कोशीका सबै सीमा नाकामा संयुक्त सुरक्षा फौज परिचालन
सुनसरी : कोशी प्रदेशका नेपाल–भारत तथा नेपाल–चीनसँग जोडिएका सबै अन्तर्राष्ट्रिय सीमा नाकामा संयुक्त सुरक्षा फौज परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। आउँदो बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको हो।
मंगलबार बिहान १ बजेदेखि प्रदेशका सबै सीमा नाकामा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। सशस्त्र प्रहरी बल नेपालको सुनसरीस्थित बराहा बाहिनी पकलीका डीआईजी मनिष थापाका अनुसार फागुन २१ गते राति १२ बजेसम्मका लागि सबै नाका सिल गरिएको छ।
उनले निर्वाचनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै भारत र चीनसँग सीमा जोडिएका जिल्लाका सबै अन्तर्राष्ट्रिय नाकामा कडाइ गरिएको जानकारी दिए। भारतसँग सीमा जोडिएका सुनसरी, मोरङ, झापा र इलाम तथा चीनसँग सीमा जोडिएका ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुका प्रमुख नाकाहरू पूर्ण रूपमा बन्द गरिएका छन्। यस अवधिमा नेपाल–भारत तथा नेपाल–चीन बीचको नियमित आवतजावत रोकिएको छ।
निर्वाचन अवधिभर सीमा क्षेत्रमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) तथा चिनियाँ सुरक्षा निकायसँग समन्वय गरी संयुक्त रूपमा सुरक्षा फौज परिचालन गरिएको डीआईजी थापाले बताए। सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै संयुक्त गस्ती, निगरानी र चेक जाँचलाई तीव्र बनाइएको छ।
सुनसरीको लौकही र कप्तानगञ्ज, मोरङको जोगबनी, झापाको काँकडभिट्टा र गौरिगञ्ज, इलामको पशुपतिनगर, ताप्लेजुङको ओलाचुङगोला तथा संखुवासभाको किमाथांका लगायतका प्रमुख नाकामा कडा सुरक्षा घेरा बनाइएको छ। संवेदनशील क्षेत्रहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बलको ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले अत्यावश्यक बाहेक कुनै पनि व्यक्ति वा सवारी साधनलाई आवतजावत गर्न नदिइने बताए। उनले निर्वाचन अवधिभर सीमा क्षेत्रमा चौबिसै घण्टा निगरानी राखिने, संयुक्त गस्ती सञ्चालन गरिने र सुरक्षा व्यवस्थामा कुनै ढिलासुस्ती हुन नदिइने बताएका छन्।
कोशी प्रदेशमा मतदानलाई प्रभाव पार्ने सम्भावित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय उच्च तयारीमा रहेको जनाइएको छ। संयुक्त सुरक्षा फौजको सक्रियता र सीमा नाकामा कडाइका कारण प्रदेशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस !