजार यात्रु नेपालमा नै रोकिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए। ‘शनिबार र आइतबार गरी करिब १० हजार यात्रु नेपालमा नै रोकिएका छन्। ती यात्रुको व्यवस्थापनका लागि सम्बन्धित एयरलाइन्स कम्पनीलाई प्राधिकरणले भनेको छ,’ उनले अन्नपूर्णसँग भने।
प्राधिकरणद्वारा सूचनाअनुसार जजिरा (१ उडान), कुवेत (२ उडान), एयर अरेबिया (३ उडान), फ्लाइ दुबई (२ उडान), नेपाल एयरलाइन्स (१ उडान) , कतार (३ उडान) र हिमालय एयरलाइन्स (२ उडान)को उडान आइतबार पनि रद्द भएका छन्। शनिबार र आइतबार टर्किस एयरलाइन्सको उडान भने भएको छ। ‘अहिले नेपाली आकाशमा कुनै प्रतिबन्ध लागेको छैन।
अमेरिका र इरानमा भएको तनावले गर्दा अरु देशहरूले आफ्नो सुरक्षाका लागि आकाश बन्द गरेका छन्। ती देशको प्रतिबन्ध मान्नुको विकल्प सम्बन्धित देशको नियामक निकाय होस्, एयरपोर्ट होस् या एयरलाइन्ससँग छैन,’ भूल बताउँछन्।
नेपालमा आउने र जाने नेपाली वा विदेशी बाह्य वायुसेवामा निर्भर छन्। बाह्य वायुसेवा कम्पनीका उडान बन्द हुँदा त्यसको असर नेपाल छोड्ने र नेपाल भित्रिनेलाई परेको छ। शनिबार एक्कासि उडान बन्दपछि अलपत्र परेका यात्रुको व्यवस्थापनका लागि प्राधिकरणले समन्वय गरेको बताएको छ।
खाना र बसोबासका लागि समन्वय
विदेश जानलाई काठमाडौं आइपुगेको नेपाली यात्रुको खाना र बासस्थान तथा विदेशी नागरिकको भिसा सहजीकरणका लागि प्राधिकरणले समन्वयन गरिरहेको छ। ‘विमानस्थल पुगेका यात्रु होटलमा राखिएका र विमानस्थल नपुगेकाको हकमा उडान क्यान्सिल गर्न वा समय सार्न चाहन्छन् भने सोहीअनुसार गर्न सम्बन्धित एयरलाइन्स कम्पनीलाई भनेका छौं,’ भूलले भने।
कतारका २ जहाज काठमाडौं विमानस्थलको पार्किङमा
अमेरिका र इरानबीच द्वन्द्व चर्किनुपूर्व शनिबार कतार एयरलाइन्सका २ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे। दोहाबाट काठमाडौं आएका जहाज यात्रुसहित दोहा नै फर्किने नियमित उडान तालिका हो। शनिबार मध्याह्नमा अमेरिकाले इरानमा आक्रमण गरेसँगै कतारले सूचना जारी गर्दै हवाई उडानमा प्रतिबन्ध लगायो। उक्त प्रतिबन्धसँगै कतारका दुई जहाज दोहा फर्किन सकेनन्।
कतार जहाज विमानस्थलको पार्किङमा छ। कतारका बाहेक अन्य देशका जहाज भने विमानस्थलमा छैनन्। सम्बन्धित देशहरूले प्रतिबन्ध खोल्नेबित्तिकै कतारको जहाज काठमाडौं विमानस्थलबाट उड्ने बताइएको छ। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स जहाज पनि अन्य मुलुकमा अड्किएका छैनन्।
हवाई प्रतिबन्ध फुकुवा कुर्दै प्राधिकरण
मध्यपूर्व क्षेत्रमा भइरहेको हवाई क्षेत्र प्रतिबन्धका कारण २ दिनदेखि पश्चिम क्षेत्रका उडान भएको छैन। यसबाट दैनिक करिब ५ हजार यात्रु नेपालमा नै रोकिएका छन्। प्रतिबन्ध लम्बिदै जाने हो भने नेपालमा नै रोकिने यात्रुको संख्या पनि थपिँदै जान्छ। ती यात्रुको अहिलेको व्यवस्थापनसँगै प्रतिबन्ध फुकुवापछि व्यवस्थापन थप चुनौतीपूर्ण रहेको प्राधिकरणको भनाइ छ।
‘प्रतिबन्ध फुकुवापछि उडान हुने दिनका लागि टिकट काटेका यात्रुसँगै प्रतिबन्धका कारण रोकिएका यात्रुलाई गन्तव्यमा कसरी पु¥याउने भन्ने चुनौती छ। यसका लागि सम्बन्धित एयरलाइन्सलाई गृहकार्य सुरु गर्न भनेका छौं। यात्रु व्यवस्थापनका लागि चार्टर्ड उडानका लागि अनुमति लिनुपरे प्राधिकरणले सरल प्रक्रिया गरेर समन्वय गर्ने योजना बनाएको छ,’ भूलले बताए।
प्रतिक्रिया दिनुहोस !