अक्सिजनसहित मतदान केन्द्र पुगे ६७ वर्षीय उप्रेती
धादिङ : लोकतन्त्रको पर्वमा भाग लिनुपर्छ भन्ने प्रतिबद्धता कहिलेकाहीँ जीवनकै चुनौतीभन्दा ठूलो हुन्छ । यही जीवन्त उदाहरण हुन् त्रिपुरासुन्दरी गाउँपालिका–१ रानिपौवाका ६७ वर्षीय मतदाता रामबहादुर उप्रेती ।

स्वास्थ्य अवस्था नाजुक भएका उप्रेती सामान्य सास फेर्नै कठिनाइ भइरहेका थिए । चिकित्सकहरूले घरमै आराम गर्न सल्लाह दिएका थिए। तर, लोकतन्त्रको महत्व र आफ्नो कर्तव्यको जिम्मेवारीले उनलाई रोक्न सकेन । अक्सिजन सिलिण्डर र एम्बुलेन्सको सहायतामा मतदान केन्द्रसम्म यात्रा गरी उनले आफ्नो मताधिकार प्रयोग गरे ।
मतदान केन्द्र पुग्दा उपस्थित मतदाता, कर्मचारी र सुरक्षाकर्मीहरू भावुक भए । केहीले आँशु पुछ्दै उनको साहसलाई नमन गरे । स्थानीय मतदाताको भनाइ छ, ‘उहाँ जस्तो नागरिक देख्दा मतदान केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो भन्ने महसुस हुन्छ ।’ उप्रेतीको यो कदम केवल भौतिक यात्रा थिएन, यो लोकतन्त्रप्रतिको गहिरो प्रतिबद्धता र जिम्मेवारीको प्रतीक बन्यो । उनको दृढ अठोटले शान्तिपूर्ण निर्वाचनको महत्वलाई झल्कायो र अन्य नागरिकलाई आफ्नो कर्तव्य सम्झाउन प्रेरित गर्यो ।

धादिङका मतदान केन्द्रहरू आज शान्तिपूर्ण थिए, तर उप्रेती जस्ता मतदाताको उपस्थितिले मतदानको उत्सवलाई अझ अर्थपूर्ण बनायो । उनको कथा केवल स्थानीय मतदाताका लागि नभई सम्पूर्ण देशका नागरिकका लागि उदाहरण बनेको छ । रामबहादुर उप्रेतीको साहसले हामीलाई सम्झाउँछ मतदान केवल अधिकार मात्र होइन, हाम्रो कर्तव्य पनि हो । जीवनका चुनौतीलाई पार गर्दै लोकतन्त्रमा भाग लिन पुगेको उनको उदाहरण सम्पूर्ण नागरिकका लागि प्रेरणादायी छ ।
प्रतिक्रिया दिनुहोस !