सुनसरी–मोरङ जोड्ने शेहरा खोलामा पक्की पुल निर्माण गरिने

सुनसरी–मोरङ जोड्ने शेहरा खोलामा पक्की पुल निर्माण गरिने
सुन्नुहोस्

सुनसरी : सुनसरी र मोरङ जिल्ला सुगम मानिए पनि यहाँका केही उत्तरी गाउँहरू भौगोलिक रूपमा अझै पनि आधारभूत पूर्वाधारको अभावका कारण अति दुर्गम छन्। सडक, पुल र यातायातको सहज पहुँच नहुँदा स्थानीयलाई दैनिक आवतजावतदेखि शिक्षा, स्वास्थ्य सेवा लिन र बजारसम्म पुग्न ठूलो सास्ती खेप्नुपर्ने अवस्था छ।

विशेषगरी सुनसरीको उत्तरी भागमा पर्ने धरान उपमहानगरपालिका–४ र मोरङको केराबारी गाउँपालिका–४ र ५ का बासिन्दा वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका छन्। यस क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकामभन्दा पनि छिमेकी जिल्ला सुनसरीको धरान सहर पुग्न सजिलो पर्छ।

शिक्षा, स्वास्थ्य उपचार, दैनिक उपभोग्य सामग्री खरिद–बिक्री तथा अन्य कामका लागि पनि यहाँका अधिकांश स्थानीय धरान नै पुग्ने गरेका छन्। तर, यी दुई क्षेत्रको बीचमा पर्ने लामिछाने गाउँको शेहरा खोलामा पक्की पुल नहुँदा विशेषगरी बर्खायाममा आवतजावत निकै जोखिमपूर्ण बन्ने गरेको छ।

वर्षातको समयमा खोला उर्लिएपछि स्थानीयहरू घण्टौँसम्म खोला किनारमै कुर्नुपर्ने बाध्यता रहँदै आएको छ। कतिपय अवस्थामा विद्यार्थी विद्यालय जान नपाउने, बिरामीलाई अस्पताल लैजान ढिलाइ हुने तथा किसानहरूले उत्पादन गरेको तरकारी र फलफूल बजारसम्म पुर्‍याउन नसक्ने समस्या बारम्बार दोहोरिने गरेको स्थानीयहरू बताउँछन्।

यही समस्यालाई समाधान गर्ने उद्देश्यले अब शेहरा खोलामा पक्की पुल निर्माण गर्ने तयारी सुरु गरिएको छ। धरान उपमहानगरपालिका र केराबारी गाउँपालिकाको संयुक्त लगानीमा उक्त पुल निर्माण गर्ने सहमति भएको छ। दुवै स्थानीय तहले आवश्यक प्रक्रिया अघि बढाइसकेको र प्राविधिक अध्ययन समेत सुरु भएको बताएका छन्।

केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठका अनुसार शेहरा खोलामा पुल निर्माणका लागि दुवै पालिकाका इन्जिनियरहरूको टोलीले स्थलगत अध्ययन गरिसकेको छ। ‘दुवै पालिकाले संयुक्त रूपमा पुल निर्माण गर्ने निर्णय गरेका छन्। इन्जिनियरहरूको टोलीले स्थलगत अध्ययन गरिसकेको छ र अहिले लागत अनुमान तथा डीपीआर तयार गर्ने काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘पुल निर्माण भएपछि यहाँका बासिन्दालाई आवतजावत निकै सहज हुनेछ।’

पुल निर्माणको तयारीका क्रममा दुवै पालिकाका जनप्रतिनिधिहरूले पनि निर्माण हुने स्थानको निरीक्षण गरेका छन्। धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिचिङले पुल बन्ने स्थानको संयुक्त रूपमा स्थलगत अवलोकन गरेका थिए।

केराबारी गाउँपालिकाका अध्यक्ष मिरिचिङका अनुसार मोरङको साविक याङशिला गाविसका बासिन्दालाई धरानसँग जोड्न पुल निर्माण अत्यन्त आवश्यक रहेको छ। ‘यहाँका धेरै बासिन्दा शिक्षा, स्वास्थ्य र बजारका लागि धरानमै निर्भर छन्। तर खोला पार गर्न समस्या हुँदा उनीहरूलाई निकै दुःख भइरहेको छ,’ उनले भने, ‘पुल निर्माण भएपछि वडा नम्बर ४ र ५ का बासिन्दालाई आफ्नो उत्पादन बजारसम्म लैजान र बिरामीलाई अस्पताल पुर्‍याउन सहज हुनेछ।’

स्थानीयका अनुसार शेहरा खोलामा पुल नहुँदा वर्षातको समयमा आवतजावत लगभग ठप्पजस्तै हुने गर्छ। धेरै पटक स्थानीयहरूलाई अस्थायी रूपमा बनाइएको काठे पुल वा ढुंगामाथि टेक्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको अनुभव छ। केराबारीका स्थानीय सनम तामाङले पुल बनेपछि आसपासका धेरै गाउँहरूलाई प्रत्यक्ष फाइदा पुग्ने बताए। ‘शेहरा खोलामा पुल बनेपछि यहाँका किसानहरूले उत्पादन गरेको तरकारी र फलफूल धरान बजारसम्म पुर्‍याउन निकै सजिलो हुन्छ,’ उनले भने, ‘केराबारीका सतिशाले, पिर्‍ए, टाकुरे र चुरी भन्ज्याङ क्षेत्रका बासिन्दालाई पनि धरान जान सहज हुनेछ।’

उनले पुल निर्माणले मोरङ मात्र नभई धनकुटाको राजारानी क्षेत्रका बासिन्दालाई समेत धरानसम्मको छोटो दूरीको सडकमार्ग उपलब्ध गराउने बताए। पुल बनेपछि सुनसरीको साविक पाँचकन्या गाविस, हाल धरानका वडा नम्बर ४, ५ र ६ का बासिन्दालाई पनि मोरङको केराबारी क्षेत्रसँग आवतजावत गर्न सजिलो हुनेछ। यसले दुई जिल्ला बीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको धरान–४ का वडा सदस्य राजन चाम्लिङले बताए।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर बेघाले शेहरा खोलामा करिब २० मिटर लामो पक्की पुल निर्माण गर्ने योजना रहेको बताए। ‘धरान र केराबारीका बासिन्दालाई सहज आवतजावत गराउने उद्देश्यले करिब २० मिटर लामो पक्की पुल निर्माण गर्ने योजना बनाइएको छ,’ बेघाले भने, ‘दुवै पालिकाको लगानीमा काम सुरु हुन्छ, अपुग बजेटका लागि कोशी प्रदेश सरकारसँग सहयोग मागिनेछ।’

स्थानीय बासिन्दाले भने पुल निर्माणको योजना छिटो कार्यान्वयनमा आउनुपर्ने माग गरेका छन्। वर्षौंदेखि पुलको अभाव झेल्दै आएका उनीहरू अब भने स्थायी समाधानको अपेक्षामा रहेका छन्। शेहरा खोलामा पक्की पुल निर्माण सम्पन्न भयो भने यसले केवल आवतजावत सहज बनाउने मात्र होइन, स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने विश्वास गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.