गमगढी–नाक्चेलाग्ना सडक प्राथमिकतामा कहिले ?
मुगु : जिल्लाको सदरमुकाम गमगढीलाई चीनको सीमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो गमगढी–नाक्चेलाग्ना सडक कर्णाली प्रदेशको समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छ।
यो सडक सञ्चालनमा आए नेपाल–भारत–चीन त्रिदेशीय पारवहन र व्यापार विस्तारको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ। तर, योजना बनेको दुई दशक र औपचारिक निर्माण सुरु भएको झन्डै एक दशकभन्दा बढी समय बितिसक्दा पनि प्रगति कछुवाको गतिमा सीमित छ।
यस सडकको विस्तृत सर्वेक्षण आर्थिक वर्ष २०६२/६३ मै सम्पन्न भएको थियो। सर्वेक्षणपछि करिब १० वर्षको अन्तरालमा आर्थिक वर्ष २०७२/७३ बाट निर्माण कार्य औपचारिक रूपमा सुरु गरियो। हालसम्म ९३ किलोमिटरमध्ये करिब १८ किलोमिटर मात्र ट्र्याक खोलिएको तथ्यांक सार्वजनिक भएको छ।
प्राविधकि स्टमेट र मुगुम कार्मारोङ गाउँपालिकाको भौगलिक बनावटको हिसावले हेर्ने हो भने प्रतिकिलो मिटर ६ करोड रुपैयाँ खर्च हुन आउँछ। मुगुम कार्मारोङको भौगोलिक बनावट कडा चट्टानले गर्दा विस्फोटक पदार्थमार्फत निर्माण अगाडि बढाउनुपर्ने बाध्यता छ। विस्फोटक पर्दाथ निर्माण स्थलसम्म पुर्याउन कानुनी प्रक्रिया धेरै छन्। माग गरिएअनुसारको बजेट संघीय सरकारले प्रथामिकतामा नराखी दिनाले पनि निमार्ण कार्यमा ढिलाइ भएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सौरभकुमार सिंह बताउँछन्।
निर्माण सुरुवाती भए गममगढीदेखि मुगुम कार्मारोङ-७ माँग्री डाँडासम्म १८ किलोमिटर मात्र ट्र्याक खोलिएको छ। प्राविधिक अनुमानअनुसार बाँकी ७५ किलो मिटर सडक ट्र्याक खोल्न मात्र ४ अर्ब ५० करोड रुपैयाँ रकम आवश्यक पर्ने प्राविधिक अनुमान छ।
परियोजनालाई गति दिन छायाँनाथ रारा नगरपालिका-४ ताल्चामा कार्यालय स्थापना गरिएको छ। पर्याप्त बजेट,जनशक्ति र स्पष्ट कार्ययोजनाको अभावका साथै संघीय सरकारको प्राथमिकतामा न्यून बजेट विनियोजन भएकै कारणले कर्णाली प्रदेशको समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको यो सडक ओभलेलमा परेको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा बताउँछन्।
धार्मिक पर्यटन र व्यापार ओझेलमा
यो सडक पूर्णरूपमा सञ्चालनमा आएपछि रारा ताल र रारा राष्ट्रिय निकुञ्जसँगै उत्तरी हिमाली क्षेत्रका धार्मिक तथा प्राकृतिक गन्तव्यहरू जोडिने अपेक्षा छ। तिब्बतस्थित मानसरोवर र कैलाश पर्वत यात्राका लागि छोटो तथा वैकल्पिक मार्ग बन्ने विश्वास स्थानीयको छ।
मुगुम कार्मारोङ-१ मा रहेको छायाँनाथ धाम,लामा समुदायमा रहेको वर्षौं पुराना गुम्बा चिटिम,परम्परागत मौलिक धार्मिक सांस्कृतिक रहनसहन भेषभूषाले भरिपूर्ण यो गाउँपालिका पर्यापर्यटनदेखि धार्मिक तथा अन्य प्रकारले पर्यटनका ठूलो सम्भावन भएको स्थान भए पनि सडक सञ्जालकै कारण सबै ओझेलमा परेका छन्।मुगुमा पाइने यार्सागुम्बा,गुच्ची च्याउ,पाँचऔंले र सतुवाजस्ता बहुमूल्य जडीबुटीको निकासी र ढुवानीमा स्थानीय संकलनकर्ता र व्यापारीहरूले ढुवानीका लागि सकस खेप्नुपरेको छ।
सडक पुगेको भए दैनिक उपभोग्य वस्तुको ढुवानी लागत घट्ने र यहाँका प्रसिद्ध रैथाने बाली सिमी,कोदो,चिनो,कागनो,स्याउ,घिउ र छुर्पीजस्ता उत्पादन बाह्य बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको भए पनि संघीय सरकारले यो सडकलाई प्रथामिकतामा नराख्दा पर्यटन र व्यापारको ठूलो सम्भावन भएको मुगुम कार्मारोङ गाउँपालिका ओझेलमा परेको मुगुम कार्मारोङ-१ कार्मा तामङको भनाइ छ।
मुगुम कार्मारोङ गाउँपालिका मतदाता अझै सशंकित
२,१०७ वर्ग किलोमिटर क्षेत्रफल र करिब ६,२२२ जनसंख्या रहेको मुगुम कार्मारोङ गाउँपालिकाका बासिन्दा यस सडकलाई आफ्नो भविष्यसँग प्रत्यक्ष जोडिएको परियोजनाका रूपमा हेर्छन्। स्थानीय अगुवा सोनाम तामङ भन्छन्,‘हरेक चुनावमा उम्मेदवारहरू यही सडक बनाउने प्रतिबद्धता जनाउँछन तर चुनाव सकिएपछि कसैले पनि चासो दिएको देखिँदैन। हामीले धेरै वर्षदेखि आशा मात्रै गरिरहेका छौं।’
अर्का स्थानीय युवा दोर्जे तामङ भन्छन्,‘सडक बने रोजगारी आउँछ,व्यापार बढ्छ र विदेश जानुपर्ने बाध्यता कम हुन्छ। तर,अहिलेसम्मको गतिले हेर्दा छिटो बन्नेमा विश्वास गर्न गाह्रो छ।’ यस्तै, व्यवसायी पेमा तामङले भने,‘नाक्चेलाग्ना नाकासम्म सडक जोडिएको भए हामीलाई चिनियाँ बजारसँग सिधा पहुँच मिल्छ। तर बजेट र प्राथमिकता नहुँदा योजना कागजमै सीमित जस्तो लाग्छ।’
चुनावी एजेन्डा तर कार्यान्वयनमा शंका
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको मुगुमा सात राजनीतिक दल प्रतिस्पर्धामा छन्। यो निर्वाचनमा नेकपा एमालेका पूर्णबहादुर रोकाया,कांग्रेसका खड्गबहादुर शाही,नेपाली कम्युनिस्टका चन्द्रबहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटा राप्रपाका बलबहादुर मल्ल,नेकपा माओवादी रगंवीर परियर र प्रलोपाका ऐटन मल्ल चुनावी मैदानमा छन्। सबैले मुगुम कार्मारोङवासीमा मत माग्ने मुख्य एजेन्डा गमगढी–नाक्चेलाग्ना सडक बनाएका भए पनि यहाँका स्थानीयमा अझै शंका रहेको छ।
