मोरङमा समानुपातिकमा पनि रास्वपा पहिलो

मोरङमा समानुपातिकमा पनि रास्वपा पहिलो
सुन्नुहोस्

विराटनगर : मोरङमा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतपरिणामबाट पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै पहिलो बनेको छ। 

परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता दलहरूको प्रभाव रहेको जिल्लामा यसपटक रास्वपाले अप्रत्याशित रूपमा अत्यधिक मत प्राप्त गर्दै एकल वर्चस्व स्थापित गरेको छ। प्रत्यक्षतर्फ जिल्लाका सबै ६ वटै निर्वाचन क्षेत्रमा विजय हासिल गरिसकेको रास्वपा समानुपातिकतर्फ पनि आधाभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थानमा रहँदा पुराना दलहरू निकै पछाडि धकेलिएका छन्। 

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मोरङमा समानुपातिकतर्फ कुल ५ लाख ५ हजार ६८ मत खसेको थियो। त्यसमध्ये २८ हजार ४९९ मत बदर भएका छन्। सदर भएको ४ लाख ७६ हजार ५६९ मतमध्ये सबैभन्दा धेरै रास्वपाले पाएको हो। रास्वपाले २ लाख ५४ हजार २१ अर्थात् ५३.३० प्रतिशत मत प्राप्त गरेको छ। यसले नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपालाई मतदाताको व्यापक समर्थन रहेको प्रष्ट पार्छ। 

निर्वाचन आयोगका अनुसार बाँकी ४६.७० प्रतिशत मत अन्य दलहरूमा विभाजित भएको छ। मोरङमा लामो समयदेखि बलियो प्रभाव राख्दै आएको कांग्रेस ६६ हजार ९०७ मतसहित दोस्रो स्थानमा सीमित भएको छ। नेकपा (एमाले) ४९ हजार १३२ मत प्राप्त गर्दै तेस्रो स्थानमा झरेको छ। 

यसपटक चौथो स्थानमा श्रम संस्कृति पार्टी देखिएको छ। नयाँ शक्तिका रुपमा उदाएको श्रम संस्कृतिले ४४ हजार २०१ मत प्राप्त गरेको छ। पाँचौं स्थानमा रहेको नेपाली कम्युनष्टि पार्टी (नेकपा)ले १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ हजार ४३२, जनता समाजवादी पार्टी (जसपा) नेपालले ७ हजार ५१४ र राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले २ हजार ६५४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

मोरङको यसपटकको मतपरिणामले जिल्लाको राजनीतिक आधारमा ठूलो परिवर्तन ल्याइदिएको छ। विशेष गरी युवा पुस्ता र वैकल्पिक राजनीतिक धार खोजिरहेका मतदाताहरू रास्वपातर्फ आकर्षित भएको देखिन्छ। परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको अपेक्षाले रास्वपालाई ठूलो समर्थन प्राप्त भएको विश्लेषण गरिएको छ।

मोरङमा प्रतिनिधिसभा अन्तर्गत ६ वटा निर्वाचन क्षेत्र रहेका छन्। समानुपातिक मतगणनामा सबै क्षेत्रमा रास्वपा पहिलो स्थानमा रहँदा अन्य दलहरू निकै पछाडि परेका छन्। क्षेत्र नम्बर १ मा रास्वपाले २९ हजार २९८ मत प्राप्त गरेको छ। यस क्षेत्रमा श्रम संस्कृति पार्टी १७ हजार ५७० मतसहित दोस्रो स्थानमा रहेको छ। एमालेले ९ हजार ६९२,  कांग्रेसले ९ हजार ११८, नेकपाले २ हजार २७ र राप्रपाले १ हजार ६६५ मत पाएका छन्। 

क्षेत्र नम्बर २ मा पनि रास्वपाले ४३ हजार ५०७ मतसहित पहिलो स्थानमा रहेर प्रभावशाली उपस्थिति जनाएको छ। एमालेले १२ हजार ४०३, कांग्रेसले ११ हजार ६३१, श्रम संस्कृति पार्टीले २ हजार ४४०, राप्रपाले १ हजार ६४३ र नेकपाले १ हजार ५६३ मत प्राप्त गरेका छन्। 

क्षेत्र नम्बर ३ मा पनि रास्वपाले ४३ हजार ५०७ मत प्राप्त गरेको छ। एमालेले १२ हजार ४०३, कांग्रेसले ११ हजार ६३१, श्रम संस्कृति पार्टीले २ हजार ४४०, राप्रपाले १ हजार ६४३ र नेकपाले १ हजार ५६३ मत ल्याएका छन्। क्षेत्र नम्बर ४ मा रास्वपा ४६ हजार १५७ मतसहित पहिलो बनेको छ। नेपाली कांग्रेसले १० हजार ३४० मत ल्याएर दोस्रो हुँदा ६ हजार ५४५ मतसहित नेकपा तेस्रो भएको छ।  एमालेले ६ हजार ३१४, राप्रपाले २ हजार ४१३ र श्रम संस्कृति पार्टीले १ हजार ४३० मत पाएका छन्। 

क्षेत्र नम्बर ५ मा पनि रास्वपाले ३७ हजार ९४७ मत प्राप्त गरेको छ। कांग्रेसले ८ हजार ७९२, जसपाले ६ हजार ५१५, नेकपाले ६ हजार २२८, एमालेले ५ हजार ९३२ र राष्ट्रिय ऊर्जाशील पार्टीले २ हजार ३७४ मत प्राप्त गरेको आयोगले जनाएको छ। 
मोरङका सबैमध्ये समानुपातिकतर्फ क्षेत्र नम्बर ६ मा रास्वपाले धेरै मत प्राप्त गरेको छ। ५४ हजार ५०० मतसहित रास्वपा पहिलो बनेको हो। कांग्रेसले ११ हजार ९६४, एमालेले ७ हजार २४, श्रम संस्कृति पार्टीले ३ हजार ७५४, राप्रपाले ३ हजार ६३६ र नेकपाले १ हजार ९३० मत प्राप्त गरेका छन्। 

पछिल्लो निर्वाचनको मतपरिणामले मोरङको राजनीतिक धारणा उल्लेखनीय रूपमा बदलिएको देखिन्छ। लामो समयदेखि कांग्रेस र एमालेजस्ता दलहरूको प्रभाव रहेको जिल्लामा यसपटक नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले मतदाताबाट व्यापक समर्थन प्राप्त गरेको हो। प्रत्यक्षतर्फ पनि मोरङका सबै ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका थिए। क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्की, क्षेत्र नम्बर ३ मा गणेश कार्की, क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी, क्षेत्र नम्बर ५ मा आशा झा र क्षेत्र नम्बर ६ मा रुबिना आचार्य निर्वाचित भएका हुन्। 

मोरङमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनतर्फको मतपरिणाम रास्वपाको पक्षमा गएको हो। नयाँ शक्ति र नेतृत्वको खोजीमा रहेका मतदाताहरूले यसपटक वैकल्पिक राजनीतिक शक्तिलाई समर्थन गरेको पाइयो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.