होलीसँगै मौन अवधि, मोरङमा कडा सतर्कता

होलीसँगै मौन अवधि, मोरङमा कडा सतर्कता
सुन्नुहोस्

विराटनगर : रंग, रमाइलो र सामूहिक उल्लासको प्रतीक मानिने होली यस वर्ष मोरङसहित देशभर फरक सन्दर्भमा मनाइँदैछ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व होली पहाडी जिल्लामा फागुन १८ गते सोमबार र तराई–मधेसका जिल्लामा फागुन १९ गते मंगलबार परेको छ। तर, यसपटक पर्वको उमंगसँगै प्रतिनिधिसभा सदस्यको निर्वाचनको मौन अवधि पनि जोडिएकाले प्रशासन र सुरक्षा निकायका लागि यो समय विशेष संवेदनशील बनेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सोमबार राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ।

त्यही मौन अवधिको पूर्वसन्ध्यामा सार्वजनिक रूपमा होली मनाउँदा चुनावी आचारसंहिताविपरीत गतिविधि हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले कडा सतर्कता अपनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित अत्यन्त जरुरी सूचनामार्फत यस वर्ष होली घरपरिसरभित्र सीमित रहेर मनाउन आग्रह गरिएको छ। सार्वजनिक स्थलमा रंग खेल्ने, सामूहिक भोज आयोजना, सांस्कृतिक कार्यक्रम तथा प्रतियोगिता सञ्चालन र निर्वाचन आचारसंहिताविपरीतका कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राज्यको प्राथमिक दायित्व हो। ‘पर्वको उल्लास आफ्नो ठाउँमा छ। तर, अहिलेको संवेदनशीलतालाई बुझेर संयमित ढंगले परिवारभित्र मात्र मनाउनु उपयुक्त हुन्छ,’ उनले भने। 

उनका अनुसार गृह मन्त्रालयको निर्णयअनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मलाई मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा सेवनमा समेत रोक लगाइएको छ। मदिराको खुला प्रयोगले झडप, विवाद र अवाञ्छित गतिविधि बढाउने सम्भावना भएकाले यो निर्णय आवश्यक ठानिएको प्रशासनको तर्क छ।

सामान्यतः होली सार्वजनिक रूपमा रंग दलादल, नाचगान र सामूहिक सहभागितासहित मनाइने पर्व हो। विशेषगरी तराई–मधेश क्षेत्रमा यसको सांस्कृतिक र सामाजिक महत्व अझ उच्च छ। युवापुस्ता, बालबालिका, विभिन्न समुदाय र पेसागत समूहबीचको घुलमिलले होलीलाई सामाजिक एकताको उत्सव बनाउँदै आएको छ। तर, यसवर्ष त्यही सार्वजनिकता सम्भावित चुनौतीका रूपमा देखिएको छ। सुरक्षा अधिकारीहरूका अनुसार भिडभाडका क्रममा राजनीतिक नाराबाजी, समूहगत प्रतिस्पर्धा वा उक्साहटपूर्ण गतिविधि हुन सक्ने जोखिम छ। सामाजिक सञ्जालमार्फत अफवाह फैलाएर भिडलाई दुरुपयोग गर्न सकिने सम्भावनालाई समेत सुरक्षा निकायले नकारेको छैन।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल भन्छन्, ‘चुनाव नजिकिँदा राजनीतिक दलका समर्थकहरू सक्रिय हुन्छन्। होलीजस्तो भिडभाड हुने अवसरमा कुनै समूहले नाराबाजी गरेमा अर्को समूहसँग विवाद उत्पन्न हुन सक्छ। त्यसैले पूर्वसावधानीस्वरूप सुरक्षा व्यवस्था कडा पारिएको छ।’ उनका अनुसार बजार, सार्वजनिक स्थल र सामाजिक सञ्जालमा निगरानी बढाइएको छ। सम्भावित उक्साहट, भ्रामक प्रचार वा अफवाह फैलाउन खोज्ने गतिविधिमाथि तुरुन्त कारबाही गरिने चेतावनी कटवालले दिए।

यस वर्ष इस्लाम धर्मावलम्बीहरूको महान् महिना रमजानुल मुवारक (रमजान) पनि होलीकै आसपास परेको छ। फागुन १९, २० र २१ गते रमजानका महत्वपूर्ण दिन परेकाले धार्मिक गतिविधि, निर्वाचनको मौन अवधि तथा मतदान एकैसाथ जुधेका छन्। प्रशासनले मस्जिद बाहिर सार्वजनिक रूपमा भोजभतेर, सांस्कृतिक कार्यक्रम वा निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न आह्वान गरेको छ। परिवारभित्र सभ्यतापूर्वक धार्मिक अनुष्ठान गर्न अनुरोध गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरिएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार विभिन्न समुदाय र धर्मावलम्बीहरू पर्वमा व्यस्त रहने समयलाई चुनावविरोधी तत्वले घुसपैठका रूपमा प्रयोग गर्न सक्ने आकलन गरिएको छ। त्यसैले भिडभाड हुने सम्भावित स्थानहरूमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ भने होटल, गेस्टहाउस र सार्वजनिक स्थलहरूमा निगरानी बढाइएको छ।

प्रहरीले होलीलाई लक्षित गरी बजारमा बिक्रीका लागि राखिएका केही टी–सर्ट र प्रचार सामग्रीसमेत बरामद गरेको छ। ती सामग्रीमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को तस्बिर तथा राजनीतिक सन्देश अंकित गरिएको थियो। कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार मौन अवधि सुरु हुनुअघि नै यस्ता सामग्री खुला रूपमा बिक्रीका लागि राखिनु संवेदनशील विषय भएकाले नियन्त्रणमा लिइएको हो। निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै पनि प्रकारको प्रचार सामग्री उत्पादन, प्रदर्शन, वितरण वा बिक्री गर्न पाइँदैन।

व्यापारीहरूले भने होली लक्षित डिजाइनका रूपमा सामग्री ल्याइएको दाबी गरेका छन्। तर, चुनाव नजिकिएकाले मतदातामाथि प्रभाव पार्ने सम्भावनालाई दृष्टिगत गर्दै पूर्वसावधानीस्वरूप जफत गरिएको प्रहरीले स्पष्ट पारेको छ। अब यस्ता सामग्री आयात तथा बिक्री वितरण गरेमा कडा कारबाही गरिने एसएसपी थापा बताउँछन्।

सुरक्षा अधिकारीहरूका अनुसार होली र रमजानजस्ता उत्सवमा राजनीतिक प्रतीक मिसिँदा सामूहिक उल्लास प्रतिस्पर्धात्मक रंगमा बदलिन सक्छ। सार्वजनिक रूपमा रंग दलादल हुँदै गर्दा कुनै समूहले विशेष नेता वा दलको समर्थनमा नाराबाजी गरेमा त्यसले विवादको रूप लिन सक्छ। यस्तो अवस्था नियन्त्रणबाहिर गए चुनावी वातावरण प्रभावित हुनसक्ने जोखिम उच्च रहन्छ।

नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटवालका अनुसार यस वर्षको होली र रमजान सांस्कृतिक पर्व मात्र नभई राजनीतिक एवं लोकतान्त्रिक अनुशासनको परीक्षण पनि छ। ‘पर्वले सामाजिक एकता र सहिष्णुताको सन्देश दिनुपर्छ। यदि त्यो अवसरलाई राजनीतिक प्रतिस्पर्धाको माध्यम बनाइयो भने त्यसले लोकतान्त्रिक प्रक्रियालाई नै असर पु¥याउन सक्छ,’ उनले भने। प्रशासनको आग्रह, प्रहरीको निगरानी र नागरिकको जिम्मेवारीबीच सन्तुलन कायम भए मात्र पर्वहरूले आफ्नो मौलिकता जोगाउँदै लोकतान्त्रिक प्रक्रियालाई सघाउन सक्ने कटवालको तर्क छ।

यसपटक मोरङसहित देशभर देखिएको सुरक्षा सतर्कता नियन्त्रणका लागि मात्र नभएर सन्तुलनका लागि हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए। पूर्वडीएसपी कटवालका अनुसार एकातिर नागरिकको सांस्कृतिक अधिकार सुरक्षित राख्नुपर्ने दायित्व छ भने अर्कोतर्फ निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ। पर्व र चुनावको द्वन्द्वबीच संयमता र जिम्मेवारीको बाटो रोजिएको सुरक्षा अधिकारीहरू बताउँछन्।

नागरिकले प्रशासनको अपिललाई सम्मान गर्दै घरपरिसरभित्रै सभ्य ढंगले होली र रमजान मनाउँदा मात्रै चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न हुने आधार बलियो बन्ने सरोकारवालाको भनाइ छ। तर, सार्वजनिक उत्सवलाई राजनीतिक प्रभाव विस्तार गर्ने माध्यम बनाइयो भने त्यसले अनावश्यक तनाव निम्त्याउने निश्चित रहेको कटवाल बताउँछन्। यस वर्षको रंग, रोजा र मतदान क्यालेन्डरको संयोग मात्र नभएर लोकतान्त्रिक परिपक्वताको सूचक बन्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.