इनिशा बिक हत्या प्रकरण : निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन

इनिशा बिक हत्या प्रकरण : निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन
सुन्नुहोस्

बझाङ : सुर्खेतमा किशोरी इनिशा बिकको बलात्कारपछि भएको हत्या घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै बझाङमा पनि विरोध प्रदर्शन गरिएको छ ।

दलित अधिकार एकता सञ्जाल बझाङको नेतृत्वमा जिल्लाको सदरमुकाम चैनपुरमा दबाबमूलक र्‍याली तथा प्रदर्शन कार्यक्रम आयोजना गरिएको हो । सञ्जालका संयोजक झलक ओखेडाको नेतृत्वमा आयोजित विरोध र्‍यालीमा विभिन्न नागरिक अगुवा, दलित अधिकारकर्मी, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय दिन तथा यस्ता जघन्य अपराध दोहोरिन नदिन सरकारलाई दबाब दिनुपर्ने माग गरेका छन् । उनीहरूले ‘इनिशाका बलात्कारी तथा हत्यारालाई कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘नारीको सम्मान गर’, ‘घटनाको सत्यतथ्य छानबिन गर’, ‘बलात्कारीलाई कारागार व्यवस्थापन गर्न पाइँदैन’, लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

चैनपुर बजार क्षेत्रबाट सुरु भएको र्‍याली विभिन्न स्थान हुँदै जिल्ला प्रशासन कार्यालय हात्तीसार बझाङ पुगेर कोणसभामा परिणत भएको थियो । सो क्रममा प्रदर्शनकारीहरूले सरकारको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय तथा दोषीलाई कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले पीडितलाई न्याय दिलाउन सम्बन्धित निकाय गम्भीर रहेको भन्दै उक्त पत्र प्रधानमन्त्री कार्यालयमा पठाइने बताएका छन् । साथै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रियामा सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।

दलित अधिकार एकता सञ्जाल बझाङका संयोजक झलक ओखेडाले समाजमा अझै पनि दलित तथा महिलामाथि हुने हिंसाका घटना घटिरहेकाले राज्य गम्भीर बन्नुपर्ने बताए । उनले इनिशा बिकमाथि भएको जघन्य अपराध मानवता विरुद्धको अपराध भएको भन्दै दोषीलाई कडा सजाय नदिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

गत दिन सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा बिक मृत अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा बलात्कार भएको आशंका गरिएपछि पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख भएपछि घटना झनै गम्भीर बनेको छ ।

घटनापछि स्थानीयस्तरमा व्यापक आक्रोश फैलिएको छ भने विभिन्न मानवअधिकारकर्मी, नागरिक समाज, महिला अधिकारकर्मी तथा दलित अधिकारसँग सम्बन्धित संघसंस्थाहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गर्दै आएका छन् । यस घटनाले महिलामाथि हुने हिंसा तथा दलित समुदायमाथि हुने विभेदको प्रश्नलाई पुनः गम्भीर रूपमा उठाएको भन्दै सरोकारवालाहरूले यस्ता अपराध रोक्न कडा कानुनी कार्यान्वयन, सामाजिक सचेतना र राज्यको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.