मोदीलाई बालेनको जवाफ- नेपाल-भारत सम्बन्धलाई सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्छौं
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ल भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'एक्स'मा जवाफ दिँदै नेपालका भावी प्रधानमन्त्री बालेनले टी-२० विश्वकप जितेकोमा पनि बधाई दिएका छन्।
उनले नेपाल र भारतीबीचको सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाइने बताए। 'नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु,' बालेनले भारतीय प्रधानमन्त्री मोदीलाई जवाफमा लेखेका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै बालेन निर्वाचित भएका थिए। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा एक्लैले बहुमत प्राप्त गरेको छ। समानुपातिक मत जोड्दा झन्डै रास्वपाले दुई तिहाइ सिट ल्याउने भएको छ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले बालेन र रास्वपा सभापति रवि लामिछानेसँग टेलिफोन संबाद गरेका थिए। उनले निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि बधाई दिका थिए। आगामी नयाँ सरकारका लागि शुभकामना दिँदै उनले दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस !