सुनसरीमा हर्क-दीपकले ढाले मनमोहन र गिरिजाको किल्ला

सुनसरीमा हर्क-दीपकले ढाले मनमोहन र गिरिजाको किल्ला
सुन्नुहोस्

सुनसरी : यस पटकको प्रतिनिधिसभा निर्वाचनमा सुनसरीका दुई ऐतिहासिक राजनीतिक क्षेत्रमा अप्रत्याशित रूपमा राजनीतिक समीकरण परिवर्तन भएसँगै यसको चर्चा सुरु भएको छ। 

लामो समयसम्म कम्युनिस्ट आन्दोलनका अगुवा तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको प्रभाव रहेको सुनसरी–१ र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ऐतिहासिक प्रभाव रहेको सुनसरी–४ यसपटक आफ्नो परम्परागत किल्ला जोगाउन एमाले र कांग्रेस पार्टी असफल भएका छन्।

दुवै क्षेत्रमा देखिएको हार केवल चुनावी पराजय मात्र नभई प्रमुख दलहरू कांग्रेस र एमालेको आन्तरिक विवाद, उम्मेदवारी छनोटको कमजोरी, सामाजिक समीकरणको उपेक्षा र नयाँ राजनीतिक शक्तिको उदयसँग जोडिएको विश्लेषण गरिएको छ। 

सुनसरी क्षेत्र नम्बर-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई निर्वाचित भएका छन्। उनी धरानको मेयरबाट राजीनामा दिएर चुनावमा उम्मेदवार बनेका थिए। रास्वपाकी गोमा तामाङ उपविजेता बन्दा सुनसरी-१ एमालेका उम्मेदवार टिकाराम लिम्बूको जमनात जफत भएको छ। सुनसरी-४ मा रास्वपाका दीपक साह निर्वाचित भएका छन्। यस क्षेत्रबाट २०७४ र २०७९ मा निर्वाचन जितेका पूर्व मन्त्री साहसँग भारी मतले पराजित भए।

उम्मेदवारी विवादले कमजोर बन्यो एमाले

सुनसरी–१ लामो समयदेखि कम्युनिस्ट आन्दोलनको प्रभाव रहेको क्षेत्र हो। बहुदल पुनर्स्थापनापछि भएको २०४८ सालको निर्वाचनमा यही क्षेत्रबाट मनमोहन अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसयता विभिन्न निर्वाचनमा कम्युनिस्ट धारकै उम्मेदवार विजयी हुँदै आएका थिए। जसका कारण यो क्षेत्र ‘मनमोहनको राजनीतिक आधारभूमि’का रूपमा चिनिन्थ्यो।

तर, यसपटक एमालेले उम्मेदवार छनोटमै गम्भीर रणनीतिक गल्ती गरेको विश्लेषण गरिएको छ। प्रारम्भमा सूर्य पन्ध्राक लिम्बुलाई उम्मेदवार बनाउने तयारी भए पनि अन्तिम समयमा टिकट परिवर्तन गरेर टीका लिम्बुलाई उम्मेदवार बनाइएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको थियो। 

धरान क्षेत्रमा राई समुदायको उल्लेख्य बाहुल्य रहेको अवस्थामा एमालेले समुदायगत समीकरणलाई ध्यान नदिएको आरोप पनि उठेको छ। २०७९ को स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाएर आलोचना खेपेको एमालेले यसपटक पनि त्यस्तै रणनीतिक कमजोरी दोहोर्‍याएको एमालेका स्थानीय नेताहरू बताउँछन्। 

एमालेभित्र रहेको  ‘१० बुँदे’ समूहको असन्तुष्टि पनि चुनावी परिणाममा निर्णायक बनेको बताइन्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा उक्त समूहलाई प्राथमिकता नदिएको भन्दै कार्यकर्तामा असन्तोष बढेको थियो।

एमाले कोशी प्रदेश कमिटी सदस्य भीमज्वाला राईले पार्टी नेतृत्वको कमजोरी र  आन्तरिक मतभेद समयमै समाधान गर्न नसक्दा परिणाम प्रतिकूल आएको बताए। पार्टीभित्रको असन्तुष्टि मिलाउन नसक्दा र कार्यकर्तालाई एकताबद्ध बनाउन नसक्दा पराजय बेहोर्नु परेको उनको भनाइ छ। यसपटकको चुनावमा भएको हारबाट पाठ सिक्दै पार्टीलाई पुनर्निर्माण गरी विगतका कमी कमजोरी बेलैमा सुधार गर्नुपर्ने राईको सुझाव छ। 

सुनसरी–१ मा सामाजिक र जातीय समीकरण पनि चुनावी परिणाममा प्रभावशाली बनेको देखिएको छ। धरान क्षेत्रमा राई समुदायको उल्लेख्य जनसंख्या रहेको छ। तर, उम्मेदवारी छनोटमा उक्त समुदायको भावनालाई सम्बोधन गर्न नसक्दा एमालेको परम्परागत समर्थन कमजोर भएको स्थानीय कार्यकर्ता बताउँछन्।

कांग्रेसको आन्तरिक विभाजनले गिरिजाको विरासत कमजोर 

सुनसरी–४ नेपाली कांग्रेसका लागि ऐतिहासिक क्षेत्र मानिन्छ। यही क्षेत्रबाट गिरिजाप्रसाद कोइराला २०४८, २०५१ र २०५६ को निर्वाचनमा विजयी भएका थिए। उनले यही क्षेत्रको प्रतिनिधित्व गर्दै तीन पटक देशको प्रधानमन्त्री बन्ने अवसर पाए।

तर, यसपटक कांग्रेसले उक्त ऐतिहासिक विरासत जोगाउन सकेन। यसको प्रमुख कारण उम्मेदवारी छनोटमै देखिएको असन्तुष्टि रहेको स्थानीय नेताहरू बताउँछन्। कांग्रेसले भोजपुरका नेता ज्ञानेन्द्र कार्कीलाई पुनः उम्मेदवार बनाएपछि स्थानीय कार्यकर्तामाझ असन्तुष्टि बढेको थियो। 

यस क्षेत्रका धेरै नेता तथा कार्यकर्ताले स्थानीय नेतृत्वलाई अवसर नदिएको भन्दै असन्तोष व्यक्त गरेका थिए। सुनसरी–४ मा मुस्लिम समुदायको उल्लेख्य जनसंख्या रहेको छ। तर, उम्मेदवारीमा उक्त समुदायलाई प्रतिनिधित्व नदिएको भन्दै असन्तोष बढेको थियो।

सुनसरी–४ मा कांग्रेस भित्रको गुटबन्दी पनि चुनावी परिणाममा निर्णायक बनेको कार्यकर्ताहरूको भनाइ छ। पार्टीभित्र शेरबहादुर देउवा र गगन थापा पक्षका कार्यकर्ता दुई धारमा विभाजित भएकाले पनि कांग्रेसलाई गिरिजाको विरासत जोगाउन समस्या भयो। 

कतिपय असन्तुष्ट कार्यकर्ताहरू अन्य दलमा प्रवेश गरेका कारण पनि कांग्रेसलाई चुनाव जित्न समस्या भएको कार्यकर्ताहरूको बताएका छन्। कांग्रेस सुनसरीका जिल्ला सदस्य कपिल आचार्यले देशभर रास्वपाको प्रभावलाई चिर्न नसक्नु र कांग्रेसले गरेका राम्रा कामहरूको बारेमा जनतालाई बुझाउन नसक्नु पराजयको कारण बनेको बताए। उनले पार्टीको आन्तरिक मतभेद र असन्तुष्टिले पनि सुनसरी-४ मा कांग्रेस कमजोर भएको बताए। 

यसपटकको निर्वाचनले सुनसरीमा दुई ऐतिहासिक राजनीतिक विरासत-मनमोहन अधिकारीको कम्युनिस्ट किल्ला र गिरिजाप्रसाद कोइरालाको लोकतान्त्रिक आधारभूमि-दुवै कमजोर बनाएको छ। राजनीतिक दलहरूले समयअनुसार आफ्नो रणनीति, संगठन र समय सापेक्ष नेतृत्व शैली परिवर्तन गर्न नसके पुराना किल्लाहरू थप कमजोर बन्ने कार्यकर्ताहरूको भनाइ छ।

सुनसरीका मतदाताहरू अब केवल पुराना राजनीतिक विरासत वा पार्टीको झण्डामा सीमित नभएको धरान-१५ का रमेश राईले बताए। देशको विकास, पारदर्शिता, रोजगारी, सुशासन र जवाफदेहिता जस्ता मुद्दा मतदाताको प्राथमिकतामा पर्दै गएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.