तर,विगतका अनुभवका आधारमा स्थानीय सर्वसाधारण अझै सशंकित छन्। भोट माग्दा सडकको कुरा आउँछ,जितेपछि प्राथमिकता बदलिन्छ,। एक स्थानीय मतदाताले गुनासो गरे।कर्णालीको आर्थिक रूपान्तरणको आधार मानिएको यो सडक संघीय सरकार र निर्वाचित जनप्रतिनिधिको ठोस प्रतिबद्धता,पर्याप्त बजेट र स्पष्ट कार्ययोजनाबिना अघि बढ्न नसक्ने भएकाले यो परियोजनालाई निरन्तरताका लागि प्रदेश र स्थानीयतहको मातहतमा नपर्ने हुँदा संघीय सरकाले प्रथामिकतामा राख्नुपर्ने मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा बताउँछन्।
हरेक निर्वाचनमा यो सडक निर्माणको मुख्य ऐजेन्डा बनाएर निर्वाचनमा भाग लिएका उम्मेदवारसहित राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू मुगुम कार्मारोङ गाउँपालिकाको मतदाताहरूसँग मत माग्ने गर्छन्। गाउँ सडक पुग्ने आशाले उनीहरू आफूले चाहेको उम्मेदवारलाई मतादान पनि गर्दै आएको छन्। दुई दशकसम्म सडक निर्माणका विषयलाई प्रथामिकतामा नराख्दा निर्माणको विषय ओझेलमा परेको हो।
गाउँनै खाली हुने अवस्था
मुगुम कार्मारोङ गाउँपालिका का केही बस्तीमा पछिल्लो समय बसाइँसराइको क्रम तीव्र बन्दै गएको छ। सडक सञ्जाल विस्तार नहुँदा उनीहरू आफ्नो पुख्र्यौली घरजग्गा छोडेर अन्यत्र सदरमुकाम गमगढी,जुम्ला,काठमाडौं र भारतका विभिन्न स्थानमा बसाइँसराइ गर्दा गाउँनै खाली हुने खतरा बढेको छ।
सामन्य बिरामी हुँदा दुईदेखि तीन दिन पैदल हिँडेर सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ। सडक पुगेपछि बजार,सदरमुकामबाट खाद्यन्न ढुवानी गर्न खच्चडमार्फत ५० रुपैयाँ ढुवानी तिर्नुपर्छ। शिक्षा,स्वास्थ्य र रोजगारीका अवसर छैन। सडक सञ्जाल जोडिएको भए यहाँको उत्पादन बाह्य बजारसम्म पुर्याउन सहयोग पुग्ने थियो। आम्दानी केही नहुने भएपछि स्वास्थ्य शिक्षा र आम्दानीका लागि भए पनि अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यता रहेको स्थानीय युवा उर्गिन नन्डुप तामङले बताए।
मुगुम कार्मारोङ गाउँपालिका-१ वाँग्री सोही वडाको चिताइका ठूलो गाउँ र सानो गाउँ घर जग्गा छोडेर कोही सदरमुकाम गमगढी,जुम्ला काठमाडौं,भातर पुगेका छन्। कहीँ सानो संख्यामा चिताइकुना भन्ने स्थानमा बसाइँसराइ गरेका छन्।
स्थानीय धोर्वा तामङ भन्छन,‘सडक पुग्ला विकास गाउँको विकास होला भन्ने सोचेका थियौं। सडककै पुग्न अझै ढिलो हुने देखेपछि कारण हाम्रो गाउँ नै रित्तिन थालेको छ।’उनका अनुसार युवा जनशक्ति बाहिरिएपछि गाउँघर युवाविहीन हुन थालेपछि यहाँको उत्पादन,धार्मिक परम्परा र सामुदायिक एकतासमेत कमजोर हुने खतार बढेको बताउँछन्।
शिक्षा तथा स्वास्थ्यसेवाका लागि पनि धेरै परिवार बालबालिकालाई लिएर बजार क्षेत्रतर्फ बसाइँ सरेका छन्। सडक सञ्जालकै कारण रोजगारी र आयआर्जनका स्थानीय अवसर नहुँदा गाउँमा टिक्न सक्ने आधार कमजोर हुँदा युवाहरू रोजगारीका लागि बिदेसिनु परेको गाउँमा रहेका
युवाहरू बताउँछन्।
प्रतिक्रिया दिनुहोस !