महेन्द्र मोरङ क्याम्पस : विद्यार्थीको भविष्यमा प्रशासनको खेलबाड
विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीको भविष्यसँग सम्बन्धित प्रशासनिक अनियमितता सार्वजनिक भएको छ । ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रक्रियामा नियम उल्लंघन एवं कर्मचारीको गैरजिम्मेवारीले विद्यार्थीलाई प्रत्यक्ष जोखिममा पारिरहेको पाइएको हो । प्रशासनले खेलबाडका कारण विद्यार्थीको भविष्य अन्योलपूर्ण बनेको सरोकारवालाको भनाइ छ ।
विद्यार्थीलाई क्याम्पसबाट चारित्रिक प्रमाणपत्र लिनका लागि परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट लिएर क्लियरेन्स, शुल्क भुक्तानी र क्याम्पस प्रमुखको हस्ताक्षर आवश्यक हुन्छ । नियमानुसार प्रत्येक चरण फरक कर्मचारीले जिम्मेवारीपूर्वक सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा प्रक्रियागत मनपरी र अव्यवस्थित ढंगले भइरहेको छ ।
विशेष गरी शैक्षिक प्रशासन शाखा प्रमुख विनोद कामतमाथि चारित्रिक प्रमाणपत्रमा आफ्नो कीर्ते हस्ताक्षर गर्दै अधिकार नाघेर काम गरेको आरोप लागेको छ । क्याम्पसको मुख्य कार्यालय सहायक (नायव सुब्बा) पदमा रहेका कामतले आफूलाई शाखा अधिकृत देखाउँदै प्रमाणपत्रमा गलत हस्ताक्षर गरेको र यसले विद्यार्थीको भविष्यलाई जोखिममा पारेको सरोकारवाला बताउँछन् ।
सूचनाको हकका अभियन्ता योगराज दाहालले फेसबुकमार्फत प्रमाणित कागजात, हस्ताक्षर नमुना, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि र पत्राचार सार्वजनिक गर्दै क्याम्पसमा चरम लापरबाही भएको बताएका छन् । उनले भने, ‘यस्ता अनियमितताले विद्यार्थीको भविष्य मात्र नभएर क्याम्पसको विश्वास र नैतिक आधारलाई पनि कमजोर बनाउँछ ।’
क्याम्पस प्रमुख डा. रामावतार शरणले भने अनावश्यक आरोप लगाइएको भन्दै कुनै निर्णय गर्नुअघि पूर्ण कागजात हेर्ने गरिएको बताए । नायव सुब्बा कामतले भने गल्ती स्वीकार गरेका छन् । उनले भने, ‘छाप लगाउनेले मेरो हस्ताक्षर भएको ठाउँमा ‘शाखा अधिकृत’ भनी छाप लगाइदिएका रहेछन् । मैले थाहा पाएपछि रोकिसकेको छु ।’
यस घटनाले शिक्षा क्षेत्रमा नक्कली ओहोदा, कीर्ते हस्ताक्षर र प्रक्रियागत अव्यवस्थालाई उजागर गरेको छ । सरोकारवालाहरू र सम्बन्धित निकायले यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग दाहालले गरेका छन् । प्रमाणपत्रमा भएको त्रुटिले भविष्यमा रोजगारी, अध्ययन वा अन्य अधिकार प्राप्तिमा असर पार्न सक्ने चिन्ता विद्यार्थीमा रहेको उनले बताए ।
अभियन्ता दाहालका अनुसार यस प्रकरणले महेन्द्र मोरङ क्याम्पसको प्रशासनिक पारदर्शिता र प्रतिष्ठा प्रश्नको घेरामा परेको छ । ‘क्याम्पसले नियम र जिम्मेवारीको पालना नगर्दा विद्यार्थीको भविष्य जोखिममा पर्यो,’ उनी भन्छन्, ‘पारदर्शिता अभाव र प्रक्रियागत अव्यवस्थाले शिक्षा क्षेत्र चरम विकृतिको चंगुलमा फसेको देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस !