साफ च्याम्पियनसिपमा नवनियुक्त प्रशिक्षक एरेनाको अर्जुन दृष्टि
काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले नयाँ प्रशिक्षकको रूपमा गुल्लिएल्मो एरेनालाई पाएको छ। एक वर्ष नेपाली राष्ट्रिय टिम सम्हाल्ने गरी सम्झौता गरेका एरेनाले अक्टोबरमा हुने साफ च्याम्पियनसिप आफ्नो लक्ष्य रहेको बताए। गत कात्तिकमा म्याट रसले राजीनामा दिएपछि राष्ट्रिय टिमको प्रशिक्षकविहीन बनेको थियो।
रसको राजीनामा पश्चात एन्फाले विज्ञापन खुलाएको थियो । जसमा ८०० सय बढी निवेदन परेका थिए । त्यसबाट एन्फाले १० जनाको नाम सर्टलिष्ट गरेको थियो । जसमा ३ जनाको अन्तरवार्ता लिँदै गुल्लिएल्मो एरेना छनोट भएका थिए । उनीसँग एन्फाले दिने सेवा सुविधा र तलबको विषयमा सहमति भएपछि बिहीबार उनीसँग एन्फाले सम्झौतामा हस्ताक्षर गरेको हो । २०२६ को मार्च १ बाट २०२७ को फेब्रुअरी ३० सम्म उनको सम्झौता रहेको छ ।
उनी नेपालअघि लाओसको राष्ट्रिय टिमसँग आवद्ध थिए । लाओसको टिममा रहँदा उनले नेपाली राष्ट्रिय टिमको जानकारी राखेका थिए। उनले नेपालको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा आउँदा आफू खुशी रहेको बताए । ‘नेपाली राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा आउन पाउँदा निकै खुशी छु’, उनले सम्झौता भएको दोस्रो दिन पत्रकार सम्मेलनमा बोल्दै भने ।
उनले पहिलो दिन पत्रकार भेटघाटमा नै आफ्नो मुख्य लक्ष्य भने अक्टोबरमा हुने साफ च्याम्पियनसिप रहेको बताए । ‘हामी अब २०२६ मा हुने प्रतियोगिताका लागि तयारी गर्नेर्छौं । हाम्रो मुख्य लक्ष्य भनेको नेपालको राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिपका लागि तयार गर्ने हो ।’
युवा खेलाडी र प्राविधिक पक्ष केलाउँदै एरेना
२४ वर्ष लामो प्रशिक्षण अनुभव बोकेर नेपाल आएका एरेना नेपाली राष्ट्रिय टिममा युवा जोश भर्न चाहन्छन् । उनी भन्छन्, ‘नेपाली टिममा राम्रो क्षमता छ । तर अहिले २५–३० जना खेलाडीसँग मात्रै अन्तर्राष्ट्रियस्तरमा खेल्ने क्षमता छ । तर हामी यो नम्बरलाई बढाउन चाहन्छौं । हरेक खेलाडीलाई राष्ट्रिय टिममा आउने आशा र विश्वास हुनुपर्छ ।’
दुई साता अगाडि नेपाल आएका एरेनाले राष्ट्रिय लिगका केही खेलहरु हेरे । जसमा उनले केही युवा प्रतिभामा राष्ट्रिय टिमको क्षमता भएको बताए । ‘म नेपाल आएको २ हप्ता भयो । म यहाँ आएपछि मैले राष्ट्रिय लिगको खेलहरु पनि हेरें । केही खेलाडीहरुमा राम्रो क्षमता छ । तर नेपालको लिग खेलेको खेलाडीमा फिटनेस र प्राविधिक पक्षको ज्ञानको आवश्यकता छ ।’
नेपाली टिममा आउँदा नेपालको ३ वर्षयताको नतिजा र इतिहासको विश्लेषण गरेर आएका एरेना नेपाली टिममा पनि सुधारको सम्भावना देख्छन् । ‘हरेक देशको टिममा सुधारको पक्ष हुन्छ । हामी नेपालको टिममा पनि सुधार गर्न चाहन्छौं ।’ उनले यसै विषयमा पत्रकारको प्रश्नको उत्तर दिँदै भने, ‘२-३ वर्षमा नेपाली टिममा के–के भयो भन्ने थाहा छ । त्यसैलाई हामी सुधार गर्ने लक्ष्यमा रहने छौं ।’
उनी नेपाली खेलाडीमा राष्ट्रिय टिमको भोक जगाउन चाहन्छन् । ‘हरेक युवा खेलाडीलाई राष्ट्रिय टिममा प्रदर्शन गर्ने भोक हुनुपर्छ । यसले नै राष्ट्रिय टिम बलियो बन्छ’, उनले भने ।
नतिजा र वरीयता सुधारको सम्भावना कति ?
पछिल्लो समय आलोचना मात्रै पाइरहेको नेपाली फुटबलमा एरेना केही सकारात्मकता थप्न चाहन्छन् । उनी नेपालका फुटबल समर्थकलाई खुशी दिन चाहन्छन् । नेपालले चैतको १२ गते घरेलु मैदान दशरथ रंगशालामा हङकङ चाइनासँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले एएफसी एसियन कप तेस्रो चरणको अन्तिम खेल खेल्न नेपाल लाओस जानेछ ।
नेपाली राष्ट्रिय टिमसँग एरेनाले हङकङ चाइनाको खेलमा प्रशिक्षकको रुपमा डेब्यू गर्नेछन् । उनी यी खेलहरुमा सकारात्मक नतिजा दिन चाहन्छ । ‘हङकङ चाइना र लाओससँगको खेलमा हामी केही सकारात्मक पक्ष पस्किन चाहन्छौं । समर्थकहरु नतिजाको खोजीमा हुनेछन् । हाम्रो पनि प्रयास सम्पूर्ण नेपाली समर्थकलाई खुशी पार्ने नै रहने छ ।’
सन् २०२३ मा लाओसको प्रशिक्षक रहेका एरेनालाई लाओसको राष्ट्रिय टिमको जानकारी छ । तर पछिल्लो समय राष्ट्रिय टिममा नयाँ प्रशिक्षक आएकाले आफूलाई केही कुरा थाहा भए पनि नयाँ प्रशिक्षक आएसँगै टिम परिवर्तन भएको बताए । ‘लाओससँग म २०२३ मा थिएँ । लाओसको केही कुरा मलाई थाहा छ । तर नयाँ प्रशिक्षक आएसँगै त्यहाँ परिवर्तन पनि आएका छन् । उनीहरुको टिममा भन्दा हामी हाम्रो खेल बलियो देखाउने प्रयात्नमा हुनेछौं ।’
नेपाली राष्ट्रिय टिमले पछिल्लो समय खेल्दै आएका केही खेलहरुमा स्कोरिङको समस्या देखिएको छ । जसको बारेमा प्रशिक्षक एरेना जानकार छन् । ‘नेपालको राष्ट्रिय टिममा स्कोरिङको समस्या रहेको छ । यो समस्या दक्षिण अमेरिका र युरोपमा पनि समस्या हुन्छ । तर हामी यसलाई सुर्धान सक्छौं ।’
खेल सुधारेको खण्डमा नेपालले गिरावटमा रहेको नेपालको फिफा वरियतामा पनि सुधार हुने प्रशिक्षक एरेनाले बताए । पत्रकारसँगको पहिलो भेटघाटमा पत्रकारको वरियता चासोमा उनको उत्तर थियो, ‘फिफा वरियता सुधार्ने भनेको हामीले हाम्रो खेलबाट नै हो । खेलाडीले राम्रो जीवनशैली, फिटनेस, राम्रो अभ्यास र बलियो मानसिकताका साथमा खेल सुधार गरेमा नै वरियता सुधार हुनेछ ।’
एन्फा साफ च्याम्पियनसिप जित्न चाहन्छ
नेपाली फुटबलको संघीय निकाय एन्फा नयाँ प्रशिक्षकको आगमनसँगै साफ च्याम्पियनसिप जित्न चाहन्छ । केही समय नेपाली पुरुष टिमको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका प्राविधिक निर्देशक हरि खड्काले बताए । ‘उहाँले मागेका सम्पूर्ण आवश्यक सामाग्री हामी दिनेछौं । अब एक वर्ष उहाँले राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्नु हुनेछ । हाम्रो र उहाँको लक्ष्य साफ च्याम्पियनसिप जित्ने नै हुनेछ’, उनले पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षकको मिडिया साक्षात्कार कार्यक्रममा भने ।
यहि कुरा प्रशिक्षक एरेनालाई पत्रकारले सोध्दा, उनी भने नेपाली राष्ट्रिय टिमसँग केही हप्ता काम गरेपछि मात्रै बोल्ने बताए । ‘यसको (साफ च्याम्पियनसिप) बारेमा भने मैले केही हप्ता काम गरेपछि मात्रै यसबारे भन्न सक्छु’, उनले भने । उनले यसैमा थप्दै भने, ‘सबैले कम बोल्ने र धेरै कामले देखाउनु पर्छ ।’ ‘मैले नेपालको ३ वर्षको नतिजा विश्लेषण गरेको छु । मैले लाओसको प्रशिक्षकको रुपमा काम गर्दा नै नेपाली टिमको विश्लेषण गरेको थिएँ । सबैले थोरै बोलेर धेरै काम गर्नुपर्छ ।’
नेपाली राष्ट्रिय टिमको नयाँ प्रशिक्षक एरेना नेपालकी प्राविधिक टोलीसँग नै काम गर्नेछन् । उनले यो कुरा पहिलो पत्रकार सम्मेलनमा नै स्पष्ट पारेका हुन् । ‘म नेपाली सहायकहरुसँग नै काम गर्नेछु ।’ पछिल्ला प्रशिक्षकहरुले एन्फाले आफूहरुलाई निर्णयको पूर्ण स्वतन्त्रता नदिएको बताउँदै आएका थिए । यस विषयमा प्राविधिक निर्देशक हरि खड्काले भने, ‘एन्फाले उहाँलाई पूर्ण स्वतन्त्रता दिनेछ । उहाँलाई साफ च्याम्पियनसिपसम्म नेपाली सहायक प्रशिक्षकहरुले नै साथ दिनेछन् ।’
प्रतिक्रिया दिनुहोस !