अरूलाई नआत्तिन अनुरोध गर्दा गर्दै आफैं अस्ताए दिवस
गोरखा : गत फागुन १६ गते(फेब्रुअरी २८ तारिख) मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्न सुरु गरे। इरानले पनि इजराइलमा र अमेरिकाका सैन्य बेसक्याम्प रहेका मध्यपूर्व(संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार लगायत)का देशहरूमा जवाफी हमला सुरु गर्यो।
वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व(खाडी)का मुलुकहरूमा गएकाहरू अत्तालिन थाले। उनीहरूका नेपालमा रहेका परिवार झन् धेरै आत्तिए। अबुधावीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत गोरखा बोर्लाङका दिवस श्रेष्ठले नआत्तिन सम्झाउँदै आफ्नो फेसबुकमा लेखे, ‘समाचार हेरेपछि, मलाई चिन्ता लाग्यो। यस्तो देखिन्छ कि, धेरै रिपोर्टहरू प्रसारित भइरहेका छन्, जुन पूर्ण रूपमा सही छैनन्। अबुधाबीमा रहेका हामीलाई प्रायः वास्तविक अवस्थाको प्रत्यक्ष ज्ञान हुन्छ, तैपनि समाचारले कहिलेकाहीँ अतिरञ्जित वा भ्रामक जानकारी प्रस्तुत गर्दछ।’
तर सोमबार अबुधावीस्थित नेपाली दूतावासबाट जिल्ला प्रशासन कार्यालय गोरखामा एकाएक एक पत्र प्राप्त भयो। त्यसमा भीमसेन थापा गाउँपालिका ७, साबिक (बोर्लाङ ४) ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठको इरानी ड्रोन आक्रमणबाट दुःखद मृत्यु भएको पुष्टि गर्दै आवश्यक समन्वय गरिदिन आग्रह गरिएको थियो।
यो खबर उनको घरमा पुग्दा बुबा चामबहादुर श्रेष्ठले पत्याएनन्। पूर्व प्रहरी सेवामा काम गरेका श्रेष्ठले नाम जुध्न सक्ने भन्दै यो अप्रिय घटना विश्वास गरेनन्। ‘दिवस श्रेष्ठ भन्ने मेरै छोरो हो। उ अबुधावी एयरपोर्टमा काम गर्छ। हिजो(आइतबार) बिहानदेखि सम्पर्कमा छैन’, बुबा चामबहादुर भन्छन्, ‘उसको साथीहरूसँग सम्पर्क गर्दा उ खुट्टामा चोट लागेर अस्पताल भर्ना भएको छ।’ तर मृत्यु भएको भने उनले विश्वास गरेनन्।
जिल्ला प्रशासन कार्यालयले मृत्यु भएका दिवस चामबहादुरकै छोरा हो भनेर यकिन गरेपछि उनी विश्वास गर्न बाध्य भए। अहिले उनी मात्र होइन, ठाँटीबासी सबै भावविह्वल बनेका छन्। ‘पत्याउनै गाह्रो भएको छ’, उनका काका नाता पर्ने प्रदीप श्रेष्ठ भन्छन्, ‘सम्पर्क नभएपछि र प्रशासनले हो भनेपछि पत्याउनै पर्यो।’ अति इमान्दार, मिलनसार, मृदुभाषी दिवसको मृत्युको खबरले ठाँटी गाउँ शोकमा डुबेको उनको भनाइ छ।
घरमा दिवसका बुबा, आमा र हजुरआमा मात्र बस्छन्। एउटी दिदीको बिहे भइसकेको छ। आमा पवित्रा श्रेष्ठ सुत्केरी छोरी अस्मिताको स्याहारसुसार गर्न काठमाडौंमै छिन्। ‘यस्तो खबर आएपछि आफन्तहरू आमालाई लिन काठमाडौं गएका छन्’, दिवसका काका नाता पर्ने प्रदीप श्रेष्ठ भन्छन्, ‘पोहोरको दशैंमा आएको थियो। यो साल आएपछि बिहे गर्ने भन्ने सल्लाह भएको थियो तर यस्तो दुःखद खबर आएको छ।’
दिवसले कक्षा १० सम्म सरस्वती मावि बोर्लाङमा पढेर काठमाडौं गएर ओभरसियर पढेका थिए। तर पढेअनुसार स्वदेशमा रोजगारी नपाएपछि उनी विदेशिन बाध्य भएका थिए। उनी बिगत पाँच वर्षदेखि अबुधावीमा रहेका उनले बताए।
प्रतिक्रिया दिनुहोस !