५ महिनामै राष्ट्रिय दल बन्यो श्रम संस्कृति
सुनसरी : धरानका पूर्वमेयर हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी स्थापनाको ५ महिनामै राष्ट्रिय दल बन्न सफल भएको छ। प्रत्यक्षमा ३ सिटसहित समानुपातिकमा ३ प्रतिशत बढी मत प्राप्त गरी श्रम संस्कृति पार्टी संसद्मा पाँचौं ठूलो दल बनेको छ। उसले समानुपातिकमा ३ लाख ८५ हजार ८ सय ६ मत अर्थात् ३.६ प्रतिशत मत प्राप्त गरी ‘थ्रेस होल्ड’ पार गरेको छ। पार्टीले समानुपातिकतर्फ ४ सिट सुरक्षित गरेको छ। यससँगै प्रतिनिधिसभामा श्रम संस्कृतिका ७ जना सांसद हुने भएका छन्।
छोटो समयमै नयाँ दलले राष्ट्रिय राजनीतिको केन्द्रमा प्रवेश गर्नु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ। प्रत्यक्षतर्फ १ सय २५ सिट जित्दै उक्त दल पहिलो स्थानमा रहेको छ। १८ सिटसहित कांग्रेस दोस्रो ठूलो दल बन्दैछ। प्रत्यक्षमा ९ सिट जितेर एमाले तेस्रो र ८ सिट जितेर नेपाली कम्युनिस्ट पार्टी चौथो बनेका छन्। श्रम संस्कृति पार्टी पाँचौं राष्ट्रिय दलका रूपमा उभिएको छ। १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी समानुपातिकमा थ्रेस होल्ड कटाउँदै छैटौं दल बनेको छ।
श्रम संस्कृति पार्टी गत असोज महिनामा मात्रै स्थापना भएको हो। अध्यक्ष हर्कराज राईले असोजको अन्तिम साता निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। आयोगले कात्तिक १६ गते औपचारिक रूपमा दर्ता गर्दै प्रमाणपत्र प्रदान गरेको थियो। ‘माटो’ चुनाव चिह्न लिएर चुनावमा होमिएको श्रम संस्कृतिले छोटो अवधिमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल भएको धरानका रमेश रोदुङ राईले बताए।
भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ पछि धरानका तत्कालीन मेयर राई प्रधानमन्त्रीको आकांक्षासहित काठमाडौं पुगेका थिए। तर, प्रधानमन्त्री नबनेपछि उनी आक्रोशित बनेर आफ्नै नेतृत्वमा पार्टी खोले। बहुमत ल्याएर सरकार गठन गर्ने र आफू प्रधानमन्त्री बन्ने भन्दै उनले चुनावमा भोट मागेका थिए। श्रम संस्कृति पार्टीले देशभर १ सय ९ स्थानमा उम्मेदवारी दिएको थियो। तीमध्ये तीन जनाले प्रत्यक्षतर्फ विजय हासिल गरेका छन्। अध्यक्ष राई सुनसरी–१ बाट निर्वाचित भए। त्यस्तै पार्टीका महासचिव आरएन राई खोटाङबाट तथा नेता ध्रुव राई भोजपुरबाट निर्वाचित भए।
निर्वाचन परिणाम सार्वजनिक भएपछि श्रम संस्कृति पार्टीले बुधबार धरानमा विजय जुलुस निकालेको थियो। अध्यक्ष राईसहित पार्टीका नेता–कार्यकर्ताले मतदातालाई धन्यवाद दिएका थिए। छोटो समयमै पार्टीलाई राष्ट्रिय दल बनाउन सहयोग गर्ने मतदातालाई धन्यवाद दिँदै अध्यक्ष राईले संसद्मा जनताका आवाज बुलन्द रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
‘पुराना दलप्रति जनताको असन्तुष्टि बढ्दै जाँदा वैकल्पिक शक्तिका रूपमा नयाँ दलहरू उदाउन थालेका छन्,’ धरान–१५ का हरि पिदिमुले भने, ‘जसको एउटा उदाहरण श्रम संस्कृति पार्टी पनि हो।’
प्रतिक्रिया दिनुहोस !