चन्द्रपुर-५ मा 'स्वाइन फिभर'ले बङ्गुर मरेपछि किसान चिन्तित
रौतहट : चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र ५ मा कृषकले पालेका बङ्गुरमा 'स्वाइन फिभर' देखा परेको छ । स्वाइन फिभरका कारण अहिलेसम्म १६ वटा बङ्गुर एकैपटक मरेपछि स्थानीय किसान त्रसित बनेका छन् । बङ्गुरहरूमा स्वाइन फिभरसँग मिल्दोजुल्दो लक्षण देखिएपछि रोग फैलिन सक्ने आशंकाले पशुपालक किसानमा चिन्ता बढेको हो।
स्थानीय कृषक हिरा गुरोका अनुसार केही दिनयता बङ्गुरहरूमा ज्वरो आउने,खान नखाने,कमजोर हुँदै जाने र अचानक मर्ने जस्ता लक्षण देखिएको थियो। त्यसपछि क्रमशः १६ वटा बङ्गुर मरेको गुरोले जानकारी दिए ।
उता,चन्द्रपुर ४ कि किसान शान्ति मगरको समेत बङ्गुर स्वाइन फिभरले मरेको डाक्टर चौधरीले बताए । पशु सेवा कार्यालय चन्द्रनिगापुरका प्रमुख सुबल चौधरीले बङ्गुरमा देखिएको लक्षण स्वाइन फिभरसँग मिल्दोजुल्दो रहेको प्रारम्भिक अनुमान गरिएको बताए । रोगको यकिन कारण पत्ता लगाउन थप परीक्षण आवश्यक रहेको चौधरीले बताए।
चौधरीका अनुसार यस्तो रोग देखिएमा छिट्टै अन्य बङ्गुरमा पनि फैलिन सक्ने जोखिम रहने भएकाले किसानले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले बङ्गुर पालन गर्ने किसानलाई बिरामी बङ्गुरलाई अन्य स्वस्थ बङ्गुरबाट अलग राख्न,खोरको सरसफाइमा ध्यान दिन र कुनै असामान्य लक्षण देखिए तुरुन्त पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्।
'बङ्गुरमा देखिएको लक्षणलाई हल्का रूपमा लिनु हुँदैन, समयमै जानकारी दिएमा रोग नियन्त्रण गर्न सहज हुन्छ,'चौधरीले भने। पशु सेवा कार्यालयले चन्द्रपुर क्षेत्रका बङ्गुर पालन किसानलाई सतर्क रहन र बङ्गुरमा ज्वरो, कमजोरी, खान नखाने वा अचानक मृत्यु हुने जस्ता लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरेको छ।
स्थानीय किसानको आयआर्जनको प्रमुख स्रोत बङ्गुर पालन भएकाले रोग फैलिन नदिन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग समेत किसानले गरेका छन्।
प्रतिक्रिया दिनुहोस !